
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘प्रमोसनल सङ’को नाममा सस्तो र द्विअर्थी सामग्री पस्किने ट्रेन्ड नयाँ होइन । तर, जब समाजले आदर गर्ने एक विशिष्ट ओहोदा वा पात्रलाई केन्द्रमा राखेर चलचित्र बनाइन्छ, तब त्यसको प्रचार सामग्रीमा न्यूनतम संवेदनशीलताको अपेक्षा गरिन्छ । चलचित्र ‘मास्टर्नी’ को भर्खरै सार्वजनिक गीतले त्यही न्यूनतम संवेदनशीलताको धज्जी उडाएपछि वरिष्ठ चलचित्रकर्मी तथा समीक्षक प्रकाश सायमीले यसमाथि कडा बौद्धिक प्रहार गरेका छन् । सायमीले आफ्नो फेसबुकमा स्टाटस लेखेर आक्रोश पोखेका हुन् । उनी मात्र होइन, कलालाई समाजको ऐना मान्ने बौद्धिक तप्का अहिले यो गीतको प्रस्तुतिका कारण स्तब्ध र आक्रोशित छ ।
प्रकाश सायमीको प्रहारको मुख्य चुरो चलचित्रको नाम र गीतको स्तरबीचको गहिरो खाडल हो । नेपाली समाजमा ‘मास्टर’ वा ‘मास्टर्नी’ (शिक्षिका) शब्द आफैँमा एक आस्था, मर्यादा र ज्ञानको प्रतीक हो । गुरु आमाको स्थान समाजमा उच्च हुन्छ । तर, दुर्गेश थापाको शब्द र संगीत रहेको यो गीतमा शिक्षिकाको त्यो गरिमा कतै देखिँदैन । सायमीको तर्क छ– ‘फिल्मको नाम जति आदर्शवादी छ, यसको प्रमोसनल गीत त्यति नै भद्दारूपमा सस्तो र बजारु छ ।’ केवल डिजिटल प्लेटफर्ममा भाइरल हुनका लागि एउटा मर्यादित पेसा र पात्रलाई उत्ताउलो र द्विअर्थी शब्दको जालमा फसाइनु कलात्मक चेतको पराकाष्ठा हो ।
प्रियंका कार्की नेपाली चलचित्र उद्योगकी एक स्थापित, शिक्षित र सुझबुझ भएकी अभिनेत्री एवं निर्देशक हुन् । उनी आफैँ यस चलचित्रको निर्मातासमेत हुन् । प्रकाश सायमीको प्रहार विशेष गरी प्रियंकामाथि नै केन्द्रित देखिन्छ । सायमी जस्ता बौद्धिक समीक्षकको प्रश्न छ– ‘एक दशकभन्दा बढी समय चलचित्र उद्योगमा बिताएकी र समाजमा राम्रो प्रभाव भएकी अभिनेत्रीले कसरी यस्तो सस्तो र दोहोरो अर्थ लाग्ने गीतलाई आफ्नो चलचित्रको मुख्य प्रचार हतियार बनाउन स्वीकार गरिन् ?’ कला र सिनेमालाई केवल भ्युज बटुल्ने व्यापारिक वस्तु मात्र ठान्नु र सिर्जनात्मक मूल्यलाई तिलाञ्जली दिनुले प्रियंकाको बौद्धिक परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ ।
गायक दुर्गेश थापा नेपाली संगीत उद्योगमा आफ्ना ‘विवादित र ट्रेन्डिङ’ शैलीका गीतका लागि चिनिन्छन् । उनले प्रियंकासँगको घनिष्ठ मित्रताका कारण करिब ८ लाख रुपैयाँ खर्चेर यो गीत उपहार (कोसेली) स्वरूप निर्माण गरिदिएको दाबी बजारमा छ । प्रकाश सायमीले यहीँनेर बलियो प्रहार गरेका छन् – ‘के मित्रताको नाममा वा निःशुल्क पाइएको उपहार भन्दैमा जे पायो त्यही समाजमा पस्किन मिल्छ ?’ निःशुल्क पाइने नाममा कलाको स्थापित मापदण्ड र समाजप्रतिको उत्तरदायित्वलाई बिर्सनु सरासर गैरजिम्मेवारीपन हो ।
सायमीले आफ्नो टिप्पणीमार्फत कलाको सामाजिक उत्तरदायित्वको पाटोलाई पनि दर्बिलो रूपमा उठाएका छन् । दुर्गेश थापा र प्रियंका कार्कीका सिर्जनाहरू बालबालिका र युवापुस्ताले छिटो पछ्याउँछन् । यस्ता ‘डर्टी ट्रयाक्स’ र उत्ताउला दृश्यहरूले हुर्कँदै गरेको पुस्तामा कस्तो सांस्कृतिक छाप छोड्छ ? समाजलाई सकारात्मक रूपान्तरणको दिशा दिनुपर्ने सेलिब्रिटीहरू नै उल्टै ‘सस्तो मनोरञ्जन’ को नाममा विकृति फैलाउन उद्यत हुनु लाजमर्दो विषय हो ।
प्रकाश सायमीले चलचित्र ‘मास्टर्नी’ को गीतमाथि गरेको प्रहार केवल एउटा गीतको आलोचना मात्र होइन, यो समग्र नेपाली सिनेमा उद्योगमा व्याप्त ‘भाइरल हुने रोग’ र ‘बौद्धिक खडेरी’ माथिको निर्मम शल्यक्रिया हो । चलचित्र व्यवसायीहरूले बुझ्न जरुरी छ कि व्यापार र भाइरालिटी क्षणिक हुन्छन्, तर सिर्जनाले समाजमा छोड्ने छाप दीर्घकालीन हुन्छ । ‘मास्टर्नी’ टिमले सायमीको यो बौद्धिक प्रहारलाई व्यक्तिगत गालीका रूपमा नभई कलाप्रतिको एउटा गम्भीर खबरदारीका रूपमा बुझ्न आवश्यक छ ।
वरिष्ठ चलचित्रकर्मी तथा समीक्षक प्रकाश सायमीले लेखेको स्टाटस यस्तो छः
