शिव सुवेदी
संगीत रोयल्टी संकलन समाज नेपाल (MRCSN) को अधिवेशन यही आउँदो १४ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ । वास्तवमा रोयल्टी संकलन समाज आफैंमा एउटा ऐतिहासिक गरिमा बोकेको संस्था हो । विगतमा धेरै अग्रज श्रष्टा सर्जकले नेतृत्व गरिसकेको अवस्थामा आजभन्दा दुई वर्ष पहिला अग्रज गीतकार राजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका हामीले केही महिनामै राजेन्द्र थापाको राजिनामाको पत्र पढ्न विवश भयौं । भित्री रुपमा घटनाक्रम कसरी अगाडि बढ्दै गए त्यो हामीलाई थाहा भएन । तर एउटा काम गर्छु भनेर आँटेको मान्छे किन त्यति छोटो समयमा संस्थाबाट नै बाहिरियो यो विचारणीय प्रश्न हो । हामीले बाहिरबाट हेरे र देखेजस्तो रोयल्टी समाज भित्री रुपमा नभएको हो की मजस्ता हजारौं साधारण सदस्यलाई चिन्ताको विषय हो ।
नजिकिँदै गरेको अधिवेशनको संघार मैले लेखेका एका दुई शब्दले पनि ठूलो अर्थ लाग्न सक्छ । त्यसैले साँचो कुरा र वर्तमान स्थितिको बारेमा मात्र चित्रित गर्न खोजेको छु । राजेन्द्र थापाको राजिनामा पछि कार्यवाहक अध्यक्ष रहनुभएका सुरेश अधिकारीलाई विगतको वार्षिक साधारण सभाबाट अध्यक्षमा निर्विरोध चयन गरेको पनि हामीले नै हो । त्यसपछि रोयल्टीले कसरीकाम ग¥यो सबै कामको मूल्यांकन हामी सबैले गर्नैपर्छ ।
वास्तवमा रोयल्टी भनेको श्रष्टा सर्जक वा भनौं गीतसंगीतमा प्रत्यक्ष रुपमा संलग्न पक्षहरुले सार्वजनिक रुपमा उक्त गीतसंगीत प्रयोग भएवापत पाउने आर्थिक अधिकार हो । यति भनिरहँदा आर्थिक अधिकार र रोयल्टी एउटै लाग्न सक्छ । त्यो पनि फरक पाटो हो, हामीले बुझ्नु जरुरी छ ।
विधि र विधानका कुरा आफ्नै ठाउँमा छन्, तर व्यवहारिक पाटाहरु पनि हामीले हेर्नैपर्ने हुन्छ । यदि कुनै गीत संगीतको कुनै कम्पनीले लाखौं खर्च गरेर डिजिटल बजारमा सिआरबीटी, पिआरबीटी बिकाएको हुन्छ र सोही गीतको गीतकार, संगीतकार र गायक गायिकाले आफ्नो पारिश्रमिक लिइसक्नुभएको छ भने त्यस डिजिटल व्यवसायबाट आएको रकमलाई रोयल्टीमा परिणत गर्न मिल्ने की नमिल्ने ? यी हाम्रा व्यवहारिक अप्ठ्याराहरु हुन् । आज चुनावको माहौलमा सबैले काम गर्छु भन्छन् र सबै जनासँग राम्रो हुन खोज्छन् यो इतिहासले देखाइरहेको छ । तर आज एकदिन सबैको राम्रो हुन खोज्नेले भोलिका दिनमा संस्थाभित्र गएपछि काम कसरी गर्न सक्ला यो बारेमा पनि सोचौं । नेपाली गीतसंगीतमा हुने गरेका गतिविधिहरुसँग सायद हामी अछुतो छैनौं होला, हिजोका दिनमा रोयल्टी संकलन समाजले रोयल्टी बितरण कार्यक्रम राखेर सम्पूर्ण स्रष्टा सर्जकलाई केही रकम बितरण गरेको थियो । त्योमध्ये १४ सय जति रोयल्टीको भाषामा रोयल्टी बुझ्ने एउटा गीतकार म पनि हो । अब मलाई लागेको वा खड्केको प्रश्न के हो भने म्यूजिक नेपालले मेरा सिर्जनाहरु सिआरबीटी पिआरबीटीमा डाउनलोड भएको आधारमा दिएको पैसालाई नै रोयल्टी संकलन समाजले हामीलाई रोयल्टी भनेर बितरण गरेको थियो ।
मेरो व्यक्तिगत विचार हो, हुन त म गलत पनि हुन सक्छु तर आज डिजिटल बजारमा कम्पनीले विज्ञापन नगरेसम्म सिआरबीटी पिआरबीटी डाउनलोड हुन्छ भन्ने कुरामा म सहमत छैन । प्रत्यक्ष पैसा खर्च गरेर डाउनलोड भएको सिआरबीटी पिआरबीटी रोयल्टी हो की आर्थिक अधिकार यो बारेमा न त विधान बोल्छ न त रोयल्टी मलाई स्पष्ट हुन मन छ के यो सम्भव छ ?
यदि डिजिटल व्यवसाय पनि रोयल्टी उठाउने क्षेत्रहो भने हाम्रा म्यूजिक कम्पनीहरुले के भन्नु हुन्छ ? उहाँहरु महिनाकै लाखौं खर्च गरेर विज्ञापन बजाउनुहुन्छ र त्यसैबाट आएको रकममा पनि रोयल्टी जोडिन लाग्दा भोली हामी श्रष्टा सर्जकका गीतसंगीत बजजारमा पठाउने कम्पनी नै नपाउने हो की मलाई लागेको चिन्ता यो पनि हो ।
‘हामी संगीत क्षेत्रका गीतकार, संगीतकार, गायक,गायिका कम्पनी सबै एउटा डुंगाका भिन्न भिन्न कोठा हो, यदि हामी अरु कसैको कोठामा पानी छिरिरहेको देखेर खुशी मनाउन थाल्यौ भने त्यो पानीले डुंगा नै डुब्न सक्छ त्यो पनि विचार गरियोस् ।’
अब प्रसंग मोड्न चाहन्छु । रोयल्टी संकलन समाजले राम्रा काम पनि गरेको छ । एनटीसी र एनसेलसँग रोयल्टीको विषयमा सम्झौता हेर्दा मलाई रोयल्टी संकलन समाज कताकतै चुकेको आभाष भएको छ । विगतको असारबाट हामी कम्पनी, कलाकार कसैले पनि सिआरबीटीको पैसा पाएका छैनौं । किन पाइएन, किन रोकियो पैसा भनेर प्लेटफर्मलाई सोध्दा रोयल्टी समाजका कारण देखाउँछन् उनीहरु । रोयल्टी संकलन समाज आइरहेको पैसा पनि रोक्नलाई हो र ? यसको जिम्मेवारी कसले लिन्छ ?
रोयल्टी संकलन समाज र नेपाल टेलिकमबीच भएको सम्झौतामा नेपाल टेलिकमले सिआरबीटी वापत काटेको रुपैयाँबाट श्रेष्टा सर्जकलाई रोयल्टी तिर्ने की नतिर्ने प्रष्ट लेखिएको छैन । आज कलाकारहरु विहान बेलुका छाक टार्न धौ धौ भएको अवस्थामा रोयल्टी रकम दिनु त परै जाओस्,एक वर्षको सम्पूर्ण पैसा रोकिन्छ । अनि आधा पैसा ६ महिनामा आधा पैसा, ६ महिनापछि आधा पैसा दिने भनेर सम्झौता गरिन्छ, यो गलत हो हो की होइन । हामीले समग्र १० रुपैयाँबाट १५ प्रतिशत रोयल्टी भनेर सिधै नेपाल टेलिकमबाट रोयल्टी संकलन समाजमा मगाउन सक्यौं की सकेनौं भने के गर्नुपर्छ अब या सम्भव नै छैन ? यसको पनि जवाफ हामीलाई चाहिन्छ ।
अब नेपालमा भएका सयौं टीभी च्यानल र रेडियोसँग छुट्टाछुट्टै सम्झौता गरेर रोयल्टी उठ्नेवाला छैन । त्यो काम गर्नुभन्दा हामी सबै रेडियोलाई सरकारले नविकरण गर्दा केही रकम रोयल्टीवापत तिरेपछि मात्र नविकरण गर्ने प्रावधान ल्याउनुतिर लागौं ।
रोयल्टी उठाउनुभन्दा ठूलो समस्या बितरणमा छ । डिजिटल बजारको पैसा त डाउनलोड संख्याको आधारमा बितरण गरिएला । एफएम,रेडियो, टिभी आदिमा पनि संख्याको आधारमा बितरण गरिएवा तर सार्वजनिक यातायातका साधनमा, मेला महोत्सव, दोहोरी साँझ, डान्सबार र अन्य सार्वजनिक कार्यक्रममा गीतसंगीत प्रयोग भएवापत रोयल्टी उठेको रकम बाँड्ने आधार के ? आज हामी प्रष्ट नीति र नियम बनाउन सकेनौं भने भोलिका दिनमा धेरै कठिन हुनेवाला छ, यो बारेमा पनि हामीले सोच्नै पर्छ ।
अन्त्यमा, समग्र संगीतको एउटा मात्र संस्था जसलाई विश्वभरि नै रोयल्टी उठाउने अधिकार छ, त्यसको नेतृत्व एउटा राम्रो स्रष्टाले गर्नुपर्छ । राम्रो यो अर्थमा हो जो संस्थागत चिन्तनले प्रेरित होस्, भोलिका दिनमा आइपर्ने जस्तासुकै अप्ठ्यारा र प्रतिकूल परिस्थितिलाई सम्हाल्न सकोस्, कसैको आदेशमा संचालित नहोस्, समग्र गीतकार, संगीतकारको भावनालाई कदर गरोस् हाम्रो चाहना यति नै हो ।
कार्यसमितिमा जानु हुने अन्य सदस्यहरु पनि आफ्नो विचारले चल्ने जानुहोला, नेतृत्वले सूर्य पश्चिमबाट उदाउँछ हो की होइन ? भनिरहँदा हो भन्ने उत्तर दिने सदस्यहरु नजानुहोला किनकी हामीलाई राम्ररी थाहा छ अर्काको दया मायामा हिंड्नेहरु कहिल्यै आफ्नो बोली बोल्दैनन् र यो पनि थाहा छ, बोकेर लगेको कुकुरले शिकार गर्दैन । जहाँबाट जो आए पनि राम्रा मान्छेले रोयल्टी संकलन समाज चलाउन महाधिवेशनको सफलताको अग्रीम शुभकामना ।
फिल्मीखबर साप्ताहिकबाट