सुरीलो स्वरकी धनि स्वरुपा

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७४, मंगलवार

सविता पोखरेल


भाद्र २७, काठमाडौं । सुन्दर बान्की, हँसिलो मुहार र निखारिएको गलाकी धनी हुन् गायिका स्वरुपा रसाइली । मानिसको भविष्य उसको बाल्यकालको चरिचत्रले देखाउँछ भने जस्तै स्वरुपाका बाल्यकालका गतिविधिले भविष्यमा गायिका नै बन्ने संकेत गर्ने गर्दथ्यो । संगीतमा सानै देखीको सौख भएकी स्वरुपाको नशा नशामा संगीत तरंगीत भएका कारणले नै अहिले स्थापित गायिकाको परिचय बनाउन सफल भएकी छिन् । बाग्लुङ जिल्लाको भकुण्डे गाउँमा जन्मिएकी स्वरुपा सानैदेखि गीत संगीत भनेपछि भुतुक्क हुन्थिन् । विद्यालय, गाउँमा आयोजना हुने कार्यक्रममा गीत गाएर भविष्यमा गायिका नै बन्ने संकेत देखाएकी थिइन् ।sworupaसांगीतिक माहौलमा जन्मे हुर्केकी उनको स्वर सुनेपछि सबैले त्यो स्वरको तारिफ गर्थे, उनलाई स्याबासी दिन्थे । दाई विवी अनुरागी कुशल संगीतकार, आमा पनि राम्रो गीत गाउन सक्ने, मादल बजाउने, मुरली बजाउने एक किसिमको सांगीतिक माहौल भएको परिवार । खेतबारीमा काम गर्दा पनि उनको साथमा रेडियो हुन्थ्यो । रेडियो बजेका गीत सुन्ने अनि त्यसरी नै गाउँदै बाल्यकालदेखि नै संगीतमा जोडिएकी उनलाई तर के गायिका नै बन्न सकुँला र ? भन्ने प्रतिप्रश्न गथ्र्यो उनको अन्तर आत्माले । यहि डरले गायिका बन्ने लक्षण देखाएता पनि लक्ष्य भने गायिका बन्नु थिएन । यस्तो वातावरणले पनि उनको गायकीमा टेवा पुग्यो, गायिका बन्ने सपना भने पलाएन ।

उच्च शिक्षाका लागि २०६१ सालमा राजधानी भित्रिएकी स्वरुपालाई यतिबेला स्थापित गायिकाको रुपमा पाएका छौं । उनको परिचय गायिका मात्र नभएर संगीतको अर्को व्यवसायिक पाटो स्टुडियो व्यवस्थापक पनि हुन् । प्रिज्मा रेकर्डिङ स्टुडियोमा २०६५ सालदेखि यतिञ्जेल उनी कुशल ब्यवस्थापक भएर परिचय बनाएकी छिन् । व्यवस्थापनबाट बचेको समयलाई स्वरुपाले नेपाली गीत संगीतको प्रबद्र्धनमा खर्च गर्दैै आएकी छिन् ।

 

स्टुडियोमा पसेर गीत गाएको अनुभव धौलागिरी एफएमकोे जिंगल गाएर लिएकी हुन् । देउडा गीतबाट शुरु भएको सांगीतिक यात्रामा भजन, लोक, पप, लोक पप र आधुनिक सबै बिधाका गीत गाउन सक्ने भर्सटायल गायिकाको छवि बनाउन सफल भएकी उनले अहिलेसम्म २०० गीतमा स्वर भरिसकेकी छिन् । मलाई संसार चिनाउने मेरी दुःखी आमा, दोधारमा छैन यो मन, माया भए फुलजस्तै, यसपालीको तीजमा कति रमाइलो जस्ता गीतले गायिका स्वरुपा रसाइली भनेर चिनारी दियो । त्यसपछि कहाँ छौ कहाँ बोलको आधुनिक गीतले चिनारी मजबुत बनायो । उडायो उडायो गाउँदाको समयसम्म आइपुग्दा स्थापित गायिकाको पंक्तिमा उभिएकी हुन् ।

rasaili-swoorupa
सबै विधाका गीतहरु गाएता पनि सुगम संगीतमा उनको स्वर बढी म्याची भएको बताउँछन् सुन्नेहरुले । सबै किसिमका गीत गाउन उतिकै सहज लागेता पनि प्रतिक्रियाका आधारले सुगमसंगीत कै बढी प्रस्ताव आइदिए हुन्थ्यो जस्तो लाग्छ उनलाई । धैर्यता, मेहेनत र कलाको प्रयोग भयो भने अवश्य सफल भइन्छ भन्ने उनको मान्यता रहेको छ । स्टुडियोमा अनुबन्धित भएकाले संगीतले नै जीवन बाँचिरहेको छु । बाहिर कार्यक्रममा त्यति जान सक्दिन । अब भने समयको म्यानेजमेन्ट गर्दछु र बाहिरको प्रस्तावलाई पनि स्वीकार गर्नेछु ।

sworupa

नेपाली संगीतप्रतिको लगाव, अनि क्षमता भएकी सुरिलो स्वरकी धनी स्वरुपा यहि उद्योगमा समर्पित भएर लागि परिरहेकी छिन् । २०७३ सालको असार महिनामा व्यवसायी तथा गीतकार बिजय सुनारसँग बैबाहिक बन्धनमा बाँधिएर गायिका स्वरुपा बुटवलकी बुहारी भएर भित्रिइन् । सांगीतिक क्षेत्रमै तन मन दिएर लागिपरेकी स्वरुपालाई जसरी माइतीको सपोर्ट रह्यो त्यसरी नै विवाह पश्चात घरपरिवारको पनि उत्तिकै सपोर्ट रहेको छ । मेरो लगाव र अरुले दिएको इज्जतको कदर गर्दै श्रीमानले पनि यो क्षेत्रबाट टाढा जान दिनुहुँदैन । गायिकाको परिचय बनाउन सकेकोमा परिवार पनि उतिकै खुशी छ ।

सोसोलोजीमा मास्टर्ससम्मको अध्ययन गरेकी स्वरुपाले रामभक्त खतिवडासँग संगीतको शिक्षा लिएकी हुन् । त्यसपछि सांगीतिक करियरका लागि दाजु बिबी अनुरागी र भाई श्यामश्वेतलाई उनी विशेष गुरु ठान्दछिन् । ‘उहाँहरुकै साथ, सहयोग र सल्लाहले यो क्षेत्रमा भित्रिए र यो स्थानमा रहें’ उनले भनिन् ।

राष्ट्रिय स्तरमा आयोजना हुँदै आएका विभिन्न अवार्डहरुमा टप फाइभमा पर्दै आएकी स्वरुपाको यस्ता कार्यक्रमहरु प्रति सकारात्मक धारणा रहेको छ । अवार्ड प्राप्त गरेसँगै स्रष्टालाई सम्मान तथा प्रोत्साहन मिल्नेछ । अवार्डको हकदार बन्ने उदेश्यले कलाकारले आफ्नो सिर्जनालाई सर्वोत्कृष्ट बनाउने कसरत गरिरहेको हुन्छ । ‘यस्ता कार्यक्रम आयोजकहरुलाई मेरो सम्मान छ जसले हामी कलाकारहरुको सम्मानका लागि सोचेर काम गर्दै आउनुभएको छ’ । आगामी दिनमा साक्षी एल्बममा रहेका गीतहरुको म्यूजिक भिडियो बनाउने तयारीमा रहेकी उनी भन्छिन्–‘संगीतकै हिस्सा बनेकी छु, यो जीवनपर्यन्त रहिरहनेछ ।’ गीतसंगीतमा उच्च साधना र मेहेनत गरेर मिठा मिठा गीतसंगीत ल्याउन सकुँ । कामले सन्तोष दिलाओस् । भविष्यमा आफ्नो विगत सम्झदा पनि आनन्द महशुस होस् । गोजीमा गाँठ भएका तर गलामा कला नभएकाले संगीत क्षेत्रलाई बिगारेकोमा दुखसो पोख्दै उनी भन्छिन् साधना गरेर क्षमतामा निखारता ल्याएपछि मात्र संगीत क्षेत्रमा आइदिए राम्रो हुने थियो ।
–म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु