१० करोड भ्यूजको संघारमा दुई नेपाली लोकदोहोरी गीत, कुन बन्ला पहिलो ?
काठमाडौं । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ । सँगै युट्युबको महत्व पनि उतिकै बढिरहेको छ । अहिले गीत वा आफ्ना कन्टेन्टलाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ युट्युब । पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ । करोड पटक पनि हेरिएका गीत नै गन्ने हो भने सयौं पुगेका छन् । यसो त १० करोड बढी भ्यूजको यात्रा गर्ने गीतहरु पनि छन् । अधिकांश चलचित्रका गीत र आधुनिक गीतले १० करोडको भ्युजको इतिहास बनाएका छन् । यतिन्जेल लोकदोहोरी तर्फबाट कुनै गीतले १० करोड भ्युजको खाता खोल्न सकेको छैन ।
तर, लोकदोहोरी बिधा तर्फबाट पनि यतिबेला १० करोड भ्युजको संघारमा दुई गीतहरु रहेका छन् –‘सालको पात टपरी’ र ‘अरेली काँडैले मलाई च्वास्सै’ । यतिबेला यीनै दुई म्युजिक भिडियो १० करोड भ्युज पाउने पहिलो लोकदोहोरी गीत बन्ने होडमा उत्रिएका छन् । यी दुबै गीतहरुले चाँडै नै १० करोड भ्युज पाउने भएका छन् । तर यतिबेला ‘पहिलो लोकदोहोरीमा १० करोड भ्यूज पाउने गीत’ कुन बन्ला भन्ने उत्सुकता र चासो सबैमा बढेको पाइएको छ ।
यो समाचार तयार पारिरहँदा बसन्त थापा युट्युब च्यानलमा अपलोड गरिएको गीत सालको पात टपरीले ९ करोड ९१ लाख बढी भ्युज पाउँदै १०० मिलियनका भ्युजका लागि दौडिरहेको छ । यस्तै शान्तिश्री परियारको युट्युब च्यानलबाट ‘अरेली काँडैले मलाई च्वास्सै’ लाई ९ करोड ९२ लाख बढीले हेरिसकेका छन् ।
‘यस्ता पनि लोक दोहोरी गीत ?’ भनेर लोकदोहोरीले धेरै आरोप प्रत्यारोप खेप्दै आएको समयमा २०७५ सालमा सार्वजनिक भएको गीत हो ‘सालको पात टपरी’ । आश्विन १ गते २०७५ साल अर्थात् १७ सेप्टेम्बर २०१८ मा यूट्यूबमा अपलोड गरिएको थियो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतमा विष्णु माझी र कुलेन्द्र वि.क.ले स्वर दिएका छन् । यसको संगीत संयोजन भने आशिष अबिरलले गरेका थिए । ‘सालको पात टपरी हुनी’ बजारमा आएपछि दोहोरी गीतको माहौल नै त्यसकै पछि लाग्न थाल्यो । त्यसपछि आएका धेरै गीतहरुले संगीत संयोजनको पक्षलाई सालको पातको ट्रेन्डलाई पछ्याउँदै आएको देखिन्छ । गायिका विष्णु माझीको स्वरलाई फरकपन दिँदै आशिष अबिरलको संगीत संयोजनको पक्षलाई पछि लागेको देखिन्छ । त्यतिमात्र होइन यहि गीत पश्तात नै चलचित्रका गीतहरुमा समेत लोक संगीतको प्रयोग अत्याधिक हुन थालेको पाइन्छ । गीतको भिडियोमा नायिका मरिस्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय रहेको छ । यो गीतले त्यतिबेला लोकदोहोरी गीतमा सबैभन्दा छिटो करोड क्लबमा पुग्ने गीतको रेकर्ड समेत बनाएो थियो ।
तीजलाई लक्षित गरेर २०८० भदौ १ गते, अर्थात् अगष्ट १८ २०२३ का दिन सार्वजनिक गरिएको गीत हो ‘अरेली काँडैले मलाई च्वास्सै’ । गीत तीजमा अग्रस्थानमा आयो सालै भरी घन्कियो । अहिलेसम्म बिहे, उत्सव, पिकनिकमा जतासुकै यो गीत उतिकै बज्ने गरेको छ । सबैको मन मस्तिष्कमा डेरा जमाउन सफल भएको छ । द्धिअर्थी भावको गीत भन्दै कतिपयले बिरोध पनि गरेता पनि सामाजिक सञ्जाल टिकटकमा पनि उत्तिकै हिट भयो । अहिले पनि दु्रत गतीमा गीतको भ्युज बढीरहेको छ । गीतमा खेम सेन्चुरीको लय नेत्र अर्यालले शब्द,श्यामश्वेत रसाइलीको एरेन्ज अनि मास्टरिङ रहेको छ। गीतको भिडियोमा प्रकाश सपूत र अञ्जली अधिकारी भिडियोमा फिचर्ड छन्। यो जोडीलाई यस अघिका भिडियोमार्फत दर्शकले रुचाउदै आएका छन्। सुनिल बिकले निर्देशन गरेको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी र नवराज उप्रेतीले खिचेका छन्। भिडियोमा सम्पादन मिलन विश्वकर्माको छ।
त्यसो त नेपाली गीतले १० करोड मात्रै होइन, २७ करोड भ्यूज सम्म पाएको छ । चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीतले २७ करोड बढी भ्युज पाएको छ । यो नै नेपाली गीत–संगीतका लागि सर्वाधिक भ्युज हो । त्यस्तै नन् फिल्मीमा पनि माया लुकी लुकी, साली मन र्पयो, दुबो फुल्यो, पिरिम नलाउने, कसरी कसरी, फुल बुट्टे सारी, माया बिरानी १० करोड बढी भ्युज पाउने नेपाली म्युजिक भिडिओ हुन् । तर यतिन्जेल लोकदोहोरी बिधाबाट नै कुनै १० करोड भ्युजको रेकर्ड कायम भएको छैन ।
जतिसक्दो चाँडो १० करोड भ्यूज कटाउने प्रतिस्पर्धामा कलाकार समेत लागिपरेका छन् । सामाजिक संजालमा मार्फत गीतको लिंक सेयर गर्न आग्रह गरेका छन् । ‘सालको पात टपरी’का गायक कुलेन्द्र विश्वकर्माले गीत सेयर गर्न आग्रह गरेका छन् । त्यस्तै यस गीतका संगीतकार बसन्त थापाले आफ्नो स्टाटसमा ‘भाइ हुर्केर दाई हुँदैन, बाँस हुर्केर आकाश छुँदैन’ लेख्दै गीत शेयर गरेपछि यो गीत शेयर गर्नेहरु बढीरहेका छन् । अझ अरेली काँडाले च्वास्सै गीतका संगीतकार खेम सेन्चुरीले समेत यहि गीतनै शेयर गरे । बसन्तको ‘भाइ हुर्केर दाई हुँदैन, बाँस हुर्केर आकाश छुँदैन’ सहित सालको पातलाई १० करोड भ्यूज पाउने पहिलो गीत बन्नका लागि धेरै संगीतकर्मीहरुले ‘सालको पातको टपरी’लाई खुलेर साथ दिएका छन् । शेयर गरिरहेका छन् । गीत शेयर गर्नेहरुको संख्या बढेसँगै गीतको भ्युज पनि आक्रामक रुपले बढीरहेको छ । यो सँगै ‘अरेली काँडैले मलाई च्वास्सै’की गायिका शान्तिश्री परियारले पनि सालको बसन्तको स्टाटसलाई साथ दिएकी छिन् ।
बसन्तको ‘भाइ हुर्केर दाई हुँदैन, बाँस हुर्केर आकाश छुँदैन’ लेखिएको स्टाटसलाई शेयर गर्दै उनले लेखेकी छिन् –‘हो भाइ हुर्केर दाइ हुँदैहुदैन । यो इतिहासमै थिएन र भोलि पनि हुनेछैन। भाइको कर्तब्य जहिले पनि दाइको इज्जत सम्मान र श्रद्दा गर्नु हो । अनि भाइ हुर्केकोमा दाइलाइ पनि गर्व हुनुपर्छ, भाइका लागी दाजुले आशिर्बादका हातहरु शिरमा राखिदिनु पर्छ। त्यो पनि जीवनभर । आफ्नो भाइ हुर्किनु बढ्नु र बलियो हुनु भनेको दाइको साहस र आँट अझै बलियो हुनु होईन र ? जब समाजमा दाजुभाइ कुम जोडेर सङ्गै हिड्छन तव कसैको हिम्मत हुदैन कि खराब सोचले सिधा नजर जुधाउने …. सालको पातको टपरी हुनि हे बरै न हुनी सल्लैको यो ऐतिहासिक सृजना सङ्ग सम्बधित आदरणीय टिमलाइ ऐतिहासिक सफलताको मेरो पनि मखमली शुभकामना ।’ शान्तिले अग्रज प्रति सम्मान, मौलिक गीतप्रतिको प्रेम सहितको समर्पणलाई सबैले प्रशंसा गरेका छन् । १० करोड भ्यूजको यात्रामा रहेका दुई लोकप्रिय गीतहरु –‘सालको पात टपरी’ र ‘अरेली काँडैले मलाई च्वास्सै’ लाई शुभकामना ।
– सबिता पोखरेल
– सबिता पोखरेल