• अर्जुनरत्न भिखारी र सुनिल मास्केको ‘पञ्चामृत’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार ०९:२६

    काठमाडौं । गीतकार अर्जुनरत्न भिखारी र संगीतकार सुनिल मास्केको गीतिसंग्रह ‘पञ्चामृत’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, वरिष्ठ गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा ‘पञ्चामृत’लाई सार्वजनिक गरिएको हो । गीतसंगीतका त्रिवेणी वरिष्ठ तीन स्रष्टालाई गीतकार भिखारी र संगीतकार मास्केले सम्मान गर्दै उनीहरुको हातबाट नै गीतिसंग्रह पञ्चामृत सार्वजनिक गरिएको थियो ।

    कार्यक्रमको सुरुवातमा नै मनले होइन धनले र जवानीको ऐना हजुर दुई वटा गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको थियो । भिडियो हेरेपछि बल्ल औपचारिक रुपमा कार्यक्रमलाई सुरुवात गरिएको थियो । भाइब्स क्रियशनको आयोजनामा भएको उक्त विमोचन कार्यक्रमलाई संचारकर्मी नरशे भट्टराई र संचारकर्मी एवं निर्देशक दिनेश डीसीले संचालन गरेका थिए ।


    कार्यक्रममा बोल्दै वरिष्ठ संगीतकार शम्भूजित बास्कोटाले शब्द अनुसारको संगीत बनेको र शब्द र संगीतलाई नै मजबुत बनाउँदै गायकी पनि मिठो भएकोले पञ्चामृत सफल हुनेमा विश्वास लिएको बताए । त्यस्तै वरिष्ठ गायक दीप श्रेष्ठले पनि गीतकार र संगीतकारलाई शुभकामना दिँदै एल्बमका सबै गीतहरु मिठासयुक्त बन्नुमा गीत, संगीत र गायन पक्षले सशक्त भूमिका खेलेको बताएका थिए ।

     

    त्यसैगरी वरिष्ठ गीतकार एवं चलचित्र निर्देशक यादव खरेलले नारायण गोपालसँगको पुराना दिन सम्झँदै आफूलाई शब्दले छोएपछि मात्र संगीत भर्ने वा गाउने गरेको हुँदा पहिला शब्दले नै छुनु पर्ने बताए । शब्दले छोएमा बल्ल संगीत भर्न र गाउन आनन्द आउने हुँदा गीत मिठासपूर्ण बन्ने बताए ।
    गीतिसंग्रह पञ्चामृतभित्र धनले होइन मनले, जवानीको ऐना हजुर, परैदेखि, मन मनै त हो, तिम्रा झुटा जस्ता बोलका गीत रहेका छन् । जसमा सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल, स्वरुपराज आचार्यको स्वर रहेको छ । गीतहरुमा संगीत संयोजन रिकेश गुरुङ, सञ्जीव बराइली, प्रदीप श्रेष्ठको रहेको छ भने मिक्सिङ मास्टरिङ किशोर थापाको रहेको छ । एल्बमलाई भाइब्स क्रियशनले बजार व्यवस्थापन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु