जीवनको दौडमा यात्रा मैले कता गरें
धेरै वर आइपुग्दा पो भुमरीमा परें
जिन्दगीको वसन्तले ५० औं वर्ष पार गर्दै गर्दा अतितका पानाहरु पल्टाएका थिए गीतकार अमर वान्तु राई । जिन्दगीको स्वर्ण जयन्तीसँगै स्वर्ण अक्षरले लेखिएका शब्द सिर्जनाबाट गीतकार अमर वान्तुले औपचारिक रुपमा सांगीतिक क्षेत्रमा पाइला टेकेका हुन् । ५० वर्षसम्म भोगेका भोगाइलाई गीतबाट समाजमा पस्केका थिए उनले । गीतमा जस्तै उनले गरेका यात्राका क्षणहरु, आरोह अवरोहहरुमा ठोक्किएका गुन्जयमान आवाजहरुले नै गीत सिर्जना गरेको हो । जुन गीतबाट सुरु भएको रेकर्डि…को यात्रा अन्ततः अमर भावना एल्बममा संग्रहित भएर स्रोतासामु आएको थियो ।
२०२३ साल साउन १७ जनैपूर्णिमाको दिन भोजपुरको दिल्पा नागीमा जन्मिएका अमर राई एउटा मध्यम किसान परिवारका व्यक्ति हुन् । वान्तवा राई भएका कारण उनलाई श्रीमतीले वान्तु भनेर बोलाउने गरेकै कारण उनले आफ्नो थरमा अमर वान्तु राई बनाएका हुन् । बुबा लक्ष्मी प्रसाद राई र आमा बृन्दा लक्ष्मी राईका ७ सन्तानमध्येका काइँला छोरा हुन् अमर । ६ वटा छोरा र १ छोरीबीचका काइँला सन्तान अमर वान्तु राई गाउँघरकै भूगोल अनुसार खेती किसानी हुँदै अध्ययन गरेर अहिलेको स्थानसम्म आइपुगेका हुन् । गाउँको चण्डेश्वरी निमाविबाट औपचारिक अध्ययन गरेका उनले अन्नपूर्ण मा.वि.बाट २०४३ सालमा एसएलसी पास गरेका हुन् । आइए सम्मको अध्ययन धनकुटा बहुमुखी क्याम्पसमा गरिसकेपछि २०४५ सालमा काठमाडौं प्रवेश गरेका थिए ।
उनका समाजमा प्राय गरेर धेरै ब्रिटिस लाहुरे भएका छन् । गीतकार अमर वान्तुका सबै दाजुभाइ लाहुरे भए । उनीमात्र फरक सोच राखेर लाहुर गएनन् । उनीभित्र एक ड्रिम थियो । लाहुर जानु भनेको भेडाजस्तो पछि पछि लाग्नु हो, उनले भने– ‘कमसे कम परिवारमा म त फरक बन्न सकुँ ।’ त्यसैले उनी काठमाडौं छिरे । काठमाडौंमा छिर्दा सुरुका दिन निकै विभत्स थियो । उनका जुत्ताका तलुवाहरुले निकै दुःख पाएका थिए । चुलो नबलेको धेरै दिन हुन्थ्यो । पेटमा भोकले संघर्ष गर्दा पनि उनले हार खाएनन् । एक रुपैयाँ गोजीमा नहुँदा चुलो चिसो भएको दिनहरुले उनलाई अझै पनि ताजा स्मरण गराउँछ । कलेज पढ्न काठमाडौं छिरेको विद्यार्थी थिए उनी । तर सपनाको भारी बोकेर मनभरि अठोटका साथ सडक नापिरहेका हुन्थे उनले । गाउँका साथीहरुसँगै उनको बसोबास थियो । सहकार्यमा सम्बन्धहरु अगाडि बढ्दै थिए ।
काठमाडौंमा छिरेपछि बल्लतल्ल शिक्षण पेशामा आबद्ध हुन पाए उनी । ताहचल क्याम्पसमा स्नातकमा भर्ना पनि भए तर निरन्तरता भने दिन सकेनन् । ४–५ वर्षसम्म उनी शिक्षक भएर विद्यार्थीहरुसँग रमाए, चुलो बाल्न सिके र काठमाडौंलाई बुझे । त्यसपछि उनको सोच परिवर्तन हुँदै गयो, कोल्ड स्टोरको व्यवसाय गरे । समयअनुसार उनले साइबरको विजनेश गरे, बुटिक खोले, स्कुल चलाए । एकपछि अर्को व्यवसायमा सफलता पनि हात पार्दै गए त्यसपछि उनले पार्टी प्यालेसको व्यवसाय संचालन गरे । त्यो व्यवसायले पनि समयअनुसार राम्रो सफलता हात पा¥यो । त्यसलाई पनि छाड्दै उनले हाउजिङको व्यवसाय गरे ।
सपना बोकेर काठमाडौं छिरेका उनीभित्र अनुभवको पहाड अग्लिँदै गयो । सफलता पनि चुलिँदै गयो । हेर्दाहेर्दै आफूले आफैंलाई उनले भुलिसकेका रहेछन् । उमेरको वसन्तले स्वर्ण जयन्ती मनाइरहँदा बल्ल थाहा भयो उनलाई । जन्मिएको थातथलो छाडेको वर्षौंपछि उनलाई याद भयो, भोजपुर त साहित्यको उर्बभूमि हो । म किन साहित्यबाट टाढा भएछु ? आफैंलाई उनले प्रश्न गरे । त्यसपछि साहित्य लेखनमा लागे । उनको मुख्य विधा गीति लेखन थियो । समाजभित्र एउटा नमूना बन्ने सोचभित्र भए पनि समयले कहाँ कहाँ पु¥यायो, सोचभन्दा धेरै पर धकेलिएको जिन्दगीलाई स्वर्णजयन्तीसँगै स्वर्ण अक्षरमा परिणत गरे । लेखियो गीत ‘ जीवनको दौडमा यात्रा मैले कता गरें–धेरै वर आइपुग्दा पो भुमरीमा परें’ ।
उनीभित्र समाजको चित्र आँखामा झलझली थियो । २१ औं शताब्दीमा पनि समाजमा विकासकोनाममा दरिद्रता बेचिरहेको जस्तो लाग्थ्यो उनलाई । संसार बदलिँदै गर्दा मुलुकभित्र भएको विभेदले उनलाई छोइरहेको हुन्थ्यो । २१ औं शताब्दीभित्र जातीय छुवाछुत, कमलहरी प्रथा, हलिया प्रथा, छाउपडी ज्यूँका त्यूँ देखिन्थे । त्यसैलाई नै लिएर उनले लेखे ‘परिभाषाका राँटाहरु’ । समाजमा देखिएका असमानताका राँटाहरु नै उनको गीतको पुस्तकभित्र प्रवेश गरेको थियो । त्यस्तै गीतहरु रेकर्ड गर्दै गए, गीतले जीवन्तता पाउँदै गयो र बन्न पुग्यो ‘अमर भावना’ ।
अमर राईले २०४९ सालमा भावना राईसँग विहे गरेका थिए । आफ्नी जीवनसंगीनीसँग जोडेर उनले एल्बमको नाम पनि ‘अमर भावना’ राखेका थिए । एक छोरी र एक छोराका बाबु उनलाई श्रीमती भावनाले वान्तवाबाट ‘वान्तु’ बनाइदिइन् । मायाले वान्तु भन्दा भन्दै उनले आफ्नो नाममा नै ‘अमर वान्तु’ लेख्न थाले । साहित्यसँगै रमाउन थालेका उनी गीति लेखनमा पछिल्लो समय निकै सक्रिय छन् । अमर भावना र परिभाषाका राँटाहरुसँगै उदाएका उनी गीतसंगीतमा छोटो समयमा अब्बल सर्जकका रुपमा दह्रिएका छन् ।
केही समय अगाडि मात्र उनले ‘अमर भावना–२’ को एक गीत ‘तिम्रो शहर’ सार्वजनिक गरे । सँगसँगै तिज पर्वलाई लक्षित गर्दै ‘हरहर महादेव’ तिज गीत सार्वजनिक गरे । दुईवटै गीतमा गायिका सहिमा श्रेष्ठले स्वर दिएकी छन् । समय अनुसार परिवर्तनका भावहरुलाई गीतमा उतार्दै जाँदा उनले समाजलाई प्रतिनिधित्वसमेत गरेका छन् । भूगोल, समाज अनुसार भोगिएका भावनाहरु नै गीतका पाण्डुलिप बन्ने गरेका छन् । धेरै दुःखका आरोह अवरोह पार गरेका उनी अब समाजमा दुःख मात्र होइन दुःखले दिएको शिक्षा अनुसार सुख प्राप्ति गर्नुपर्छ भन्नेमा छन् । गीतकार संघ नेपालका आजीवन सदस्यसमेत रहेका गीतकार अमर वान्तुले संघको अक्षयकोषमा १५ लाख रुपैयाँ दिएर गीतकारहरुको हितमा अतुलनीय योगदान दिएका छन् । गत वर्ष मात्र ‘फूलजस्तै’ गीतबाट सातौं म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट गीतकारको अवार्ड चुमेका उनले गीति लेखनमा नै आफूलाई स्थापित गराउने सोचमा छन् ।
शब्द/चित्रः सुमन पण्डित