
काठमाडौं । कला र संगीत कलाका दुई फरक पाटोको रुपमा परिचित भए पनि एकअर्काको परिपूरकका रुपमा भने प्रयोग भएको कमै पाइन्छ । कलाको सिद्धान्तभित्र रहेर कलाले अमूर्त रुपमा पस्किएको कलाले धेरैलाई तानिरहेको बेला संगीतको धूनबाट पनि कलाको समिश्रणलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ । कलाका प्राध्यापकसमेत रहेका गायक एवं संगीतकार ज्योतिप्रकाशको संगीत सिर्जनामा रहेको गीतको म्यूजिक भिडियोलाई कलासँगै सांगीतिक ब्याण्डसहित निर्माण गरिएको हो । मधु शाहीको शब्द एवं ज्योतिप्रकाशको संगीत रहेको गीत ‘आकाशमा जून’मा गायिका मिलन नेवारले स्वर दिएकी छन् । मिलनको स्वरसँगै भिडियोमा पनि गायिका नेवारकै अभिनयलाई प्रस्तुत गरिएको छ ।

पछिल्लो समय लाइभ ब्याण्ड सहितको थियटर भिडियो निर्माणको क्रम न्यून भए पनि चित्रकलासँगै जोडेर थियटरमा कलाकारहरुको लाइभ बाध्यवादनसहितको म्यूजिक भिडियोको निर्माण भएको छ । त्यसैक्रममा ज्योतिप्रकाशकै संगीत एवं स्वरमा रहेको चन्द्र भट्टचनको शब्दमा रहेको जाने निष्ठुरीको पनि भिडियो छायाँकन गरिएको छ । दुईवटा म्यूजिक भिडियोमा वाद्यवादनतर्फ विष्णु अधिकारी, आकाश गोर्खाली, सन्तोषभक्त, भुवन गन्धर्व, गोपाल देव, विश्व अधिकारी र मनिष मोक्तान रहेका थिए । वाद्यवादनको समूहसँगै चित्रकलाको विविध आयामलाई भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोको छायाँकन नवीन बाबु गुरुङको रहेको छ भने निर्देशन सुमन पण्डितको रहेको छ ।