काठमाडौं । हेड एण्ड नेकको क्यान्सर रोगबाट पीडित भएका गीतकार टीका चामलिङलाई उपचारका लागि हङकङबाट चार लाख संकलन गरी सहयोग हस्तान्तरण गरिएको छ । हङकङमा रहेका गीतकार संघ नेपालका आजीवन सदस्य बज्रकुमार थुलुङ राईको संयोजनमा संकलन भएको सहयोग रकमलाई हस्तान्तरण गरिएको हो । गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, महासचिव टीका राई ‘शिव’, कोषाध्यक्ष चेतन खतिवडा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ र डा.भक्त राईले गीतकार चामलिङको निवास भक्तपुरमा पुगेर रकम हस्तान्तरण गरेका थिए । हङकङबाट संलकन रकमसँगै गीतकार संघमा संकलन भएको ३५ हजार ७ सय ३९ रुपैयाँ रकमसहित जम्मा चार लाख ३५ हजार ७ सय उनान्चालिस रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
तीनदशकदेखि कविता, गीत लेखनमा सक्रिय रहेका गीतकार चामलिङ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन् । उनको विगत एक वर्षदेखि क्यान्सर रोगबाट पीडित भएर उपचार गराइरहेका छन् । उपचारको क्रममा उनको आर्थिक अवस्था कमजोर भएपछि गीतकार संघ नेपालले सहयोगका लागि अपिल गरेको थियो । संघको अपिल पछि देशविदेशमा रहेका सहयोगी दाताबाट रकम संकलन भएको थियो । यसअघि गीतकार संघ नेपालले २५ हजार रुपैयाँ संस्थागत रुपमा सहयोग गरेको थियो ।
यतिखेर गीतकार चामलिङको किमो थेरापी र रेडियसनको काम चलिरहेको छ । हप्तामा पाँच दिन रेडिएसन र एक दिन किमो थेरापीको काम चलिरहेको छ ।