
काठमाडौं । बहुआयामिक ब्याक्तित्व गीतकार बिनोद अधिकारीका तीनवटा गीतहरु राजधानीको एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएका छन् भने दुईवटा गीतको छायांकन समेत भैसकेको छ। हालसालै शिव परियारको स्वरमा रहेको ‘मुखमा रामराम बगलीमा छुरा’ बोलको म्युजिक भिडियोको छायांकन काठमाडौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा भएको छ। उक्त गीतको मुख्य भुमिकामा बिनोद अधिकारीकै मुख्य भुमिका छ भने उनलाई अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रोबिन पोख्रेलले साथ दिएका छन्।
भिडियोमा संगीतकार बिपिन आचार्यको कथा अनि निर्देशनमा चर्चित क्यामराम्यान दुर्गा प्रसाद पौडेलको छायाँकन रहेको उक्त गीतको सम्पादन अहिलेका चर्चित सम्पादक बिकास ज्ञवालीले गरिरहेका छन्। बिनोद अधिकारीकै शब्द रचनामा रहेको उक्त गीतमा बिपिन आचार्यको संगीत अनि एरेन्ज रहेको छ। चोखो मायामा हुने धोका र बिश्वासघातमा आधारित वियोगान्त गीतका शब्दहरु एकदमै उत्कृष्ट छन्।
नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै +२ देखि बीबीएससम्मका एकाउन्टिङ बुक सिरिजका लेखक समेत रहेका बिनोद अधिकारी बिगत सात बर्षदेखि अस्ट्रेलियाको डार्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन्।
सानैदेखि गीत संगीत र साहित्य र समाज सेवामा रुचि भएका बिनोदका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा छापिए पनि गीत भने रेकर्डिङ गर्ने मेसो नमिलेको तर अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर समेत दिन भ्याएका छन्।
सँधै क्रियाशील अनि लगनशील तथा केही नयाँ काम गर्ने इच्छाशक्ति भएका बिनोद एक साँच्चिकै साहित्य अनि संगीतानुरागी व्यक्ति हुन्।