
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा फिल्म, संगीत र कलाकारबारे चर्चा गरे ।
‘सिनेपाः’ छायांकन स्टुडियोको निर्माण सुरु भएको घोषणा गर्न आयोजित समारोहमा उनले कला र कलाकारिताका बारेमा आफुले जानेको बुझेको र सुनेका धेरै कुरा सुनाए । बोल्ने क्रममा उनले नेपालका लागि अब रेलको कुरा नयाँ नभएको बताए ।
नेपालको लागि रेल नयाँ कुरा नभएको बताउँदै उनले आफूले गरेको काम किन नदेख्ने भन्दै कलाकारलाई जनकपुरको रेलको गीत लेख्न आग्रह गरेका छन् । दार्जिलिङको रेलबारे धेरै गीत लेखिएको तर आफ्नै देशमा भएको जनकपुरको रेलबारे पनि गीत लेख्न कलाकारलाई सुझाए ।
उनले आफ्नो मन्तव्यमा भने – ‘जनकपुरमा रेल कुदिरहेको छ, तपाईंहरू गीत बनाउनुहुन्छ, दार्जलिङको रेल,’ प्रधानमन्त्री ओलीले भने, ‘किन जनकपुरको रेल नदेखेको । अब जनकपुरको रेलबारे पनि गीत लेख्नुहोस् ।’
समारोहमा चलचित्र, संगीत र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरुको बाक्लो उपस्थिती थियो । प्रधानमन्त्री ओलीले बोलिरहँदा दर्शक दीर्घाबाट हाँसोकोे फोहरा छुटेको थियो ।