
काठमाडौ । गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ डिभाइन म्यूजिकको युट्युबमार्फत सार्वजनिक भएको छ । गीतकार सुमन पण्डित ‘बैरागी’को शब्द र संगीतकार अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतको संगीत संयोजन आदेश गुर्मछानले गरेका छन् । ‘ओइ नक्कले’ गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।
‘ओइ नक्कले’ भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ । दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना र द्वन्द्वलाई गीतमा भावनात्मक रूपमा चित्रण गरिएको छ । ‘ओइ नक्कले’ को भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् भने उत्सव दाहालले छायाँकन गरेका हुन् । सञ्जय विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई आकर्षक लोकेशन, गतिशील फ्रेम र कलाकारहरूको सशक्त अभिनयले थप प्रभावशाली बनाएको छ ।
हाल अष्ट्रेलियामा बसोबास गरिरहेका अभिनेता सुशान्त कार्की यस भिडियोका लागि विशेष रूपमा नेपाल आएका थिए । झन्डै ६ महिना अघि छायाँकन सम्पन्न भए पनि भिडियो हाल मात्र सार्वजनिक गरिएको हो । ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । दर्शकहरूले गीतको संगीत, शब्द, स्वर र भिडियोको प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेका छन् ।