• मन्त्री पाण्डेद्वारा कवि तथा गीतकार युवराज अधिकारीको कवितासंग्रह ‘युद्ध युद्ध नै हुन्छ’ लोकार्पण

    म्यूजिक खबर
    प्रकाशित: ८ असार २०८२, आईतवार १३:१७

    काठमाडौं । कवि तथा गीतकार युवराज अधिकारीको दोस्रो पुस्तक ‘युद्ध युद्ध नै हुन्छ’ नामक कविता संग्रह लोकार्पण भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा कवि तुलसी दिवस, कवि विश्वविमोहन श्रेष्ठ, चलचित्र निर्देशक प्रकाश सायामी र कवि अधिकारीले संयुक्त रुपमा लोकार्पण गरेका थिए।

    लोकार्पणपछि बोल्दै कार्यक्रममा मन्त्री पाण्डेले कवि अधिकारीको व्यक्तित्व, सत्संग, संगत बारे प्रशंसा गरे । कविताले समाजलाई सही दिशामा लैजान भूमिका खेल्ने बताउँदै मन्त्री पाण्डेले ‘युद्ध गलत छ, घातक छ, विनाशकारी छ। युद्धले कसैलाई जिताउँदैनन् र समाजको हितमा युद्ध नहुने बताए । कविता संग्रहले सकारात्मक बाटोमा कसरी हिंड्न सकिन्छ भन्ने उदाहरण दिएको छ पाण्डेले भने ।

    कवि तुलसी दिवसले कवितात्मक आवाज लिएर कवि अधिकारी आएको बताउँदै युद्ध युद्ध नै हुन्छ भनेर हिम्मत गरेकोमा खुलेर प्रशंसा गरे। ‘बन्दुकभन्दा शक्तिशाली हतियार शब्द हो र त्यो शब्द कविहरुसँग छ। जो बन्दुक र बमभन्दा कम पड्किँदैन,’ कवि दिवसले भने – ‘शब्दको प्रयोग गरेर युद्ध गर्ने कविहरू नै छन्। मात्र कविताको भाषा अलि कलात्मक हुनुपर्छ।’

    कवि युवराज अधिकारीले लोकार्पणका क्रममा जीवन भोगाइका उतारचढावकै अनुभव लेखेको बताए। उनले भने, ‘लेख्दा आफ्नोबारे मात्र लेखिदैन। समाजमा देखेको र भोगकै कुरा लेखेको हुँ। र मेरो जन्मथलो इलामले मलाई लेखनमा प्रेरित गरेको हो । ‘साहित्य, कला, जीवन सापेक्ष हुनु पर्छ। सरलता हुनुपर्छ। साहित्यले भुइँ टेकेको हुनुपर्छ। समग्र मानवजीवनलाई समेटेको हुनुपर्छ,’ कवि अधिकारीले भने।

    कवि अधिकारीका ‘मेरा चित्कारहरु’ नामक कविता संग्रह र ‘देउरालीको फूल’ नामक गीति एल्बम प्रकाशित छन्। नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष रहेका अधिकारीले चालिसको दशकदेखि गीत कविता लेख्न थालेका हुन्।

    लोकार्पण कार्यक्रममा चलचित्रकर्मी प्रकाश सायामीले २०३६ सालमा खाना खाएको तर मिठो कविता पढ्न ४० वर्षपछि पाएको बताए। अधिकारीका कवितामा पूर्वको आञ्चलिकता र सरल भएको सायामीले बताए। ‘युद्ध युद्ध नै हुन्छ’कविता लेख्नका लागि मात्र नभएको बताए ।

    कविता संग्रहबाट युद्ध युद्ध नै हुन्छ नामक कविता कलाकार क्याप्टन विजय लामाले र अर्को कविता अभिनेता निखिल उप्रेतीले बाचन गरेका थिए।

    सञ्चारकर्मी तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलाएको कार्यक्रममा सांसद अमरेश कुमार सिंह, महेश बस्नेत, पूर्वमुख्य सचिव भोजराज घिमिरे लगायतको उपस्थिति थियो। एपेक नेपालले आयोजनामा भएको कार्यक्रममा शुभकामना कवि राजेन्द्र सलभले दिएका थिए। किताब इन्डिगो इन्कले प्रकाशन गरेको हो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु