
काठमाडौं । नेपाली चलचित्र उद्योगमा ३ दशकभन्दा धेरै समय योगदान दिने ८६ जनालाई विशिष्ट चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आइतबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा परिचयपत्र प्रदान गरिएको हो । बोर्डले मागेको योग्य चलचित्रकर्मीलाई परिचयपत्रको लागि आवेदन मागेको थियो । सोहीअनुसार मागदावी पूरा भएका ८६ जनालाई पत्र प्रदान गरिएको थियो ।
विशिष्टको परिचयपत्र प्राप्त गर्ने चलचित्रकर्मीलाई डेढलाख बराबरको स्वास्थ्य बीमा सुविधा समेत बोर्डले उपलब्ध गराएको छ । चलचित्रकर्मी परिचयवाहकलाई भने ७५ हजारको स्वास्थ्य बीमा उपलब्ध गराइने उनले जनाए ।
परिचयपत्र पाउनेमा विश्व बस्नेत, सुनिल थापा, उपेन्द्र तिमल्सिना, रामकृष्ण बजगाईदेखि लिएर रमेश उप्रेती, दीपकराज गिरी, दीपाश्री निरौला र जितु नेपालसम्म छन् । समारोहमा संचारमन्त्री गुरुङसहित मन्त्रालय सचिव राधिका अर्याल, फिल्म सम्बद्ध संस्थाका प्रतिनिधि सहभागी थिए ।
सम्बोधनका क्रममा मन्त्री गुरुङले सरकारले चलचित्र क्षेत्रमा विशेष ध्यान दिन थालेको बताए । यसको विकासका लागि विभिन्न योजना अघि सारिएको जानकारी दिँदै उनले भने, ‘फिल्म क्षेत्रको दिगो विकासका लागि सबै फिल्मकर्मी एकजुट हुनुपर्छ । साना साना कामको थालनी भइसकेको छ, आगामी दिनमा आईटी र एआईजस्ता प्रविधिसँग अभ्यस्त हुनुपर्ने आवश्यकता छ ।’ सरकारले असोज १५ गतेलाई चलचित्र दिवस घोषणा गरिसकेको र यसलाई धुमधामका साथ मनाउन निर्देशनसमेत गरे ।
६० वर्षदेखि बन्न नसकेको इनडोर फिल्म स्टुडियो निर्माण सुरु भएको जनाउँदै उनले चलचित्र ऐन संसदको माथिल्लो सदनसम्म पुगेको बताए । १६ वर्षदेखि अलपत्र परेको बक्स अफिस प्रणाली सञ्चालनमा आएको उनको भनाई छ । परिचय पत्रलाई चलचित्रकर्मीको पहिचान र सम्मानको प्रतीकका रूपमा सरकारले आधिकारिक रुपमा प्रदान गरेको उनले बताए ।
कार्यक्रममा अभिनेता बुद्धि तामाङलाई विशेष योगदान सम्मान प्रदान गरियो । फिल्म ‘चे’ (लिम्बु भाषा) र फिल्म ‘दिलसरा’ (मगर भाषा)लाई २ लाख रुपैयाँको प्रोत्साहन रकम हस्तान्तरण गरियो ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष डिसीले धन्यवाद ज्ञापन गर्दै चलचित्र उद्योगको विकास र चलचित्रकर्मीको सामाजिक–आर्थिक पहिचान बलियो बनाउन निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । बोर्ड अध्यक्ष दिनेश डिसीले आफू पदमा आएपछि १० महिनामा बोर्डको ९३ प्रतिशत बेरुजु फछ्र्योट भएको बताए । बोर्डबाट प्रवाह हुने ३३ सुविधा अनलाइनमार्फत भैरहेको उनले जनाए ।




