रहेनन् सांगीतिक क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्याएका रत्न बेहोसी

म्यूजिक खबर
प्रकाशित: २२ आश्विन २०८३, बिहीबार १९:३४

काठमाडौं । रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ ।

नेपाली तथा नेपालभाषाको गीत–सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्याएका बेहोसी गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय थिए । उनलाई नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ ।

विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उनी एक थिए । कुल १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट भएपछि उनको यात्रा नेपाली रेडियो सङ्गीतको प्रारम्भिक इतिहाससँग जोडिएको महत्वपूर्ण अध्यायका रुपमा रहेको छ ।

उनका चर्चित गीतहरूमध्ये भारती उपाध्यायसँग गाएको ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ र तीर्थकुमारी थापासँग गाएको नेपालभाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।

पाटनको भिन्छबहालमा हुर्किएका र भोलढोका बस्दै आएका बेहोसीका दुई छोराहरु आनन्द र चेतन तथा छोरी मुनु बज्राचार्य छन् ।

स्वर्गीय बज्राचार्यको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि त्यागलस्थित नेपाल भाषा मंका खलःमा राखिएको थियोे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु