सर्वाधिक रुचाइएका लाइभदोहोरीका हिरो चिज गुरुङ

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०८२, शनिबार १८:४१

म्यूजिक खबर/काठमाडौं
चिज कुमार गुरुङ प्रत्यक्ष दोहोरी गायनको क्षेत्रमा चर्चित नाम हो । सबैले रुचाइएका दोहोरी गायकका रुपमा चिजलाई लिइने गरिन्छ । गायनका हिसाबले शालिन, भद्र, भेषभूषामा ध्यान दिने, गीत गाउँदा सभ्य तरिकाले सरल रुपमा प्रस्तुत हुने व्यक्तित्व हुन् चिज कुमार गुरुङ । गोरखा जिल्लाको सिरानचोक गाउँपालिका वडा नं. ३ हर्मी भन्ज्याङमा जन्मिएका गायक चिज कुमार गुरुङको सांगीतिक यात्रा भने २०६६ सालबाट सुरु भएको हो । सुरुवातमा गाउँको रोधी नै उनको लागि संगीतको पाठशाला थियो । स्कुले जीवनमा हुने विभिन्न प्रतियोगिता र पूजाआजामा गाइने दोहोरी गीतको अनुभवसँगै उनी पनि गायनमा होमिएका हुन् । बुबा आमा, दाजुभाई गाउँलेहरुसँगै रोधीमा जाँदाजाँदै गीत गाउन सिकेका हुन् । त्यही परिवेशसँगै प्रत्यक्ष दोहोरीमा भाग लिँदै काठमाडौंसम्मको यात्रा गरेका चिज कुमार पछिल्लो समय सबैका प्रिय दोहोरी गायकका रुपमा परिचित भए ।
गुरुङ ल्होसारमा आयोजना हुने दोहोरी गीत प्रतियोगितामा पहिलो पटक सहभागी भएका थिए । पहिलो वर्ष सहभागी भए दोहोरी गायनमा प्रतिस्पर्धा गरे । तर अनुभव धेरै बटुलेर फर्किए । त्यही अनुभवले उनी अर्को वर्षको ल्होसार प्रतियोगितामा फेरि भाग लिए त्यो वर्ष उनी उत्कृष्ट गायकका रुपमा घोषित भए । प्रत्यक्ष गायनको क्षेत्रमा उत्कृष्ट गायक घोषित भएपछि उनलाई आँट र शाहस बढ्यो यही क्षेत्रमा केही गर्छु भन्ने सोच बोकेर अगाडि बढे । त्यसपछि अर्को वर्ष प्रतियोगितमा दोस्रो स्थान हासिल गर्न सफल भए ।
२०७१ को गणतन्त्र दिवसको उपलक्षमा गृह मन्त्रालय र रेडियो नेपालकोको आयोजना भएको चेतनामूलक लोक दोहोरी गायन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । सोही वर्ष भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको ‘अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शील्ड प्रतियोगितामा उनी उत्कृष्ट गायक घोािषत भए भने विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा भएको सचेतनामूलक लोक दोहोरी गीत प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भए ।
सोही रनिङ शील्ड प्रतियोगितामा २०७२ सालमा पनि उत्कृष्ट गायकको रुपमा घोषित भएपछि उनी प्रत्यक्ष गायनमा मुलुकभर जान थाले । गोरखाली महोत्सवमा भएको प्रत्यक्ष दोहोरी गीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए भने गलकोट घुम्टे महोत्सवमा भएको खुल्ला लोक दोहोरी गीत प्रतियोगितामा द्वितीय स्थान हासिल गरेका थिए ।
प्रत्यक्ष दोहोरी गायनमा आफूलाई समाहित गराउँदै आएका चिज कुमार गुरुङलाई आत्मसन्तुष्टि भने रेकर्डमा भन्दा प्रत्यक्ष गायनमा नै मिल्ने गरेको बताउँछन् । रेकर्डमा लेखेर तयार पारिएको गीतलाई गाउने गरिन्छ तर प्रत्यक्ष दोहोरी गायनमा सेकेन्डमा रचना गरेर प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । तर पनि दोहोरी गायनमा आत्मसन्तुष्टि मिल्छ गायक गुरुङले भने । ६ वटा भन्दा बढी एल्बम बजारमा ल्याइसकेका उनले एक दर्जनभन्दा बढी कलेक्सन एल्बमहरुमा स्वर दिएका छन् । दोहोरी, सालैजो, कौडा जस्ता गीतमा स्वरका अलावा नृत्यसमेत गर्ने गरेका उनी पछिल्लो समय भने निकै चर्चित बन्न पुगे ।
अहिले राखेर प्रत्यक्ष दोहोरी गायनमा उनको शब्दचयन र गायनको प्रशंसा गर्नेहरु धेरै छन् । उनको फ्यानहरुका कारण यतिबेला जताततै चिज गुरुङको चर्चा बढेको हो । उनको पछिल्लो गीत हावा सरर निकै चर्चित भयो । राजेन्द्र लम्साल क्षेत्रको लय संकलन रहेको गीत हावा सररमा चिज गुरुङ र चिजा तामाङले स्वर दिएका हुन् । त्यस्तै लेकाली मायाको चिनो अहिले सर्वाधिक रुचाइएको गीत बन्यो । यो गीतलाई पछिल्लो समय लाइभ दोहोरीमा सबैभन्दा धेरै प्रयोग गरिएको पाइन्छ । चिजले गीत गायनबाट नै विभिन्न देशहरुमा सांगीतिक भ्रमण गरिसकेका छन् । त्यस्तै १० औं म्यूजिक खबर म्यूजिक अवार्डमा पनि उनले उत्कृष्ट प्रत्यक्ष दोहोरी गायकका रुपमा अवार्ड चुम्न सफल भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु