
काठमाडौं । पछिल्लो समयकी लोकप्रिय र व्यस्त अभिनेत्री, मोडल तथा नृत्यांगना हुन् टिका जैशी । सफल मोडल तथा नृत्यांगना बन्ने छनक उनले बाल्यवस्थामै देखाएकी थिइन् । नाँच्न भनेपछि हुरुक्कै हुन्थिन् । कतै गीत बजे, कम्मर मर्काउन थाल्थिन् । गाउँमा हुने सांस्कृतिक कार्यक्रममा नछुटाई सहभागी हुन्थिन् । विद्यालयमा आयोजना हुने कार्यक्रममा पनि उनको नृत्य प्रस्तुति अनिवार्य जस्तै हुन्थ्यो । प्रस्तुति मात्र होइन, प्रथम नै हुन्थिन् । यसरी उनले बर्दियाको गुलरियामा नाँच्दै रमाउँदै उनले स्कले जीवन बिताइन् । बुबा बिरेन्द्र जैसी र आमा पबित्रा जैसीको कोखबाट बि.सं. २०५२ साल जेठ २५ गते जन्मिएकी टिकाले अहिलेसम्म अहिलेसम्म २०० भन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा नृत्य गरेकी छिन् ।
आज, उनी नेपाली म्यूजिक भिडियो क्षेत्रकी एक सफल व्यवसायिक मोडल बनिसकेकी छिन् । कलाकार बन्ने सपना बोकेर २०७१ सालमा राजधानी भित्रिएकी टिकाले पुर्णकला विसी र पशुपति शर्माको स्वर रहेको तिज गीत माइती घर (हाता लाग्यो सुन्य) को म्यूजिक भिडियोमा अभिनय गर्दै मोडलिङमा डेब्यू गरेकी हुन् । तत्कालिन समयमा चलेका गायक गायिकाको गीतबाटै यात्रा शुरु गर्न पाउँदा आफूलाई भाग्यामानी ठानेकी टिकाका त्यसयता थुप्रै गीतहरु बजारमा आएका छन् । कला चल्यो गला चल्यो मान्छे चलेन, धिपी धिपी बत्ती, लाली जोबन मेरो खाली जोबन, वहेलपुरे, डालीमा पुतली, जमिनै थकाईदेउ, रुन लेखेको, मेरो को छ र, भुरु भुरु, पासो, माईती देश सम्झेर जस्ता गीतको भिडियोले उनलाई सफलताको थप उचाइ दिलाएको छ भने दुई सय बढी म्युजिक भिडियोमा काम गरिसकेको उनको दाबी छ ।
मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडि बढाउने सोचका र सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी हुन् । उनले सयौं म्यूजिक भिडियो र थुप्रै स्टेज कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गरेकी छिन् । पछिल्लो समय उनलाई म्यूजिक भिडियो र मेला महोत्सवमा भ्याइनभ्याइ छ । विशेषतः नृत्यमा पारंगत टिकाले देशका धेरै जिल्लामा आफ्नो प्रस्तुति दिइसकेकी छिन् । देशबाहिर हुने सांस्कृतिक कार्यक्रममा पनि उहाँको माग बढ्दो रहने गरेको पाइन्छ । उनी अहिले अष्ट्रेलियका लागि सांगीतिक टुरको तयारीमा छिन् । यो टुरमा उनी लोकप्रिय र चर्चित कलाकारहरु सहित सहभागी हुनेछिन् ।
भिडियोमा सामान्य रुपमा देखिएका कतिपय कलाकार चलचित्रमा देखिएका छन् थुप्रै म्युजिक भिडियोकी हिट मोडल टिकालाई अहिलेसम्म चलचित्रमा देख्न नपाइनुको कारण के होला भन्ने जिज्ञासामा टिका भन्छिन् – ’ अफर त मलाई पनि आएका थिए, आउँछन् । तर आफुलाई खै किन हो चलचित्र भन्दा म्यूजिक भिडियो नै ‘बेस्ट’ लाग्छ । यद्यपी सुहाउँदो रोल र राम्रो ब्यानरका लागि चाहिं सोच्न पनि सकिन्छ ।’
थुप्रै अवार्ड, सम्मान र पुरस्कार समेत हासिल गरेकी छिन् । टिका जैसीले साधना म्युजिक अवार्ड, नाट्यश्वरी म्युजिक अवार्ड, छाँयाछबी म्युजिक अवार्ड, सुन्दरादेबी म्युजिक अवार्ड, राष्ट्रिय लोक दोहोरी अवार्ड, एपिक नेपाल म्युजिक अवार्ड प्राप्त गर्न सफल भएकी छिन् भने म्युजिक खबर अवार्डमा कलाकारिता सम्मानद्धारा सम्मानित भएकी थिईन्।
आउँदा दिनमा पनि आफूलाई सुहाउने खालका म्युजिक भिडियोमा काम निरन्तर गर्ने अठोट उनले सुनाइन् ।