
काठमाडौं । लोकप्रिय हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्षको (२०८३) हाँस्य र व्यङ्ग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै उनले देशका समसामयिक विषयदेखि राजनीति र नेतासम्मलाई व्यङ्ग्य गर्दै यो कोसेली ल्याएका हुन् ।
‘बालेन सरकार’ मा लोकप्रिय गायक राजु परियारको स्वर रहेको छ । गायक परियारको यो नै पहिलो प्यारोडी गायन हो । झलकमान गन्धर्वको कालजयी गीत ‘हे बरै आमाले सोध्लिन ‘ को लयमा प्रसिद्ध गीतकार लोकराज अधिकारीले प्यारोडी शब्द लेखेका हुन । गीतमा अष्ट लामाको संगीत संयोजन धर्म गन्धर्वको सारंगी र पोषण घर्तीको मादल रहेको छ ।
‘बालेन सरकार’ मा सरकारलाई सल्लाह र सुझावका रूपमा खबरदारी गर्दै गत फागुन २१ को निर्वाचनलाई समेत कटाक्ष गरिएको छ । समग्र नेपालीहरूको बानी–व्यवहारलाई समेत प्रहार गरेका उनको यो कोसेली ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । विगत २३ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली ल्याउँदै आएका ‘जोगिन्दर’ले ‘बालेन सरकार’ दर्शक तथा स्रोताहरूलाई हास्यव्यङ्ग्यका माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ल्याएको बताए ।
‘गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव हो । अहिले यस्ता कोसेलीको व्यावसायिकता त छैन,’ रिजालले भने, ‘तर सधैँ दर्शक-श्रोताहरू मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ । दर्शकको मायाका कारण आम्दानी नभए पनि यसलाई निरन्तरता दिँदै आएको छु ।’
निर्देशन र प्रस्तुति समेत ‘जोगिन्दर’ कै रहेको ‘बालेन सरकार’ मा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’ माथि प्यारोडी पनि बनाइएको छ । जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारले स्वर दिएका छन् ।
प्यारोडीमा एमाले, कांग्रेस, माओवादीदेखि देशका सम्पूर्ण राजनीतिक दलमाथि व्यङ्ग्य गरिएको छ । यो कोसेलीमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायांकन रहेको छ । यसको पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।
रिजालको ‘बालेन सरकार’ २३औँ कोसेली हो । गत वर्ष उनले ‘मिस चौँरासी’ ल्याएका थिए, जसको चर्चा राम्रो भएको थियो । वि।सं। २०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु र प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्छन् ।