‘छ माया छपक्कै २’ को शीर्ष गीत रिलिजसँगै अभि सुनारको सिर्जनात्मक क्षमताको पनि चर्चा

म्यूजिक खबर
प्रकाशित: ७ आश्विन २०८३, बुधबार २३:११

काठमाडौं । वर्षकै प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक भएसँगै यसको प्राविधिक र साङ्गीतिक पक्षबारे व्यापक चर्चा सुरु भएको छ। गीत सार्वजनिक भएपछि श्रोता र समीक्षकहरूले यसका रचनाकार एवं संगीतकार अभि सुनारको सिर्जनात्मक क्षमतालाई लिएर विशेष प्रशंसा गरिरहेका छन्। चलचित्रको साङ्गीतिक मेरुदण्ड मानिएको यस शीर्ष गीतमा सुनारले देखाएको शब्द शिल्प र सङ्गीतको सुझबुझले गीतलाई छोटो समयमै स्थापित गराएको छ ।

सुनारले यसअघि पनि नेपाली सङ्गीत आकाशमा अञ्जु पन्त र सुगम पोखरेल जस्ता दिग्गज गायक–गायिकाको स्वरमा सजिएको ुअमर प्रेमु जस्ता सुमधुर गीतहरूको सिर्जना गरेर आफ्नो बलियो रचनात्मक उपस्थिति देखािसकेका छन्। व्यावसायिक चलचित्रको मर्म र आम श्रोताको रुचि बुझेर लोक र आधुनिक पप विधाको सुन्दर फ्युजन गर्न सक्नु नै उनको मुख्य विशेषता मानिन्छ ।

गीतकार र संगीतकार दुवै भूमिकामा रहेका अभि सुनारले आम श्रोता र टिकटक प्रयोगकर्तालाई आकर्षित गर्ने गरी नयाँ डान्सिङ बिट र नेपाली परिवेश सुहाउँदो मेलोडी तयार पारेका छन्।

पछिल्लो समयका ट्रेन्डिङ गायक करण परियार, अभि सुनार र रश्मि विश्वकर्माको स्वरको सम्मिश्रणले गीतलाई श्रुतिमधुर बनाएको छ। गायक विशाल निरौलाको विशेष सहभागिताले गीतमा थप ऊर्जा थपेको छ।

भिडियोलाई ‘बेबी सावर’ (दही–चिउरा ख्वाउने उत्सव) को पृष्ठभूमिमा खिचिएको छ। गीतमा परिवार, सन्तान, दाम्पत्य जीवनको रमाइलो नोकझोक र खुसीलाई उतारिएको छ। कोरियोग्राफर किरण थापाको निर्देशनमा दीपकराज गिरी, केकी अधिकारी, कर्मा शाक्य र सनिशा भट्टराईको स्क्रिन प्रिजेन्सले भिडियोलाई भव्य बनाएको छ।

नेपाली चलचित्र बजारमा लगातार ब्लकबस्टर व्यापार गर्दै आएको दीपक(दीपा समूह र रोहित अधिकारी फिल्मसको यो सहकार्य आफैँमा ब्रान्ड बनिसकेको छ। मुख्य निर्माता रोहित अधिकारी र कार्यकारी निर्माताद्वय निर्मल शर्मा तथा सुरज बम ठकुरीको लगानी रहेको यो चलचित्रलाई यो वर्षको प्रतिक्षित सिक्वेल मानिएको छ। व्यावसायिक समीक्षकहरूका अनुसार, गीतले सिर्जना गरेको साङ्गीतिक हाइपले आगामी असोज ३१ (फूलपाती) को ओपनिङ ब्यापारमा ठुलो मद्दत पुर्‍याउने निश्चित छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु