सुमन बैरागी
तिम्ले पराई ठानेपछि पराई हुन के भयो र
तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र
सुगम संगीतको इतिहासमा दोस्रो पुस्ताको एक युग बन्न सफल हुन् संगीतकार सन्तोष श्रेष्ठ । मुलुकमा तत्कालिन अवस्थामा द्वन्द्वको चपेटामा परेका जनता सामूहिक रुपमा भेट हुने माध्यमका रुपमा लोकदोहोरीलाई आत्मसात गरिरहेकै बेला लोकदोहोरीको पहिचानलाई पछ्याउँदै हिंडिरहेकाहरुको बीचमा आएका हुन् यिनी । लोकदोहोरी नै यिनको सांगीतिक करिअरको उद्गम विन्दू हो । लोकदोहोरीमै आफ्नो जिन्दगी भुलाइरहेका सन्तोषले एकाएक सुगम संगीतमा एउटा इतिहास रचेका हुन् । लोकदोहोरीमा लागेकाले आधुनिक संगीतमा माखो मार्न सक्दैनन् भन्नेहरुको बीचमा उनी एउटा उदाहरण बने । उनले २०६६ तिर एउटा सुगम संगीतलाई बजारमा ल्याए त्यो नै दोस्रो पुस्ताको इतिहासमा टर्निङ प्वाइन्टका रुपमा परिचित भयो । जुन गीत थियो तिम्ले पराई ठानेपछि…. ।
लोकदोहोरी भनेपछि हुरुक्क हुनेहरुका लागि त उनी परिचित नै थिए तर लोकदोहोरीलाई हेप्ने प्रवृत्तिका अगाडि पनि उनी एउटा खम्बाका रुपमा दह्रिए । गजलकार लोकराज अधिकारी रचना र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत ‘तिम्ले पराई ठानेपछि…’ मा उनको संगीत जब बजारमा आयो त्यसपछि सुगम संगीतको फाँटमा जताततै चर्चा नै चर्चा मिल्यो । हुन त संगीतकार श्रेष्ठ त्यसभन्दा पहिला नै आधुनिक संगीतमा लागेका व्यक्ति हुन् भने लोकदोहोरी गायकका रुपमा यिनले थुप्रै प्रतियोगिताहरुमा सफलता हासिल गरिसकेका थिए । २०६२ सालतिर यिनले ‘चिनारी’ नामक आधुनिक एल्बम बजारमा लिएर आए । त्यसले यिनको सांगीतिक करिअरमा एउटा ईंटा त थप्यो तर चर्चातर्फ भने उन्मुख गराएन । लोकदोहोरीबाट आधुनिक तर्फ लागेका बेलाको अवस्थामा चिनारीबाट चिनिन गाह्रो भएपछि मन दुखाउँदै परदेशिएका थिए सन्तोष । केही समय सांगीतिक कार्यक्रमकै लागि बहराइनतर्फ लागेका यिनले पुनः सुगम संगीत नै रोजेर स्वदेश फर्के । फर्के लगत्तै बजारमा ल्याएको गीत थियो तिम्ले पराई ठानेपछि…. । जुन गीत सुगम संगीतको अहिलेसम्मकै इतिहासमा बढी रोयल्टी लिन सफल बन्यो, सबैभन्दा बढी सिआरबिटी डाउनलोड गर्न सफल भयो र लोकप्रियता पनि सबैभन्दा बढी कमायो । ‘साधना’ एल्बममा समावेश गरिएको त्यो गीत नै अहिलेसम्मको इतिहासमा चर्चायोग्य बनायो र सन्तोष श्रेष्ठको नाम इतिहासमा सदाबहार बन्न सफल भयो ।
चिनारी एल्बममा नै रहेको गीत आउँछु भनी निष्ठुरीले भर किन पार्नु बोलको गीत रामकृष्ण ढकालको आवाजमा हुँदा चर्चा मिलेको थिएन । त्यही गीत सन्तोष श्रेष्ठको तेश्रो एल्बम ‘संगम’ मा समावेश गरी अन्जु पन्तको स्वरमा बजारमा आएपछि अझ सन्तोषको चर्चा शिखरमा पुग्यो । त्यसपछि संगीतकार सन्तोष श्रेष्ठलाई पछि फर्केर हेर्नुपर्ने अवस्था आएन ।
सन्तोष श्रेष्ठ भन्नेवित्तिकै एउटा सांगीतिक धारको चित्र सबै संगीतकर्मीको मनमा झल्किने गर्छ । त्यसो त सबैभन्दा बढी संगीत गरिएका गीतको शब्दमा ‘तिमी’ उनको गीतमा देखिन्छ । अर्थात् उनलाई ‘तिमी’ संगीतकारको रुपमा पनि चिनिन्छ । सन्तोष श्रेष्ठले संगीत गरेका तिम्ले पराई ठानेपछि, तिम्ले भुल्न सके पनि, तिम्ले सधैं पीडा दियौ, तिम्ले हाँसो, तिमी भन्छ्यौ, तिम्लाई सन्चो छैन जस्ता तिमी आएका गीतहरु उनका सर्वाधिक लोकप्रिय गीतहरु हुन् ।
२०३७ साल माघ २१ गते दाङको हापुर–८ बगियामा जन्मिएका सन्तोषको परिवार सामान्य भए पनि सांगीतिक भने थियो । माता देवा श्रेष्ठ र पिता यज्ञबहादुर श्रेष्ठको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका सन्तोषलाई घर परिवारमा हुने भजनकीर्तनले संगीतमा लाग्न ठूलो प्रेरणा दिएको थियो । त्यसो त गाउँघरमा हुने सांगीतिक वातावरण पनि उनको प्रेरणाकै स्रोत थियो । सन्तोषको घरमा नै बाद्यवादनका सामग्रीहरु राखेर संगीत पाठशालाझैं कडा अनुशासनबीच संगीतको धुनमा पढाउन खोज्ने सन्तोषका बाबुको सपना आज वास्तविकतामा पूरा भएको छ । सानैदेखि शान्त र शीतल स्वभावका सन्तोषको चेहरामा अझै पनि स्थानीयवासीहरु उनकै बुवाको सपना प्रतिबिम्बित भएको ठान्छन् । स्थानीय विद्यालय, मावि हापुर रतनपुरबाट शिक्षारम्भ गरेका सन्तोष सानैदेखिका कुशल बाद्यवादक मात्र नभएर एउटा असल साधक पनि हुन् । उनको संगीत साधनादेखि गाउँघरका दौंतरीहरु पनि प्रभावित नभएका होइनन् । आफूमात्रै होइन साथीभाइलाई पनि सँगै लिएर जानुपर्छ र केही असल कर्मका माध्यमबाट समाजसेवामा जुट्नुपर्छ भन्ने सन्तोषमा सानैदेखि जागृत भएको हो । उनको त्यो विचारसँग सामिप्यता राख्ने गाउँटोलका साथीभाइ पनि सन्तोषको सफलताको उत्प्रेरक हुन्भन्दा फरक पर्दैन ।
सानैदेखि आफ्नो नेतृत्वमा क्लव स्थापना गर्ने, देउसी भैलो देल्ने, अर्थ संकलन गर्ने र जम्मा भएको रकमबाट सिर्जनात्मक सामाजिक क्रियाकलाप गर्दै आएका सन्तोषको गाउँबाटै माध्यमिक तहको शिक्षा पूरा गरेर सन्तोष जब सदरमुकाम घोराही छिरे तब उनको सांगीतिक यात्राको पनि शुभारम्भ भयो । वि.सं. २०५६ सालदेखि उनले आफ्नो सांगीतिक यात्राको औपचारिक शुरुवात गरे ।
२०६२ सालमा रेडियो नेपालबाट लिइने स्वर परीक्षा पनि उत्तीर्ण गरे । त्यो भन्दा पहिले नै वि.सं. २०५६ मा आयोजित खुला लोकगीत प्रतियोगितामा उनी दाङ जिल्ला प्रथम भइसकेका थिए । रेडियो नेपालबाट स्वर परीक्षा पास गरेकै वर्ष उनलाई हात लाग्यो सर्वाेत्कृष्ट राष्ट्रिय दोहरी गायक पुरस्कार २०६२ । काठमाडौं राष्ट्रिय दोहरी गीत प्रतियोगिता २०६३ मा पनि उनी प्रथम नै भए । त्यतिमात्र होइन त्यहीसाल बाल अधिकारको क्षेत्रमा वर्षकै सर्वाेत्कृष्ट गायकका रुपमा राष्ट्रिय सम्मानसमेत पाए । रेडियो नेपालले आयोजना गरेको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०६४ मा पनि प्रथम नै भए । यसरी सफलताको शिखर चुम्दै गएका सन्तोषले २०६६ सालमा हात पारे सर्वाेत्कृष्ट संगीतकार पुरस्कार । उनले संगीतवद्ध गरेको आधुनिक गीतिसंग्रह ‘साधना’ २०६६ ले सर्वाधिक चर्चा पायो । त्यसमा पनि ‘तिमील्ऽे पराइ ठानेपछि, पराई हुन के भयो र‘‘‘’ भन्ने बोल्ऽको गीत डिजिटल्ऽ प्रविधिको युगमा त्यो एउटा कोशेढुंगा नै सावित भयो ।
पछिल्लो समय सबैभन्दा बढी एल्बममा एकल संगीत गर्नेमा पनि सायद संगीतकार श्रेष्ठ नै पर्ने गर्छन् । उनले संगीत गरेको एकल एल्बमहरु १४ भन्दा बढी भइसकेका छन् । एकल संगीतमा धेरै गीतकारहरुको रचना र गायकगायिकाहरुको स्वर समावेश गरिसकेका संगीतकार श्रेष्ठले सयौं लोकदोहोरीको संकलन र स्वरसमेत भरिसकेका छन् । पछिल्लो पुस्ताका चर्चित गायकगायिका अन्जु पन्त, शिशिर योगी, स्वरुपराज आचार्य, प्रमोद खरेल, शिव परियार, मनोजराज, रिमा गुरुङ होडा लगायतको स्वरमा उनका संगीतले ठाउँ पाएका छन् । त्यस्तै आँसु गजलसंग्रह र अधुरो लघुकथासंग्रहसमेत प्रकाशन गरिसकेका संगीतकार श्रेष्ठले आफ्नै स्वरमा आधुनिक गीत गायनबाट एकल साँझ समेत गरिसकेका छन् ।
भारत, ओमन, बहराइन, कतारजस्ता देशहरुको विशेष सांगीतिक भ्रमण समेत गरिसकेका सन्तोष भन्छन् – ‘यदि गीतसंगीत नचलेको भए म संगीतमा नै हुन्थें तर कुन स्थानमा हुन्थें भन्ने चाहिँ पक्कै हो ।’ गहिरो अभिरुची, दृढ इच्छाशक्ति एवं निरन्तर त्याग, तपस्या र साधनाले कुशल संगीतकार बन्न सकिन्छ भन्ने सन्तोषसँग सिर्जनाका हिसाबले सबैको प्रिय बनेको अनुभव छ । म्यूजिक खबर म्यूजिक अवार्ड २०१२ को सर्वोत्कृष्ट संगीतकार, राप्ती म्यूजिक अवार्डमा सर्वोत्कृष्ट संगीतकार लगायत करिब डेढ दर्जन सम्मान र पुरस्कार हात पारिसकेका संगीतकार श्रेष्ठ संगीत नै आफ्नो जिन्दगी भएको बताउँछन् । संगीत आफ्नै मौलिक सिर्जना हो जसले संसार नचाउन सक्छ भन्ने संगीतकार श्रेष्ठ संगीतमा लागेर बाँच्न सकिन्छ भन्नेमा विश्वास गर्छन् । उनी भन्छन् – मेरो सम्पूर्ण जिन्दगी नै संगीतमा छ, मेरो कुनै व्यवसाय नै छैन, विहान उठेदेखि बेलुकासम्म मेरो संगीतमै समय खर्च भइरहेको छ ।’
सुगम संगीतमा लोकसंगीत थपेर गीतलाई मिठास दिनमा खप्पिस छन् संगीतकार श्रेष्ठ । आधुनिक गीतसंगीतमा झल्किएको लोकपना संगीतकार श्रेष्ठका हरेक गीतमा पाइन्छ । अहिले उनको पद्चाप पछ्याउनेहरु धेरै छन् । मौलिकता झल्किने संगीत सबैका लागि स्वीकार्य हुन्छन् श्रेष्ठ भन्छन् सुगम संगीतको यो धरातल जुगौ जुगको हुनुपर्छ । संगीतमा लागेपछि सदाबहार बन्न सक्नुपर्छ ।