
संविधान निर्माणसँगै मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हालेका केपी शर्मा ओलीलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग आबद्ध रहेका कलाकार टोलीबीच मंगलबार विहान भेटघाट भएको छ ।
प्रधानमन्त्री ओलीसँगको भेटमा लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मा, उपाध्यक्ष बद्री पंगेनी, महासचिव रमेश बिजी, गायक राजन ठकुरी, गायिका सकुन्तला थापा, पत्रकार एवं गीतकार सुमन बैरागी, निर्देशक शंकर बिसीको टोलीले सफल कार्यकालको शुभकामना दिँदै वर्तमान परिस्थितिका बारेमा कुराकानी गरेका थिए । प्रतिष्ठानका उपाध्यक्ष बद्री पंगेनीले कडा शब्दमा बोल्दै भने कलाकारहरुले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै मुलुकको अभावलाई सहज बनाउनु पर्ने भन्दै राष्ट्रियताको लँडाईमा कलाकारहरुले आफ्नो तर्फबाट सकेको सहयोग गर्ने बताएका थिए ।
त्यस्तै प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बाह्य हस्तक्षेपविरुद्ध साथ र समर्थन जनाउँदै जस्तोसुकै घडीमा पनि कलाकारले आफ्नो स्वाभिमानको रक्षा गर्न तयार रहेको बताउँदै मुलुकको समस्याप्रति गम्भीर हुन ओलीलाई आग्रह गरेका थिए भने गीतसंगीत क्षेत्रको लागि वर्तमान सरकारले विशेष प्राथमिकताका साथ नयाँ कार्ययोजना तयार गर्नका लागि अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीले विशेष रुपमा अर्कोचोटी पुनः कलाकारहरुसँग छलफल गर्ने बताउँदै मुलुक र जनताको समस्याप्रति सरकार गम्भीर रहेको बताएका थिए ।