• गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न आदेश

    म्यूजिक खबर
    प्रकाशित: १३ माघ २०७६, सोमबार
    Aastha Raut

    काठमाडौं । गायिका आस्था राउतले केही दिन अगाडि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनालाई लिएर सामाजिक सञ्जालमा प्रहरीमाथि गालीगलौज गरेको आरोपमा प्रहरीले आज हिरासतमा लिएको छ ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापा जाने क्रममा राउतले माघ २ गते बिहीबार प्रहरी जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको उजुरी परेको थियो।

    गायिका राउतलाई अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई आदेश दिएका थिए ।

    गायिका राउत काठमाडौं आउनेवित्तिकै आज बिहान आफै महानगरीय प्रहरी परिसर टेकुमा उपस्थित भएकी थिइन् । राउत आफ्‍ना मामा र सानो बुवाको साथमा परिसर पुगेकी थिइन्। परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार राउतले आफूले गल्ती गरेको स्वीकार गर्दै क्षमायाचना गरेकी थिइन्। बोगटीका अनुसार गायिका राउतले आफ्‍नो व्यवहारप्रति पश्चात्ताप गरेको र कानुनको पूर्ण पालना गर्छु भनेकी थिइन् । तर प्रहरीले उनीसँग प्रारम्भिक बयान लिएपछि थप कानुनी प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय लगेको थियो।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतविरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरेको थियो। मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा १ सय १८ अनुसार अभद्र व्यवहार कसूरमा राउतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। प्रशासनले पक्राउ पुर्जी जारी गरेसँगै कानुनअनुसार राउत प्रहरीको फरार सूचीमा परिसकेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु