उद्योग र उत्पादकले मनाए एकैदिन संयुक्त वार्षिकोत्सव, उद्योग संघको अवार्ड मंसिरमा

म्यूजिक खबर
प्रकाशित: ९ भाद्र २०७६, सोमबार
music industry

काठमाडौं । नेपाल संगीत उद्योग संघको २७ औं वार्षिकोत्सव र संगीत उत्पादक समाज नेपालको ५ औं वार्षिकोत्सव संयुक्त रुपमा केक काटेर मनाइएको छ । आफ्नै कार्यकक्षमा जम्मा भएर संयुक्त रुपमा केक काटेर वार्षिकोत्सव मनाइएको हो । भाद्र ८ गते दुईवटै संस्था विधिवत दर्ता भएको हुँदा उद्योग संघका अध्यक्ष सूर्य मगर लगायत कार्यसमिति र उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल र कार्यसमितिहरु र पत्रकारहरुकाबीचमा वार्षिकोत्सव मनाउँदै खुशी बाँडेका थिए ।
सङ्गीत व्यवसायीहरुको एकमात्र छाता संगठन ‘नेपाल सङ्गीत उद्योग संघ’ ले आयोजना गर्न लागेको म्युजिक अवार्ड ‘नेपाल सङ्गीत उद्योग संघ राष्ट्रिय म्युजिक अवार्ड’ मा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल टेलिभिजनले सह–आयोजकका रुपमा सहकार्य गर्ने भएका छन् । वार्षिकोत्सवकै अवसर पारेर संघले अनामनगरस्थित कार्यालयमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी सो कुरा जानकारी गराएको हो ।


कार्यक्रममा संघका पूर्व अध्यक्षहरु रुपेश कुमार श्रेष्ठ र भगवान कुमार श्रेष्ठका साथै वर्तमान अध्यक्ष सूर्य मगर, महासचिव खगेन्द्र कुमार लिम्बू, सचिव उमेश गुरुङ लगायत समाजका अध्यक्ष निर्मल राज ढकाल, सचिव सुनिल लामिछानेलगायतका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा दिईएको जानकारी अनुसार उद्योग वाणिज्य महासंघ र नेपाल टेलिभिजनसँग यसैसाता सम्झौता हुने जानकारी अध्यक्ष मगरले दिए । अन्य भन्दा पृथक गर्नका लागि हामीले अवार्डका लागि लगभग १ दर्जन भाषाभाषी गीतको विधा समावेश गरेका छौं, उनले भने– ‘कार्यक्रम ऐतिहासिक बनाउने लक्ष्य बोकेका छौं । अवार्डलाई अझ व्यापक र विश्वसनीय बनाउनका लागि छिट्टै संघका पूर्व अध्यक्षहरु र भाषाभाषी संघसंस्थाका अध्यक्षहरुसँग बसेर सल्लाहकार समिति गठन गरिने छ ।’
अवार्डमा भजन विधा सहित ७९ विधामा अवार्ड प्रदान गरिने बताइएको छ । आगामी असोजको पहिलो साता उत्कृष्ट ५ को नोमिनेशनमा पर्न सफल सर्जक, कलाकार र प्राविधिकहरुको नामावली सार्वजनिक गरिने बताइएको छ । अवार्डको अन्तिम कार्यक्रम मङ्सिर १३ गते कमलादीस्थित प्रज्ञा भवनको प्रेक्षालयमा सम्पन्न हुने छ बताइएको छ । अवार्डका लागि फारम खुला रहेकोले ईच्छुक सर्जक – कलाकारहरुलाई समयमै फारम भर्न समेत संघले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु