• नयाँवर्षमा जापानमा ए.एम.एस. इन्टरनेशनल अवार्ड तथा सांस्कृतिक मेला हुँदै

    म्यूजिक खबर
    प्रकाशित: ६ मंसिर २०८०, बुधबार
    ams International award

    काठमाडौं । नेपाली नयाँवर्षको अवसरमा पारेर जापानमा सांस्कृतिक कार्यक्रम तथा ए.एम.एस. इन्टरनेशनल अवार्ड तथा सम्मान कार्यक्रम हुने भएको छ । एएमएस म्यूजिक ईन्टरटेण्मेण्ट तथा शुभकामना मिडिया सोलुशनको संयुक्त आयोजना एवं नेपाल आदिबासी जनजाति महासंघ जापानको सहआयोजनामा कल्चरल फेस्टिबलसहित अवार्ड तथा सम्मानको कार्यक्रम गर्न लागिएको हो । पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने अभियानसहित समृद्ध नेपाल निर्माणमा योगदान दिने उदेश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको अवार्ड आयोजककी अध्यक्ष सत्य कला लामाले बताएकी छिन् ।

    केही समय अगाडि मात्र नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सुकुमान थिङ तामाङ र अवार्ड आयोजक संस्थाको अध्यक्ष सत्य कला लामाबीच सम्झौता भइसकेको छ । जापानमा आयोजित एक कार्यक्रममा महासंघको तर्फबाट नेपाल तामाङ समाज जापानका अध्यक्ष कर्साङ तामाङ, शेर्पा संघ जापानका अध्यक्ष सोनाम शेर्पा, नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगर, तमु धिं जापानका अध्यक्ष रमेश कुमार गुरुङ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, किराँत याक्थुङ चुम्लुङ, जापानका अध्यक्ष सुदीप पालुङवा, किराँत राई यायोक्खा जापानकी महासचिव प्रमिला राई, नेवाः खल जापानका अध्यक्ष, इन्द्र सुजुकी रहेका थिए ।

    यस कार्यक्रममा जापान तथा नेपालको भेषभूषा, कलासंस्कृति आदान प्रदान गर्नुका साथै नेपाली तथा जापानी कलाकारहरुलाई समेत अवार्ड तथा सम्मान प्रदान गरिनेछ । जसका लागि जापानको सम्पूर्ण जिम्मा नेपाल आदिबासी जनजाति महासंघ र यससँग सम्बन्धित अन्य संघसंस्थाहरुले सहआयोजकको भूमिका निर्वाह गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु