काठमाडौं । गायक तथा संगीतकार प्राज्ञ अशोक कुमार राईको नेतृत्वमा गएको अन्तरा सांगीतिक समूहको टोली पोखरामा गण्डकीका धूनहरु कार्यक्रम सम्पन्न गरेर काठमाडौं फर्किएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान एवं पोखरा सांगीतिक कलाकार संघको आयोजनामा भएको ‘गण्डकीका धूनहरु’ कार्यक्रममा अन्तरा सांगीतिक समूहले संगीत संयोजनको भूमिका खेलेको थियो । प्राज्ञ अशोक कुमार राईको नेतृत्वमा गएको अन्तरा सांगीतिक समूहले पोखराका स्थानीय कलाकारसँग समन्वय गरी बृहत सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेशमा गुन्जिने कला संस्कृतिका साथमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका संस्कृति झल्कने धूनहरु प्रस्तुत गरिएको थियो । ‘गण्डकीका धूनहरु’ कार्यक्रम यो दोस्रो पटक आयोजना गरिएको हो भने यसभन्दा अघि १०० वर्षका आधुनिक संगीतको कार्यक्रम पनि अशोक कुमार राईकै नेतृत्वमा सम्पन्न भएको थियो ।
कार्यक्रममा अन्तरा सांगीतिक समूहमा संगीत संयोजन अशोक राई, बाँसुरी तथा सहनाइमा धनबहादुर गुरुङ, सहनाइमा समिर जैरु, सारङ्गीमा भरत नेपाली र अर्जुन पोखरेल, टुङ्नामा छेवाङ्ग तेन्जिङ लामा र प्रभात लामा, रिदम गितारमा देव राई, तालवादनको संयोजन भरत बुढाथोकी, ताल वादनमा अनिल थापा र षोषण घर्ती मगर, सोलो भ्वाइलिनमा मनोहर सुनाम लगायतको समूह रहेको थियो । कोरस गायनमा भने रुपक चौधरी र विनुसा राई रहेका थिए ।
कार्यक्रमको पहिलो चरणमा मौलिक ताल वादन गरिएको थियो । त्यस्तै जनकविकेशरी धर्मराज थापाप्रति सम्मान अर्पण गर्दै हरियो डाँडामाथि हलो जोत्ने साथी गीतमा धून प्रस्तुत गरिएको थियो । त्यस्तै मैथली लोक भाका छठ पर्व र गण्डकीको मौलिक भाका सालैजोको धून प्रस्तुत गरिएको थियो । त्यस्तै दोस्रो चरणमा गण्कीका स्रष्टा प्रविन गुरुङको सिर्जना फूल मायामा नभूल, थकाली जातीहरुको लोकलय ढोङ्टी भाका, सदूरपश्चिमको लोकलय छलिया भाका, किराँती लोकलय साकेला भाका र गन्धर्वहरुको लोकभाका दन्तैमा नानी सक्यौं नानी’ जस्ता धूनहरु प्रस्तुत गरिएको थियो ।
त्यसैगरी तेस्रो चरणमा नेवारी लोकभाका फागु पर्व, तामाङ लोकलय सेलो भाका, अग्रज स्रष्टा झलकमान गन्धर्वको सिर्जना अल्लारे नानी केसी र कर्णाली प्रदेशको लोकलय टप्पा भाका प्रस्तुत गरिएको थियो ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बेखर्चीको सभाध्यक्षमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कार्यक्रमको महत्वलाई रेखाङ्कित गर्दै गण्डकीको सांस्कृतिक धरोहर जगेर्ना गर्न यस्ता कार्यक्रमले खेल्ने भूमिकाको प्रशंसा गरे । त्यस्तै प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र पोखरा साङ्गीतिक कलाकार सङ्घ नेपालका अध्यक्ष हर्कराज गुरुङले कार्यक्रम सम्पन्न पार्न महत्वपूर्ण भूमिका खेल्ने सबैलाई धन्यवाद तथा आभार प्रकट गरेका थिए ।