
काठमाडौं । संविधान दिवसका अवसरमा विभिन्न व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषित गरेको छ । जसअनुसार नेपाली सांगीतिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरलाई पनि मानपदवी, अलंकार र पदक प्रदान गरिने भएको हो । अग्रज संगीतसाधक जगतमर्दन थापा र बरिष्ठ संगीतकार बुलु मुकारुङलार्ई ‘सुप्रवल जनसेवाश्री तृतिय’ प्रदान गरिएको छ ।
त्यस्तै कलाकार विल्सन बिक्रम राई कीर्तिमय राष्ट्रदिप चतुर्थ द्वारा विभुषित गरिने भएको छ । जनसेवा श्री चतुर्थ पाउने अन्य कलाकारहरुमा संगीतकार सुरेन्द्र गोपाल श्रेष्ठ, लोक गायिका देबिमाया थापा गुरुङ (माया गुरुङ), संगीतकार नरेन्द्र बहादुर खड्का क्षत्री, कलाकार उत्तम केसी, तबलाबादक सरिता मिश्र, चलचित्रकर्मी मञ्जुकुमार श्रेष्ठ लगायत छन् । त्यस्तै संगीतकार टीका भण्डारीलाई भने रेडियो नेपालका उपनिर्देशक नवौं तहमार्फत कीर्तिमय राष्ट्रदीप चतुर्थद्वारा विभुषित गरिएको छ ।
यस्तै लोकप्रिय गायक गायक कृष्ण काफ्ले, गीतकार झुमा लिम्बु, गायिका सरस्वती खत्रलाई जनसेवा श्री पञ्चम प्रदान गरिएको छ ।
यस वर्षको सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट भने प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई विभूषित गरिएको छ ।
यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र दुई जना सन्चारकर्मीसमेत रहेका छन् ।
संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो प्रदान गरिन्छ ।
कोभिड–१९ महामारीका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महानुभावलाई समेत समेट्नुपर्ने भएकाले ५९४ जनाको नामावली विभूषण, अलंकार र पदक पाउनेहरुको सूचीमा रहेको बताइएको छ ।