अमेरिकन आइडलको टप २० मा पर्न सफल भए दिवेस पोखरेल

म्यूजिक खबर
प्रकाशित: २५ चैत्र २०७६, मंगलवार
Dibesh Pokharel_ Arthur Gunn

एजेन्सी । नेपाली मूलका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणको शीर्ष २० मा पुग्न सफल भएका छन् । अमेरिकन आइडलले सोमबार राती प्रशारण आफ्नो कार्यक्रममार्फत् शीर्ष २० प्रतिस्पर्धीको नाम सार्वजनिक गरेको हो । २१ वर्षे दिवेश आर्थर गन नामबाट पनि परिचित छन् ।
अमेरिकन आइडलको शीर्ष २० प्रतिस्पर्धी घोषणा गर्नुअघि निर्णायक मण्डलमध्येका एक लियोनेल रिचीले उनलाई आफ्ना सबै प्रतिस्पर्धीमध्ये सबैभन्दा अद्वितीय क्षमता भएको प्रतिस्पर्धीको रुपमा लिएको बताएका थिए ।

दिवेशको प्रस्तुती हेर्न उनको सपरिवार अमेरिकन आइडलको स्टेजमा पुगेको थियो । प्रस्तुती दिनुअघि उनले आफ्नो परिवारलाई धन्यवाद दिए । कार्यक्रममा उनले बब मार्लीको ‘इज दिस लभ’ बोलको गीतमा आफ्नो प्रस्तुती दिएका थिए ।

दिवेसले प्रस्तुती दिनै लाग्दा निर्णायक केटी पेरीले भनिन्, ‘ऊ विशुद्ध प्रतिभाको धनी हो ।’ दिवेश शीर्ष २० मा परेको जानकारी दिँदै गर्दा निर्णायक लियोनेल रिचीले यो सूची तयार पार्नु आफैंमा निकै गाह्रो भएपनि उनलाई छान्नु भने निकै सजिलो भएको बताएका थिए ।
आफू अमेरिकन आइडलको शीर्ष २० मा छानिँदा उत्कृष्ट महसुस भएको दिवेशले बताए ।

यद्यपि, शीर्ष २० प्रतिस्पर्धी घोषित गरेपछि अमेरिकन आइडलले आफ्नो कार्यक्रमको निर्माण केही समयका लागि रोकेको छ । अमेरिका लगायत विश्वभरी कोरोनाभाइरसको संक्रमण व्यापक फैलिएपछि यो रोकिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु