सुमन पण्डित
अशोक कुमार राई, सिद्धहस्त संगीतकार, संगीत संयोजक एवं गायक हुन् । आधुनिक तथा पूर्वेली लोकभाकालाई प्राथमिकतामा राखेर सांगीतिक क्षेत्रमा अभ्यस्त रहेका संगीतकार हुन् । त्यसो त उनी गिटार, किवोर्ड हारमोर्नियम जस्ता बाजाहरु पनि बजाउने काम गर्दै आएका छन् । गीत रेकर्डिङका हिसाबले २०४७ सालदेखि निरन्तर सक्रिय रहँदै आएका अशोक राईले संगीतमै जीवन समर्पण गरिसकेका छन् । उनको संगीत सिर्जनामा करिब १ हजारभन्दा माथि गीत रेकर्ड भइसकेका छन् भने उहाँको संगीत संयोजनमा रहेका ४ हजार भन्दा माथि गीत रेकर्ड गरिएका छन् । २०५३ सालदेखि संगीत संयोजकको रुपमा सक्रिय रहँदै आएका उनले ३ सय भन्दा बढी स्टेज प्रस्तुति दिइसकेका छन् ।
हाङपाङ –७ ताप्लेजुङमा बुबा गणेश कुमार राई र माता विद्यादेवी राईको कोखबाट २०२७ सालमा जन्मिनुभएका संगीतकार राइले ललितकला क्याम्पसबाट संगीतको शिक्षा लिएका हुन् । संगीतमा पारङ्गत भइसकेपछि आफूले सिकेका संगीतको सीप अरुलाई पनि सिकाउँदै आएका उनले जीवनमा संघर्षको पाठ राम्रोसँग सिकेका छन् । निरन्तर संगीतमा सक्रिय रहँदै आएका उनले जीवनको आरोह अवरोहमा पनि संगीतभन्दा अरु सोचेका छैनन् । संगीतबाट नै जीवनलाई सफल मोडमा लैजान सकिन्छ, नाम र दाम संगीतभित्र नै छ भन्ने महसुस उनले गरिसकेका छन् ।
समाज परिवर्तनका लागि संगीत मूल नारा लिएर स्थापना भएको ‘अन्तरा सांगीतिक समूह’को संस्थापक समेत हुन् । अन्तरा समूहबाट उनले विभिन्न ठाउँमा कन्सर्ट गर्दै आएका छन् । त्यस्तै संगीत संयोजकको भूमिकामा विभिन्न एकल साँझ, कन्सर्टहरु गर्दै आएका छन् । गीतसंगीतको क्षेत्रबाट जिम्मेवारी बहन गर्दै गायक तथा संगीतकार अशोक कुमार राईले विभिन्न १५ वटा संघसंस्थामा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको २०७१ मा प्राज्ञसभा सदस्य हुँदै भने २०७५ मा प्राज्ञ परिषद सदस्य एवं संगीत विभाग प्रमुख भएर देशभित्रका विभिन्न जिल्लाहरुमा पुगेर मौलिक बाजा र कला संस्कृतिको अध्ययन, अनुसन्धान र अवलोकन गरी संग्रहित एवं संरक्षण गर्ने काममा गरेको अनुभव उनीसँग छ । संगीत विभाग प्रमुख हुँदाका बखत उनले गण्डकी, कोशी, सुदूरपश्चिम क्षेत्रका मौलिक कला संस्कृतिको खोज, अनुसन्धान गरी प्रज्ञा प्रतिष्ठानमा अर्काइभ गर्न सफल भएका छन् । प्रज्ञा प्रतिष्ठानको उनको कार्यकाल सफल र प्रसंसायोग्य बनेको छ । उनको पहलमा भएको ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ एउटा ऐतिहासिक कार्यक्रमका रुपमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न भएको थियो । त्यस्तै गण्डकी प्रदेशभित्रका वाद्यवादकहरुको प्रस्तुति ‘गण्डकीका धूनहरु’ पनि एउटा सफल कार्यक्रमको रुपमा लिइएको थियो ।
त्यसैगरी धनगढीमा सम्पन्न भएको ‘सातै प्रदेश स्तरीय संगीत महोत्सव २०७६’ नेपाली संगीतको लागि र प्रज्ञा प्रतिष्ठान गठन भइसकेपछि उल्लेख्य कामका रुपमा लिइएको कार्यक्रम थियो । प्रदेश नं १ मा भएको बहुभाषिक संगीत उत्सव, सांस्कृतिक संस्थानको सहकार्यमा भएको सारङ्गीमा देश जस्ता महत्वपूर्ण कार्यहरु उनको नेतृत्वमा सम्पन्न भएका कामहरु हुन् । त्यस्तै प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा बजारमा आएको संगीत सम्बन्धी पाठ्यक्रम तयार भएको छ । जसको नेतृत्वमा अशोक राईले गरेका थिए । लोकबाजासम्बन्धी अहिलेसम्म कुनै आधिकारिक पाठ्यसामग्री तयार हुन सकेका थिएनन् । अब भने यस्तो पाठ्यसामग्री नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्गीत विभागले मौलिक बाजासम्बन्धी यस्तो पाठ्य पुस्तक तयार पार्न सफल भएको थियो ।
नेपालमा परम्परागत मौलिक लोकबाजाप्रति युवापुस्ताको अभिरुचि बढिरहेको तर यससम्बन्धी सैद्धान्तिक, परिचायत्मक र व्यावहारिक ज्ञान दिने आधिकारिक पाठ्य सामग्रीको प्रकाशन भएको छ । जसमा “टुङ्ना, सारङ्गी, सहनाई, खैजँडी, मादल, च्याबु्रङ, डम्फु, ढोल, मुरली, बाँसुरी, मुर्चुङ, बिनायोजस्ता मौलिक र परम्परागत नेपाली लोकबाजाहरूसम्बन्धी सरल किसिमले सैद्धान्तिक, परिचायक र व्यावहारिक ज्ञानलाई समावेश गरिएको छ । सो पाठ्य पुस्तक विद्यालयका आधारभूत तहदेखि उच्च माध्यमिक तहसम्मका विद्यार्थीका साथै बाजाका आम प्रयोक्ताका लागि लक्षित रहेको संगीतकार राईले बताए । पुस्तकले नेपालमा लोकबाजाका दक्ष वाद्यवादक उत्पादन गर्न, लोकबाजाहरूको आर्केष्टा तयार पार्न र देशमा रोजगारी सिर्जना गर्नमा समेत टेवा पु¥याउने उनको भनाइ छ ।
संगीतकार अशोक कुमार राई संगीतको अभिलेखीकरणमा एउटा सशक्त योद्धा हुन् । राजनीतिक नियुक्तिबाट नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नेतृत्व गर्न गएकाहरु जाने र आउने समय बिताउने मात्र हुन् भन्ने आरोप लागिरहेका बेला त्यहाँ गएर काम गर्न सकिन्छ भन्ने उदाहरण बनेका थिए अशोक । तर उनी कहिल्यै आफूले काम गरेका भन्न चाहेनन् अरु उल्टै निःशुल्क रुपमा नेपाली मौलिक बाजा र संगीतको विषयमा अध्ययन अनुसन्धान गर्न पाएको बताए । प्रतिष्ठानले दिएको जिम्मेवारीमा आफूले त्यो मौका पाएको बताउँदै अभिलेखीकरणको कार्यमा आफूलाई समर्पित गरेको बताए । झण्डा लिएर जानुभन्दा पनि एजेण्ड लिएर गएमा हरेक ठाउँमा सफल भइने उनले बताए ।
संगीतकार राईले २०८१ सालको संविधान दिवस ‘नेशनल डे’को अवसरमा नेशनल डे कन्सर्ट गर्ने जिम्मेवारी पाए र सफलतापूर्व सम्पन्न पनि पारे । संविधान दिवस घोषणा भएपछि अहिलेसम्मकै पहिलो र बृहत कार्यक्रमका रुपमा सम्पन्न भएको कार्यक्रम थियो । नेपाल सरकारले दिएको जिम्मेवारी पूरा गर्न पाएकोमा आफूले सोचेको नेशनल कन्सर्टको सपना पनि पूरा भएको बताउँछन् । उनी राष्ट्रि«य जनसांस्कृतिक महासंघका महासचिव हुन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानको सचिवालय सदस्य समेत रहेर राजनीतिक पृष्ठभूमिबाट जिम्मेवारी निभाउँदै आएका पनि छन् ।
गायक तथा संगीतकार राईको संगीतमा १७ वटा एल्बम प्रकाशित भएका छन् । जसमा बतासेको धुम्तीमा (२०५५), मन पो दुख्योकी (पुर्वेली लोक गीत संग्रह २०५५), रहर (२०५६), यात्रा आरम्भ (२०६०), आयाम (२०६२), देउसी भैलो गीत (२०६४), यो जिन्दगी (२०६५), परिवर्तनका स्वरहरु (२०६५), आमा (२०६८), अनौठो यात्रा (२०६८), समानताका स्वरहरु (२०६८), साम्लो (लिम्बुभाषामा, २०६८), अलिखित हस्ताक्षर (२०७०), देउसी भैलो गीत (२०७१), पाथीभरा माता भजन (२०७१), भूकम्प पछि जनजागरण गीतहरु (२०७२), सेवारो (लिम्बु भाषा) २०७५ लगायत रहेका छन् । त्यस्तै ९ वटा चलचित्रमा उहाँले संगीत भर्नुभएको छ । जसमा मासेमी (लिम्बु भाषामा, २०५५), शस्त्र (२०६२), छिमेकी (२०६४), चेसुङ (२०६५), जवाफ (२०६५), पल्टन (२०६८), केसाङला (लिम्बु भाषामा) (२०७५), सुगुप (२०७८), लोजिमा रहेका छन् । आफूले सिकेको शिक्षालाई अरुलाई पनि प्रशिक्षित गराउँदै आएका छन् । उनले आधा दर्जनभन्दा बढी संस्थाहरुमा संलग्न रहेर संगीत शिक्षणको काम पनि गर्दै आएका छन् । नवज्योती वोर्डिङ स्कुल, ताप्लेजुङ (२०४४)बाट संगीत शिक्षणको काम सुरु गरेका थिए । त्यसपछि निरन्तर रोजवर्ड वोर्डिङ स्कुल, घट्टेकुलो (२०४९), बालसेवा माध्यमिक विद्यालय (२०५०), काडमाडौं इन्टरनेशनल वोर्डिङ स्कुल, मित्रपार्क (२०५०), भानुभक्त मेमोरियल, पानीपोखरी (२०५१), कमल नेत्र छुनामुना वोर्डिङ स्कुल, भिमसेन गोला (२०५१) संगीत शिक्षण गरेका छन् । त्यसपछि आफ्नै सक्रियतामा क्रियटिभ डिजिटल रेकर्डिङ स्टुडियो, बानेश्वर (२०५३–२०६३) संचालन गरेका थिए ।
त्यसैगरी गीति नाटक संगीत निर्देशन तथा संयोजन गरेका गीति नाटक ‘आशा’ः (२०६०) लेखक, शंकर देवकोटा, गीति नाटक ‘अम्लारीफुङ’ः –लिम्बु भाषामा, २०६३) लेखक, यासेली योङहाङ, गीति नाटक ‘नेपाल गाथा’ः (२०७१) लेखक, प्रदीप ज्ञवाली रहेका छन् । उनले संगीत कन्डक्टर भएर विभिन्न एक दर्जन एकल साँझहरु सम्पन्न भइसकेका छन् । गीतसंगीत क्षेत्रमा लागेर एक दर्जनभन्दा बढी पुरस्कार, सम्मान र अवार्डहरु प्राप्त गरिसकेका छन् ।