प्रतिभा खोज्न ‘अनलाइन नाटक प्रतियोगिता’

म्यूजिक खबर
प्रकाशित: १५ पुष २०७७, बुधबार
Ashok Pyasi Rai

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ‘अनलाइन एकल नाटक प्रतियोगिता’ आयोजना गर्ने भएको छ । ‘अब घरघरमा रंगमञ्च’ भन्ने अवधारणा आत्मासाथ गर्दै देश विदेशका प्रतिभावान कलाकारको खोजी गर्न प्रतियोगिता आयोजना गरिएको संस्थानले जनाएको छ ।
प्रतियोगितामा नेपाली वा मातृभाषा प्रयोग गर्न सकिने, नाटकको अवधी १५ देखी २० मिनेटको हुनुपर्ने बताइएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले नाटकको पाण्डुलिपिसहित सोहीअनुसार नाटकको भिडियो खिचेर २०७७ माघ मसान्तभित्र पठाउनु पर्ने, कलाकारको एकल प्रस्तुति हुनु पर्ने, नाटकको भिडियो एक सर्टको मात्र हुनु पर्ने प्रावधान राखिएको छ ।
देशको सार्वभौम अखण्डतामाथि आँच आउने, सामाजिक एवं धार्मिक सद्भाव खल्बलिने, कोही व्यक्ति वा समुदायको मानमर्दन हुने, मित्रराष्ट्रहरूप्रति नकारात्मक टिप्पणी गर्ने, राजनीतिक दल वा विचार झल्कने विषयजस्ता मान्य हुने छैन । यस्ता नाटकलाई प्रतियोगितामा समावेश गरिने छैन ।

प्रतियोगिताका लागि प्राप्त नाटकमध्ये पहिलो चरणमा निर्णायकले उत्कृष्ट २५ नाटक छनोट गर्ने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले बताए । ‘उत्कृष्ट २५ नाटकलाई सांस्कृतिक संस्थानको सबै अनलाइन पोर्टलबाट प्रसारण गरिनेछ । प्रसारण भएको एक महिनाको अवधि अनलाइन अडियन्स जजिङका रूपमा रहनेछ’, महाप्रबन्धक राईले भने, ‘यस अवधिमा सर्वाधिक लाइक र सेयर भएका नाटकलाई निर्णायक मण्डलले बढीमा थप १५ अंकसम्म र छनोट चरणमा प्राप्त १०० मध्ये प्राप्त गरेको अंक मिलाई उत्कृष्ट ५ नाटक छनोट हुने छन ।’
उत्कृष्ट ५ नाटकलाई सांस्कृतिक संस्थानको मञ्चमारंगमञ्चीय वातावरणबीच लाइभ प्रस्तुतिमार्फत विजेता छनोट गरिनेछ । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैया पुरस्कार एवं दुई जनालाई सान्त्वना पुरस्कार स्वरुप १५, १५ पाउने छन । उत्कृष्ट ५ मा परेका राजधानी बाहिरका प्रतियोगीलाई काठमाडौं आउने, जाने, बस्ने, खाने सबै व्यवस्था सांस्कृतिक संस्थानले गर्नेछ । तर देश बाहिर रहेका कुनै प्रतियोगी छनोट भएमा नेपाल आउने जाने खर्च आफैंले व्यहोर्नु पर्नेछ । बस्ने, खाने व्यवस्था सांस्कृतिक संस्थानले गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु