डा. गिरीको शब्द, शंकरको सङ्गीत र अस्मिताको स्वरमा ‘कन्फ्युज छु’

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७७, शुक्रबार

काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका गीतकार डा. चन्द्र गिरीको शब्द रचना, शंकर थापा ‘स्माइल’ को सङ्गीत तथा अस्मिता अधिकारीको स्वर रहेको गीत ‘कन्फ्युज छु’ को भिडियो रिलिज भएको छ ।

गम्भीर बिष्टको निर्देशन र सुबोल थापाको कोरियोग्राफीमा छैमले रिसोर्टमा केहीदिन अघि मात्र भिडियोको छायाङ्कन भएको थियो,‌ जसमा रेश्मा घिमिरे, आर्यन खरेल, काजी दर्शन र डिमोन क्षेत्रीले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।

गीतको भाव अनुसार फरक फरक आर्थिक हैसियत र फरक रुप रङ्गका केटाहरुले एकैचोटी मन पराएपछि युवती कसलाई रोज्ने भन्ने कन्फ्युजनमा भएको कुरालाई मनोरञ्जक ढङ्गमा भिडियोमा उतारिएको छ ।

नवराज उप्रेतीको सिनेम्याटोग्राफी रहेको यस भिडियोको सम्पादन तथा कलर करेक्शन नवीन निरौलाले गरेका हुन् ।

यस भिडियोका तीनैजना पुरुष मोडलहरुको टिकटक मन पराएर निर्देशक विष्टले उनीहरुको खोजी गरी मोडलिङका लागि अफर गरेका थिए ।

तिनैजनाले आफूले अपेक्षा गरे अनुसार नै अनुभवी र स्थापित कलाकारले झैं अभिनय गरेको कुरा विष्टले बताए ।

‘बिबाह गर्ने उमेर पुगिसकेपछि धेरैजसो युवतीहरुको जीवनमा स्वाभाविक रुपमा उत्पन्न हुने कन्फ्युजन बोकेको रियालिटी बेश गीत भएकोले अत्यन्तै मेहेनत गरी अलिअलि चञ्चलता झल्कनेगरि मोर्डन भावमा सङ्गीत गरेको छु । भिडियो आएपछि दर्शक स्रोतालाई मन पर्ने छ भन्ने आशा छ’ सङ्गीतकार शंकर थापा ‘स्माइल’ भन्छन् ।

फिल स्टुडियोमा प्राविधिक कुमार केसीले रेकर्ड गरेको यो गीतको म्युजिक एरेन्ज उदयराज पौडेलले र मिक्सिङ/माष्टरिङ अशोक महर्जनले गरेका हुन् ।

औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेको छोटो समयमै चर्चामा आएका गीतकार डा. चन्द्र गिरीका लगभग एक दर्जन गीत रेकर्ड भईसकेका छन् ।

डा. गिरी वरिष्ठ वातावरणविद् हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु