प्रहरीले ‘तँ’ भनेपछि आस्था राउत आक्रोशित (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २ माघ २०७६, बिहीबार
Astha Raut

काठमाडौं । गायिका आस्था राउत विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै आक्रोशित बनेकी छन् । उनले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीप्रति आक्रोश पोखेको भिडियो यतिखेर चर्चा पाइरहेको छ । हिजो बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उनले आरोप लगाएकी छन् । भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गरेकी थिइन्। उनले भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’ जस्ता अपशब्द प्रयोग गरेकी छन्।

पश्चिम सिक्कीमको रिम्बी माघे मेलामा प्रस्तुतीका लागि आस्था सिक्किम जाँदै थिइन्। चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित भएकी हुन् । उनले भनेकी छिन्– ‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले, प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, …..दर्शन कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

उनले, प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने बताएकी छिन् । उनले भनिन्–‘प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’ आक्रोशित शैलीमा उनले भनेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु