‘सानो मन’को कन्सर्टमा रमाए दर्शक

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७६, आईतवार

काठमाण्डौ। असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सानो मन’ चर्चा फिल्मवृतमा राम्रै छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेमकथा वाचन गर्ने फिल्मको टीमले दर्शकमाझ जानकारी पुर्‍याउन हरेक किसिमको प्रचार शैली अपनाइरहेको छ । यसबीच, शुक्रबार दिउँसो निर्माण टीमले राजधानीको सिभिल महलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको छ ।
कार्यक्रममा फिल्मका प्रमुख कलाकारहरु आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङलगायत उपस्थिति भएका थिए । भने, फिल्मकोे शिर्ष गीतमा आवाज भरेका गायक रोहित जोन क्षेत्रीको पनि उपस्थिति रहेको थियो । फिल्मको जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा आयुष्मानलाई भेट्न चाहने युवती फ्यानहरु धेरै देखिएका थिए ।
उनले पनि आफ्ना क्रेजी फ्यानसँँग सेल्फी खिच्दै फिल्मको गीत ‘रानु कम्मर’ मा नृत्य गरे । आयुष्मानलाई शिल्पा र सक्षमले पनि साथ दिए । फिल्मको बारेमा सोधिएको केही प्रश्नको सही उत्तर दिनेलाई कलाकारहरुले ‘सानो मन’ को टिकट समेत प्रदान गरेका थिए । महलमा विभिन्न उद्देश्यले पुगेका दर्शकहरु आयुष्मान र शिल्पालाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दुईसँग सेल्फी खिच्नेहरुको भीड पनि ठूलै लागेको थियो ।
उक्त कार्यक्रममा रमाइलो त तब भयो जब आयुष्मानले शिल्पा र सक्षमलाई दर्शकमाझ चिनाउँदै फिल्ममा निभाएको भूमिकाबारे जानकारी गराए । उनले आफूलाई भने भिन्न ढंगले चिनाए । उनलाई नरुचाउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन् । उनले आफूमाथि मजाक गर्नेलाई गतिलो झटारो दिँदै ‘म चाहिँ ‘चुसेको आँप’ भन्दै परिचय गराए । उनको यो कुराले दर्शकमा हाँसोको फोहोरा छुटेको थियो।
चलचित्रको नाम ‘सानो मन’ भए पनि ठूलो मन भएका व्यक्तिहरुले बनाएको आयुष्मानको भनाई छ । उनी फिल्मले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । अभिनेत्री शिल्पाले चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरिन् । फिल्ममा नेगेटिभ रोलमा रहेका सक्षमले आफ्नो डेब्यू फिल्म भए पनि राम्रो गर्ने कोशिश गरेको बताए । कार्यक्रममा गायक रोहितले फिल्मको शिर्ष गीत गाएर सुनाएका थिए ।
निर्देशक गुरुङले ‘सानो मन’ को विषयमा अनविज्ञ दर्शकलाई जानकारी दिने उद्देश्यले प्रोमोसनल कन्सर्टको आयोजना गरेको बताए । राजधानीका केएल टावर, विजी महल, लबिम महल, सिटी सेन्टरमा पनि फिल्मको जानकारी गराउन सांगीतिक कन्सर्ट गरिने उनको भनाई छ । यो फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
ओ ,पि,जी, फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर फिल्मको सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु