धम्कीको बारेमा बद्री पंगेनी अनभिज्ञ, झुटो उजुरी दिनेलाई सजायको माग

म्यूजिक खबर
प्रकाशित: १ श्रावण २०७६, बुधबार

‘बद्री पंगेनीले दिए ज्यान मार्ने धम्की’ शिर्षकमा आज बिहानै देखि सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचार प्रति लोक गायक बद्री पंगेनी ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । निरमाया रोधी घरको आन्तरिक साजसज्जा र सजावट सँग सम्बन्धित कारोबारमा आफ्नो नाम समेत जोडेर गरिएको यौटा उजुरी प्रति बद्री पंगेनीले घोर आपत्ति जनाएका हुन ।

आपसी कारोबारलाई लिखित सहमतिको आधारमा टुङ्गोमा पुर्याउनुको साटो सस्तो लोकप्रियताको लागि मेरो नामको जुन दुरुपयोग भएको छ त्यस प्रति म घोर आपत्ति जनाउँदछु । यदि उजुरी कर्ता व्यक्तिले मैले धम्की दिएको प्रमाणित गर्न सकेमा म जुनसुकै सजाय भोग्न तयार छु तर यदि यो कपोलकल्पित र निराधार आरोप हो भन्ने प्रमाणित भएमा मलाई परेको आघातको भागीदार उजुरी कर्ता हुने कि नहुने ? भन्ने प्रश्न गर्दै यदि आफूले धम्की दिएको भए झुन्डिएर मर्न तयार रहेको कुरा गायक पंगेनीले बताए ।

दोहोरो प्रमाणीकरण नगरी समाचार छाप्ने पत्रकार मित्रहरूलाई समेत म आग्रह गर्न चाहन्छु । आफूलाई थाहै नभएको विषयमा मैले कुनै ठोस जवाफ दिन सक्ने अवस्था रहँदैन । म आफै सत्य तथ्य के हो पत्ता लगाउँदै छु । बुझ्दै छु । निरमाया दोहोरीको निर्णायक व्यवस्थापन आफूले नहेरेको, विगत लामी समय देखि आफू निष्क्रिय साझेदार रहँदै आएको कारण त्यो कारोबार प्रति आफूलाई कुनै जानकारी समेत नरहेको कारण धम्की दिने जस्तो गम्भीर काम आफू बाट हुने सम्भावनै नरहेको कुरा गायक बद्री पंगेनी ले बताए ।

अब उजुरी कर्ता लाई म यो चुनौती पनि थप्न चाहन्छु कि कहाँ कुन अवस्थामा कहिले म सँग प्रत्यक्ष कारोबार गर्नुभयो ? कहिले भेट्नुभयो ? र कहिले मैले तपाईँलाई धम्की दिएँ ? यो कुरा प्रमाणित गर्नु तपाइको दायित्व हो यदि गल्ती गर्नुभएको छ भने स्विकार्नुस् र जताको विवाद हो उतै मिलाउनुस् ।

अथवा अन्य कुनै प्रतिसोधको कारणले त्यस्तो उजुरी गर्नुभएको हो भनेपनि अथवा दोहोरी सँगको कारोबारमा विवाद भएकै हो भनेपनि मेरो नाम मुछिनु आवश्यक छैन । कारोबार भएको छ भने त्यसको पर्छ्यौट गर्नुपर्छ तर जहाँ जो सँग गरिएको हो उसैको नाम आओस् अनर्गल मा मेरो नाम नमुछियोस भन्दै गायक पंगेनीले आफूबाट त्यस्तो गम्भीर अपराध हुन नसक्ने बताए ।

तमाम आफूलाई माया गर्ने दर्शक श्रोता लाई समेत भ्रम मा नपर्न अनुरोध गर्दै पंगेनीले आफू यो कारोबार बाट बाहिरै रहेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु