महानगरका हलमा भारतीय चलचित्र प्रदर्शन रोक्ने बालेनको घोषणा, सञ्चार मन्त्रालयको विज्ञप्तिबारे आलोचना

म्यूजिक खबर
प्रकाशित: ३ असार २०८०, आईतवार
Balen Shah_ Aadipurush

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भोलि सोमबारदेखि महानगरभित्रका फिल्म हलमा भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाएका छन् । ‘आदिपुरुष’ नामक हिन्दी चलचित्रमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद हटाउन ३ दिन समय दिँदा पनि नहटाएको भन्दै बालेनले उक्त संवाद नहटाएसम्म सोमबारदेखि कुनै पनि भारतीय चलचित्र महानगरभित्रका हलहरुमा चल्न नदिने बताएका हुन् ।

मेयर शाहले आइतबार फेसबुकमा लेखेका छन्– ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो । त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको छ ।’
बालेनको सचिवालयका अनुसार नगर प्रहरीमार्फत काठमाडौं महानगरका ३२ वडाभित्र १७ वटा फिल्म हल सञ्चालकहरुलाई भारतीय फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको छ ।

आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । बरु उल्टै फिल्मका गीतकार तथा लेखक मनोज मुन्तशीरले सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको आपत्तिजनक अभिव्यक्ति दिएका कारण भारतीय चलचित्र प्रदर्शनमा महानगरले रोक लगाउनु परेको हो । बालेनले उक्त फिल्मबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको बताउँदै देशभरका सबै हल संचालकले राष्ट्रियताविरोधी विदेशी चलचित्रहरु रोक्नुपर्ने बताएका छन् ।
मेयर शाहले शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि पत्र पठाउँदै आदिपुरुषमा रहेको उक्त संवाद नसच्चाए नेपालभर भारतीय फिल्मको प्रदर्शन रोक्न आग्रह गरेका थिए । तर मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिले भने अपुष्ट सन्देश प्रवाह गरेको देखिएको छ । विज्ञप्तिअनुसार चलचित्र आदिपुरुषमा रहेको विवादित अंश ‘भारतीय छोरी’ ३१ गते नै हटाइ चलचित्र जाँचपास समितिबाट प्रदर्शन अनुमति लिइएको भनिएको छ । तर सो अंश नेपालका लागि मात्र हटाउने काम होइन त्यो शब्द, डायलग नै परिवर्तन गरी ‘नेपालको छोरी’ लेखिनुको सट्टा हटाउने मात्र भनिनुले सरकारको ध्यानाकर्षले आफैंमाथि औंला तेस्र्याएको देखिन्छ । सरकारको तर्फबाट भएको यो कमजोरीपनलाई लिएर यतिखेर चलचित्रकर्मी एवं नेपालीहरुले ‘पाङ न पुच्छरको विज्ञप्ति’ भनेका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष एवं नेपाल चलचित्र संघका पूर्वअध्यक्ष चलचित्र निर्माता प्रदीपकुमार उदयले बुटवलस्थित आफ्नो हल द्वारिकाउदय सिनेमाजबाट चल्दाचल्दैको ‘आदिपुरुष’ चलचित्र राष्ट्रियताविरोधी भएको भन्दै उतारेका छन् । उनले गत शुक्रबारदेखि नै आदिपुरुषभित्र समावेश रहेको सीता भारतकी छोरी’ भन्ने अंश नसच्याएसम्म भारतीय चलचित्र नचलाउने भन्दै आदिपुरुष हलबाट उतारेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु