• संगीतकारद्वय थापा र शर्माको घरमा लक्ष्मीको आगमन

    म्यूजिक खबर
    प्रकाशित: २५ चैत्र २०७६, मंगलवार

    काठमाडौं । नेपाली संगीत क्षेत्रका दुई लोकप्रिय संगीतकार वसन्त थापा र दिपक शर्मालाई पुत्रीलाभ भएको छ । संगीतकार थापालाई हिजो सोमबार र शर्मालाई अस्ति आइतबार घरमा लक्ष्मीको आगमन भएको थियो ।
    संगीतकार वसन्त थापाको छोरा प्रतिक जन्मेको १२ वर्षपछि उनीकी जीवनसंगीनी राधा मल्लले छोरीलाई जन्म दिएकी हुन् । लकडाउनको समयमा होम क्वारेन्टाइनको बेला घरमा लक्ष्मीको आगमन भएकोमा संगीतकार, गीतकार तथा गायक वसन्त थापाको खुशीको सीमा नै छैन । म्यूजिक खबरसँगको कुराकानीमा उनले भने घरमा लक्ष्मीको बास भएको छ, हामीले पनि लक्ष्मीकै आगमन होस् भन्ने सोचेका थियौं, सोचेको पूरा भयो । १२ वर्ष प्रतिक छोराको जन्म भएको र चैत २४ गते छोरीको जन्म भयो अब छोरीको नाम पनि ‘प’ बाट नै राख्ने सोचेका छौं, संगीतकार थापाले भने ।

    Basanta Thapa
    संगीतकार थापा मौलिक सिर्जनाका धनीका रुपमा नेपाली संगीत उद्योगमा परिचित छन् । पछिल्लो समय उनको सालको पात गीतले नेपाली लोक दोहोरीलाई क्षेत्रलाई नै शिखरमा पु¥याइदिएको छ । पूर्वदेखि पश्चिमसम्म हुने विभिन्न कार्यक्रमहरुमा बज्दै आएको हिन्दी गीतलाई विस्थापित गर्न सफल सालको पात, जाम सुस्तै, म त गाउँले ठिटो, माछा मिठो दरम खोलाको, बाग्लुङ बजारमा, चौतारीको वर, खेतमा बोकेझार लगायतका उनका सयौं गीत बजारमा आइसकेका छन् ।
    Dipak Sharma

    त्यसैगरी पछिल्लो समयका लोकप्रिय संगीतकार दिपक शर्मालाई पनि चैत २३ गते पहिलो सन्तानका रुपमा छोरीको जन्म भएको छ । उनकी धर्मपत्नी शान्ता अर्याल पनि गायिका एवं संगीतकार नै हुन् । विवाह भएको लामो समयपछि उनीहरुको पहिलो सन्तानका रुपमा लक्ष्मीको आगमन भएको हो । गत आइतबार राजधानीको हेम्स अस्पतालमा उनीहरुलाई पुत्रीलाभ भएको हो । पुत्रीलाभ भएपछि संगीतकार शर्मा एवं उनकी धर्मपत्नी अर्यालले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन् । संगीतकार शर्माले भने छोरीको नाम ‘मु’बाट राख्ने सोच गरेको बताएका छन् ।

    संगीतकार शर्माका छ्ट्टिएर तिमीसँग, देखन चम्पा, पहिलो नम्वरमा, पिरिम नलाउनी लगायत आधुनिक तथा चलचित्रका सयौं गीतहरु चर्चामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु