सदाबहार गीतका सारथी बी.बी. थापा

म्यूजिक खबर
प्रकाशित: ३० असार २०७६, सोमबार
Lyricist B.B. Thapa

सविता पोखरेल
म्यूजिकखबर/काठमाडौं

‘म तिम्रो सहर छोडी टाढा टाढा जाँदैछु,
तिमीसँग कहिल्यै नभेट्ने कसम खाँदैछु ।’

इतिहास बोकेको यो गीत नसुन्ने सायदै होलान् । अमर स्रष्टा नातिकाजी श्रेष्ठको सङ्गीत र प्रदीपराज पाण्डेको स्वरले सजिएको यो गीत सदाबहार बनेर जनजनको मनमा बस्न सफल भएको छ । ‘तिम्रो सहर’ एल्बममा समावेश रहेको यो गीत अहिले सबैको प्राथमिकतामा पर्ने गरेका छ ।

यसका गीतकार हुन् काठमाडौँको गागलफेदिमा जन्मिएका बीबी थापा अर्थात् बद्री बिक्रम थापा । घरका जेठा छोरा, उनी सहितका ८ जनालाई बुवाको नापी कार्यलयको जागिरले केही समय पाले अनि आफ्नै व्यवसाय सुरु भयो । बीबीले १३ वर्षमै एसएलसी दिए, त्यसपछि काठमाडौँ शहरमा क्याम्पसस्तरको अध्ययनका लागि आए । सानैमा एसएलसी दिएकोले क्याम्पस भर्ना हुँदा उमेर बढाउनु प¥यो । त्यो बेला उमेर बढाउनुको फाइदा जागिर खान पाउनु पनि थियो उनका लागि । उनले प्लस टू पढ्दा पढ्दै त्रिभुवन विश्वविद्यालयमा तीन वर्ष काम गरे र आरएनएसीमा जागिर खाए । बेलैमा सरकारी जागिरे भए । प्रविणता प्रमाणपत्र तहमा पत्रकारिता विषय लिए आरआर क्याम्स पढेका बीबीले स्नातक त्रिचन्द्र क्याम्पसबाट अर्थशास्त्र विषयमा गरेका थिए भने स्नातकोत्तर त्रिभूवन विश्वविद्यालयमा समाजशास्त्रमा गरेका हुन् ।

विसं ०४० बाट गीत लेखनमा सक्रिय रहँदै आएका उनलाई साङ्गीतिक आकाशमा उचाइ दिने र सर्वत्र चिनाउने काम भने २०४७ मा रेकर्ड भएको ‘तिम्रो शहर’ गीतले ग¥यो । तत्कालिन समय गीतकार थापा शाही नेपाल वायु सेवा निगममा जागिरे थिए । सानैदेखि लेखनतिर रुचि रहेका उनको सो समय सङ्गत पनि यस्तै साथीभाइसँग थियो ।

त्यसो त यो गीत अगाडि ०४४ तिर उनको ‘तमासा भएछु म मायाको बजारमा’ गीत चर्चामा थियो । विजय सिंह मुनालको सङ्गीत रहेको यो गीत रेडियो नेपालले बजाउँथ्यो । गीतको चर्चाले उनलाई एल्बम गर्न मन लाग्यो । साथीभाइले पनि यही सुझाए । त्यसकारण उनी ०४६ बाट एल्बमको तयारीतिर लागे ।

०००
२०४८ सालको कुरा हो, त्यतिबेला ८ बजेको समाचारपछि रेडियो नेपालमा आधुनिक गीत बज्थ्यो । एक रात प्रदीपराज पाण्डेको स्वरमा गीत बज्यो, ‘म तिम्रो शहर छोडि टाढा टाढा जाँदै छु, तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु ।’ भोलिपल्ट बजारभरि सोधिखोजी भयो यो गीत कसले गायो, लेख्ने मान्छे को हो ? गीतका रचनाकार बीबी थापा गीत बज्ने दिन राति ९ बजेको फ्लाइटबाट जापान उडिसकेका थिए । समस्त जगत जसले यो गीतको अस्तित्व खोज्यो उनीहरुले अनुमान लगाए, पक्कै रचनाकारले आफ्नै भोगाई लेखे । शायद त्यो उनकै वास्तविक पीडा थियो र त असरल्ल पोखियो सबको तन मनसम्म पुग्ने गरी । बीबी भन्छन्, ‘त्यो मेरा लागि एक किसिमको च्यालेन्ज नै थियो । मैलै मलाई केहीको लागि योग्य बनाउनु थियो ।’
०००
एउटा अजम्बरी गीत ‘म यो सहर छोडी टाढा टाढा जाँदैछु’ जब गीतको शब्द पूरा भयो । सङ्गीतका लागि तत्कालै नातिकाजीलाई दिए । नातिकाजी उनका सङ्गीत गुरु पनि थिए । नातिकाजीले तयार गरेको मीठो सङ्गीतमा यो गीत प्रदीपराज पाण्डेले गाएका थिए । प्रेममा धोका खाएका प्रेमी सहर छोड्दै गरेको गीतले आभास दिन्छ । ‘गीत सुन्ने सबैले सोच्ने विषय बन्छ’ बीबीले भने ‘धेरैले यो गीत आफ्नै कथामा लेख्छन् त्यो आरोप मलाई पनि लाग्यो ।’

‘प्रेम गर्नुपर्छ । प्रेममा खटपट पनि हुन्छ । सफल वा असफलता मिल्न सक्छ । प्रेम त प्रेम हुन्छ’ भन्ने भावनमा मनमा उब्जिएको क्षण उनले यो गीत कोरेका थिए । ‘लेख्दै जाँदा मनमा प्रेमी प्रेमीको बीच उब्जिने टसनले सहर छोडेर जाने प्रसङ्ग आएको हो’, गीत सिर्जनाको क्षणमा उनी पुगे ।

भोगाइमा, देखाइ र रोजाइको आधारमा गीत सिर्जना गर्ने बीबीको यो गीत आफ्नै भोगाइ भने पक्कै होइन । किनभने उनी त्यति बेला भर्खर २५ वर्षका थिए । जवानीको जोस थियो । जवानीको जोसमा च्यालेन्जका कुरा त आउने भयो नै । त्यही च्यालेन्ज थियो यो गीत । उनले भने ‘म एक प्रेमी पनि हुनसक्छु । अथवा मलाई कसैले प्रेम गरेको हुनसक्छ ।’ भन्ने माहोलको कल्पनाले गीत सिर्जना भयो ।’ गीत जब बाहिर आयो । आफ्नो जीवनकथासँग मिलेको धेरैले उनलाई सुनाए । यो गीत नयाँ शैलीमा पनि थियो । प्रेम वियोगमा थियो । त्यसैले उनलाई घायल प्रेमी भनेर भन्ने गर्थे । कतिले त प्रेमिकासँग ट्रयाजेटी परेर लेखेको हो ? प्रश्न गरे । ‘होइन किनभन्नु । मैले आफ्नो भोगाइ लेखेको हो’, उनी ती दिनतिर फर्किए’ उक्त समय मेरो माहोल पनि यस्तै थियो । मलाई सहर नै छाड्ने च्यालेन्ज भने थिएन । तर गीतमा चाहिँ च्यालेन्ज थियो ।’ समयले उनलाई शहर छाड्न बाध्य पा¥यो ।

०००
गीतिलेखनको यात्राले तीन दशक काटिसक्यो । लेख्न चाँही स्कूलको समयदेखि लेख्ने गर्थे कलेजमा आएपछि त्यसले निरन्तरता पायो । कलेजको समयमा उनको संगत नै यस्तै भयो । आरआर कलेज पढ्दा नायक भुवन केसी उनको साथी थिए, भुवनले गाएको गीत हिट भइसकेको थियो । वरिष्ठ गायक दिवाकर खड्का कार्यालयका साथी थिए । उनले गीत रेकर्ड गर्न हौसाए । २०४१ सालमा राम थापाको संगीतमा दिवाकरको स्वरमा बीबीले लेखिएको पाँचाँै तर रेकर्ड भएको पहिलो ‘बत्ति बाली कहाँ खोजौँ म तिमी हरायौँ’ रेकर्ड भयो । यसले उनलाई सकारात्कम उर्जा दियो । त्यसपछि उनको गीति लेखनको यात्राले छलाङ मार्न थाल्यो । ‘तमासा भएछु म मायाको बजारमा’, म तिम्रो शहर छोडि टाढा हुँदै एक पछि अर्को गीत रेकर्ड भए । २०४६ सालमा पोखरामा घुम्न गएको बेलामा ताल तर्न डुंगा कुरेर बसेकी आमैलाई देखेर उनले रचे ‘पुरानो डुंगा पानीको छाल, पार गरुँ कसरी’ यो गीत २०६० सालमा रेकर्ड भयो । कर्णदासले स्वर भर्दा गीतले फेरि तहल्का मच्चायो । यतिबेला पनि उनी जापानमै थिए । घुम्ने क्रममा उनी फेवाताल पुगे । ताल नियाल्दै जाँदा उनको नजर मोटर ग्यारेजमा मोटर पार्क गरेझैं राखिएको पुरानो डुङ्गाहरूका चाङमाथि प¥यो । बिग्रिएका, भाँचिएका र थोत्रा डुङ्गा किनारमा राखिएका थिए । उनले सो डुङ्गा वरिपरि घुमेर हेर । सोही क्रममा उनको नजर नजिक आउँदै गरेकी लगभग ६० नाघेकी बुढी महिलामाथि प¥यो । ती महिलाको साथमा झोला पनि थियो ।

कानमा ठूलाठूला गहना लगाएकी महिला गुरुङ समुदायको भएको अनुमान देख्ने जोकोहीले पनि गर्न सक्थे । गाला चाउरी परेको ती महिला आइपुग्दा दिनको ३ बजेको थियो । ‘यो समय तालको पानीमा छाल पर्ने भएकाले डुङ्गा पनि बन्द हुँदो रहेछ’ बीबी सुनाउँदै थिए ‘ती महिलालाई देखेर मैले अनुमान लगाएँ उनी डुङ्गा नचढी पारि जान सक्दिनन् । पारि उनलाई केही त पर्खिएर बसेको होला ।’ ‘मैले तालको पारिपाटी धमिलो आकृति निर्माण गरे, जो ती महिलाई पर्खिरहेको छ ।’ उनले थपे ।

T
०००
आधुनिक गीत लेखनमा इतिहास रचिसकेका उनले ०४७ मा गोपीकृष्ण चलचित्रमार्फत फिल्मी यात्रा पनि सुरु गरे । पहिले पूरै भनिए पनि अन्तिम समयमा यो चलचित्रमा उनका दुई गीत मात्र अटाए । यो हुनुको अर्काे कारण उनको विदेश यात्रा पनि थियो । भूपेन्द्र रायमाझीको सङ्गीत रहेको उनले लेखेको चलचित्रको ‘सिउँदो भरी…’ गीतले चर्चा त पायो नै, गीतमा ‘आइ लभ यु’ भनेर शब्द राख्ने पहिलो गीतकारको श्रेय पनि उनको भागमा पा¥यो ।

गोपीकृष्ण पछि उनले ‘दोधार’ चलचित्रको ‘त्यो सानो गाउँको’ गीत लेखे । चलचित्रको कथा अनुसार तयार पारेको यो गीत पनि हिट भयो । त्यसपछि उनी चलचित्रको गीत लेखनबाट हराए । लामो समयपछि ‘एउटा यस्तो प्रेम कहानी’ सहित अहिले ५, ६ वटा चलचित्रमा एकसाथ गीत लेखेका छन् । नाम चेन्ज हुन सक्ने निर्माता निर्देशकले भनाइका कारण सबै चलचित्रको नाम आफूले लिन नसक्ने उनले सुनाए ।
आधुनिक गीत लेखनका अगाडि उनको चलचित्रका गीत धेरै छैनन् । यसो हुनुको कारण पनि छ । अप्ठ्यारा धेरै छन् । गीत लेख्न निर्माता निर्देशकसँग पटक पटक सिटिङ गर्नुपर्छ । उनीहरूले यो भएन । त्यो भएन । फलानाको जस्तो चाहिन्छ भन्छन्, – फोटोकपी गर्न लगाउने निर्माता निर्देशकको बानी मन पर्दैन । गीत कथा अनुसार भएन भने सङ्गीतकारले करेक्सन गर्ने हो । निर्माता निर्देशक ठूलो पल्टिने होइन ।’ चलचित्र बनाउन तम्सिने निर्माता निर्देशकसँग गीतकारको हैसियत बुझ्ने, सम्मान गर्ने प्रवृत्ति नभएको पाएका उनले पेलान प्रवृत्तिमा गीत लेख्दा राम्रो सिर्जना हुन नसक्ने बुझाइ रहेको छ ।

०००
जब मायामा हैसियत हेरिन्छ, तब कलाकार, पात्र अनि चरित्र फेरीन्छ । भोगाई फेरिन्छ । यसले बिस्तारै अन्तरबिरोध जन्माउँछ । यस्तो अवस्थामा माया सम्झौता हुन्छ, भार पर्छ अनि यहाँबाट बाहिरिएकै राम्रो, उनले प्रेमका अनुभव सुनाए । २०४८ सालमा जापान जाँदा उनलाई केही हैसियत बनाउनु थियो । गाउँ र शहरको अन्तरले मलाई हैसियत स्मरण गरायो । उनले आफू दुई वर्षका लागि जापान अध्ययन बिदामा गएको बताए । त्यसपछि उनी फर्के । नेपाल आएपछि केही कुराले सही बाटो लिन सकेन । अन्ततः १४ वर्षपछि उनी आफ्नी अनामिकासँग छुटिए । हामी सल्लाहमा अलग भयौँ, आज पनि भेट्दा बोल्छु । त्यसैलाई नै मैले मेरो त्यो जीवनलाई चलचित्रको इन्टरभल भन्दा अगाडिको पाटो भनेको छु ।

उनी फेरि जापान गए । प्रेम आगो हो, निभाएपछि पनि त्यसको राप केही क्षणसम्म महशुस गर्न सकिन्छ । जलेर खरानी भए पनि त्यसको तातो पालिरहन्छ । त्यसपछि उनकोे जीवनमा अर्को मोड सुरु भयो । उनले साथीको बहिनीसँग मागी विवाह गरे । २०५४ सालमा सारीका थापा उनको जीवनमा आइन् । २०६३ सालमा नेपाल फर्के । बत्तिसपुतलिमा उनले किनेको पुरानो घर थियो, बेचे र सुकेधारा सरे । उनलाई पोल्ने पुराना यादहरुबाट मुक्ति पाउनु थियो । शायद उनी केही हदसम्म सफल भए । अब उनको जीवनमा दुई सुन्दर फूल आत्रिका थापा र मिसिका थापा आइसकेका छन् । यतिखेर लाग्छ जीवनको पहिलो अध्यायले उनलाई उर्जा दिइरहन्छ । उनको जीवन यहाँ सम्म आइपुग्दा उनले जे जे पाए, त्यसमा पाँचजनाको मुख्य भूमिका रहेको मान्छन् उनी । आमा बुवा, जसले जन्म दिए, यो धर्तीमा टेकाए, डो¥याएर बाटो देखाउने कर्मगुरु बलराम थापा, जीवनको इन्टरभल पछि आएकी जीवन संगीनी जसको साथ र स्नेहको ऋणि छन् बीबी र उनले ‘अनामिका’ पात्रलाई कसैगरी छुटाउन सक्दैनन् जसले उनलाई ‘मायामा साथ, मात र घात सबै जायज हुन्छन्’ भनेर सिकाइन् ।

०००
यतिखेर उनी २७ वटा एल्बम सार्वजनिक गरेर सबैभन्दा धेरै एल्बम एकसाथ निकाल्ने विश्वको पहिलो गीतकार बन्ने लक्ष्यमा छन् । उनका २७ एल्बमलाई पुर्व उपराष्ट्रपति परमानन्द झाको हातबाट सार्वजनिक गरिसकेका छन् । साथमा उनका दुइ पुस्तक आशक्ति र दिल एक धड्कन अनेक गीत गजल संग्रह पनि बिमोचन गरिएको थियो । यी २७ एल्बममा कुल १४० वटा गीत संग्रहित छन् । राष्ट्रियस्तरमा उनको नाम सबैभन्दा धेरै एल्बम एकैसाथ प्रकाशित गर्ने गीतकारको नाममा आइसकेको छ तर विश्व रेकर्डमा पनि उनको नाम लेखिन्छ भन्ने विश्वासका साथ प्रक्रिया अगाडि बढिरहेको छ । विश्व रेकर्ड कायम होस् शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु