
हेटौँडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले अग्रज साहित्यकार माया ठकुरी, लोकप्रिय गायकद्वय हेमन्त शर्मा र कुलेन्द्र बिश्वकर्मालाई सम्मान गरेको छ । यस वर्षको २५ हजार राशी सहितको ‘भीम विराग राष्ट्रिय साहित्य पुरस्कार’ बाट साहित्यकार ठकुरी सम्मानित भएकी हुन् ।
त्यस्तै, २५ हजार राशीको ‘भीम विराग राष्ट्रिय संगीत पुरस्कार’ बाट गायक हेमन्त शर्मा सम्मानित भएका हुन् । सोहि समारोहमा लोकप्रिय गायक २० हजार रुपियाँ राशीको रामकृष्ण बानिया स्मृति लोक सङ्गीत पुरस्कार बाट गायक कुलेन्द्र विश्वकर्मा सम्मानित भए ।
समारोहमा विभिन्न विधाका ११ जना स्रष्टाहरु सम्मानित भएका थिए । प्रतिष्ठानले विशेष साङ्गीतिक तथा पुरस्कार समर्पण समारोहको आयोजना गर्दै शनिबार हेटौँडामा चार जनालाई राष्ट्रिय पुरस्कार र अन्य सात जनालाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरेको हो ।
प्रतिष्ठानले यस वर्षको २५ हजार राशी सहित राष्ट्रिय कला पुरस्कार मकवानपुरका कलाकार भोलाराज सापकोटालाई सम्मान अर्पण गरेको थियो । यस्तै २५ हजार रुपैयाँ सहित राष्ट्रिय पत्रकारिता पुरस्कार काठमाडौंका पत्रकार ठाकुर बेल्वासे सम्मानित भए ।
यस्तै १५ हजार रुपियाँ राशिको तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार मकवानपुरका महिला उद्यमी शोभा श्रेष्ठ र शिला नारी पुरस्कार मकवानपुरकै महिला उद्यमी मेनका श्रेष्ठलाई प्रदान गरिएको हो ।
१५ हजार रुपियाँ राशिको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट मकवानपुरका बाल साहित्य अभियानकर्मी दीपक गौतम सम्मानित हुनुभएको छ । भीम–मथुरा बाल प्रतिभा पुरस्कार मकवानपुरका रितिका छत्कुलीलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि नगद १० हजार रहेको छ । १० हजार राशिको मङ्गलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट मकवानपुरका स्वास्थ्यकर्मी निर्मला ब्लोन र अजित सेन–कमलेश्वर गुप्ता भिन्न क्षमता पुरस्कार मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिएको छ ।
वरिष्ठ कला साधक भीम विरागको नाममा स्थापना गरिएको प्रतिष्ठानले वर्षेनी सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गर्दै आएको छ ।
हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष केशवलाल श्रेष्ठ, ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, महासचिव छवि अनित्य लगायतकाले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।