• सुर साधनामा रमाएका भूषणको यात्रा र उपलब्धी

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार

    काठमाडौं । पछिल्लो समय मिलियन भ्यूज कमाएका गीत गन्न सायद निकै मेहनत गर्नुपर्ला । करोड भ्युज नाघेका गीत नै गन्ने हो भने पनि थुप्रै भेटिन्छन् । तर पनि राम्रा र गुणस्तरीय गीत–संगीत भेटाउन मुश्कील पर्छ । यसको पहिलो कारण डिजिटल प्रविधिको हावी मान्न सकिन्छ । ‘डिजिटल रेकर्डिङले बेसुरा गीतलाई ‘अटो–ट्युन’ गरेर सुरीलो बनाइदिने कारणले पनि साधना गर्ने संस्कृति नै हराउँदै गएको छ । तर सबैमा यो लागु हुँदैन । साधनाको संस्कृतीमै रमाइरहने थोरै नामहरु पनि छन् । ति थोरै नामहरु मध्ये एउटा नाम हो भूषण खतिवडा ।

    ‘एनालग’ रेकर्डिङको जमानामा जसरी नै हार्मोनियममा औंला नचाउँदै दैनिक रियाज गर्छन् । उनले आफ्नो सांगीतिक लय भने कहिल्यै गुमाएनन् । सारेगम अलापिरहे । स्वरलाई माझीरहे । संगीतको सुर साधनामा रमाइरहे । यसर्थ पनि उनको आवाज निकै कर्णप्रिय छ । उनको आवाज जसले सुन्यो, तारिफ गरिहाल्छन् । यद्यपी उनी यतिन्जेल ‘हिट’ गायकमा भने दरिएनन् । तर पनि उनलाई गुनासो रहेन । बजारमा बेसुराहरुको बिगबिगी हेरिरहे । आफू भने सुरमै रमाइरहे । यसो त गीतको शब्द र संगीतलाई ध्यान दिंदै उनले कतिपय अफरलाई त्यागे पनि । उनको यहि सांगीतिक स्वभीमानले पनि अगाडि बढ्न छेकेको हुनुपर्छ ।

    तर साधनाले कालान्तरमा सफलता दिएरै छाड्छ । यतिबेला भूषणले पनि सफलताको एउटा स्वाद चाख्ने मौका पाएका छन् । फिल्म ‘२ नम्बररी’ ले शिर्ष गीत प्रतियोगितामा ६१ प्रतिस्पर्धी मध्ये भूषण खतिवडालाई उत्कृष्टमा छनौट गरेको छ । रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ ले केही समयअघि घोषणा गरेको शिर्ष गीत प्रतियोगितामा उनी उत्कृट भएका हुन् । असोज २१ गतेदेखि प्रदर्शन हुने यो फिल्मको शिर्ष गीतका लागि गरिएको प्रतियोगितामा ६१ वटा गीत प्राप्त भएको प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । तीमध्ये भूषणले फिल्मका लागि उत्कृष्ट शिर्ष गीत लेखेका छन् । भूषणले रचना गरेका शब्दहरु अब फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार रुपैयाँ नगद पुरस्कार समेत जितेका छन् ।

    अब ‘२ नम्बरी’ फिल्मको शिर्ष गीतमा भूषणकै शब्द, संगीत र स्वर रहने छ । यो भुषणको संगीतप्रतिको त्याग, प्रेम र साधनाले दिएको एउटा मीठो उपहार हो, ठूलो उपलब्धी हो । यसअघि पनि भूषणको स्वरमा थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । ती मध्ये आमा, हाँसी हाँसी लगायतका गीतहरुबाट राम्रो चर्चा कमाएका थिए ।

    ‘२ नम्बरी’ मा दीपक मनाङ्गे, अमलादेवि राई र जयश श्रेष्ठको लगानी रहेको छ भने कार्यकारी निर्माता सरोज नेपाली हुन् । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहने यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
    ‘२ नम्बरी’ फिल्ममा जोडिएका भूषणको घरको वातावरण संगीतमय छ । उनकी जीवनसाथी दिपा पन्त पनि गायिका हुन् । यसर्थ पनि उनको संगीत साधनामा उत्साह थपिन्छ ।

    –सबिता पोखरेल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु