सङ्गीतको शिखर चुम्दै संगीतकार विकास चौधरी

म्यूजिक खबर
प्रकाशित: १८ श्रावण २०७८, सोमबार

समुन पण्डित

विकास चौधरी, संगीतका सूर खोज्दा खोज्दै जीवनका ३६ औं वसन्त पार गरिसकेका छन् । पछिल्लो समयका चर्चित संगीतकार हुन् । उनको दिनचर्या विहान उठेदेखि बेलुका सुत्नेबेलासम्म गीत र संगीतमा नै समर्पित भएको हुन्छ । उनको नशा नशामा संगीत बगेको छ । सानै उमेरमा गीतसंगीतको क्षेत्र प्रति आकर्षित बनेका विकास चौधरी यतिबेला नेपाली संगीतको दुनियाँमा आफ्नो पृथक पहिचान बनाउन सफल भएका छन् । झापाको गरामनी ५, मा जन्मिएका संगीतकार विकाश चौधरीले संगीत विषयमा बिएसम्मको अध्ययन गरेका छन् । करिब डेढ दशकको यात्रा पार गरिसकेका उनी यतिबेला आफैं काठमाडौंको धोबिधारामा मिरा साउन्ड रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहेका छन् ।

जन्मथलो झापामै छँदा नै एक दर्जनजति भिडियो चलचित्रको संगीत दिएका उनले काठमाडौं प्रवेशसँगै ठूलो पर्दातर्फको चलचित्रमा पनि हात हाले । उनले पहिलोपटक संगीत दिएको ठूलो पर्दाको चलचित्र ‘सिन्दूर’ हो । उक्त चलचित्रका लागि उनी गायकका रूपमा अनुबन्ध भएको थिएँ । तर निर्देशक गोविन्द गौतमलाई गीत सुनाउने क्रममा उनको संगीत मन परेपछि उनलाई गायक भन्दा पनि संगीतकारका रुपमा चलचित्रमा प्रस्ताव गरेपछि उनको यात्राले संगीतकारको परिचय स्थापित गरायो ।

वास्तवमा गायक बन्नका लागि काठमाडौं आएका थिए उनी । सुगम संगीतमा आधारित ‘शंका गरी चोखो माया’ गीतले मलाई रेडियो नेपालमा उत्कृष्ट गायकसमेत बनेका थिए । सुरुदेखि नै गायनका साथमा संगीतका धूनहरु सिर्जना गर्दै आएका उनी पछिल्लो समय भने संगीतकारको परिचयमा स्थापित बन्न सफल भए ।

सिन्दूर चलचित्रमा संगीत दिएपछि उनले निरन्तर चलचित्रहरुमा अवसर पाए । ‘तिमी जहाँ भए पनि’, ‘सौभाग्य’, ‘मानव’, ‘नाइट क्विन’, ‘उर्वशी’ हुँदै अहिले ‘उडान’, यो कथा हो तिम्रो मेरो, काफल पाक्यो लगायतका करिब १ सयभन्दा बढी चलचित्रमा संगीत दिइसकेका छन् । चलचित्र, आधुनिक संगीत र लोक संगीत सिर्जना सँगसँगै उनी गायन र संगीत संयोजनको यात्रालाई पनि सँगै लिएर हिंडेका छन् ।

संगीतले मान्छेको अन्तर आत्मालाई छुने भएकोले गायनभन्दा पनि संगीत सिर्जनामा आफूलाई समाहित गराएको बताउने संगीतकार चौधरीले पछिल्लो समय चलचित्र संगीत भन्दा पनि बढी आधुनिक संगीतलाई व्यवसायिक रुपमा लिएका छन् । संगीतले सकारात्मक सोचको बिकाश गर्छ । खुशी पिडा जुनै समयमा पनि मानव जीवनमा संगीतको महत्वपुर्ण भूमिका रहन्छ संगीतकार चौधरी भन्ने गर्छन् – ‘संगीतले जीवनलाई उर्जाशील बनाउँछ । कुनै पनि मानिस गीतसंगीतलाई आत्मसात गर्दछ भने ऊ सधैं क्रियटिभ बन्छ । नयाँ नयाँ सिर्जनाको खोजी गर्न रुचाउँछ र समाजमा सकारात्मक सोच लिएर अघि बढ्छ ।’
गीतकारको शब्दको भाव बुझेर संगीत सिर्जना गर्नु उनको कर्तव्य हो । संगीतकार चौधरीका अनुसार संगीतले स्रोताको मन जित्नका लागि शब्द र गायकी पनि उत्तिकै प्रभावशाली बन्नु पर्छ । शब्द, संगीत र स्वरको त्रिवेणीले नै स्रोताहरुको मन जित्न सकिन्छ । त्यसपछि मात्र सफल गीत निर्माण भएको महसुस हुन्छ ।

पछिल्लो समयको संगीत बजारको विषयमा उनी यसरी भन्ने गर्छन् – नेपाली संगीतको बजार घटेको छैन, अहिले बिश्व बजारमा नेपाली संगीतको बजार झनै बढेको छ । जहाँ जहाँ नेपाली भाषी पुगेका छन् त्यस ठाउँमा नेपाली गीतसंगीत पुगेको छ ।

अहिलेसम्म सुगम संगीत, लोकसंगीत र चलचित्र संगीत गरी ६०० ओटा गीतमा संगीत दिइसकेका संगीतकार चौधरीले दर्जनौं अवार्ड र सम्मान पनि पाइसकेका छन् । म्यूजिक खबर म्यूजिक अवार्ड, बक्स अफिस म्यूजिक अवार्ड, नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड, नेशनल क्यापिटल अवार्ड लगायत आधा दर्जन म्यूजिक अवार्डमा सर्वोत्कृष्ट संगीतकारको विधाबाट अवार्ड चुम्न सफल भएका छन् । त्यस्तै विभिन्न सम्मानहरुबाट सम्मानित भइसकेका छन् भने विभिन्न सांगीतिक रियालिटी शोहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेका छन् । संगीतकार चौधरी यो क्षेत्रबाट आफूलाई सन्तुष्टि मिलेको बताउँछन् । यो क्षेत्रमा लागेर केही गुमाएको फिल उनीभित्र छैन। मानिस मरेर जाँदा छाडेर जाने कृति, नाम संगीतबाट निर्माण भइसकेको छ त्यो भन्दा ठूलो अरु केहीसँग तुलना हुन सक्दैन उनी भन्छन् । आफ्नो सिर्जनात्मक क्षमताले भ्याएसम्म यही क्षेत्रमा जीवन समर्पण गर्ने उनको सोच रहेको छ ।

सांगीतिक यात्राका क्रममा विभिन्न उतार चढाव भोगेका उनी सफल संगीतकार बनाउनका लागि अवसर दिनुहुने सबैप्रति नतमस्तक छन् । जीवनका हरेक खुट्किलाहरुमा कोही न कोहीको साथ पाएर नै सफलताको यात्रामा छु, उनले भने । अहिले मेरो साथलाई अझै उर्जा थप्ने गीतकार हरि उप्रेतीप्रति ऋण भएको महसुस हुन्छ उनी भन्छन् । त्यस्तै चलचित्रको संगीतमा विश्वास गर्ने निर्देशक गोविन्द गौतम, ओम प्रतीक, उदय सुब्बा, लय संग्रौला लगायतका व्यक्तित्वलाई उनी कहिल्यै विर्सन सक्दैनन् । यीभन्दा धेरै व्यक्तित्वहरु उनको जीवनमा सारथी बनेका छन्, उर्जा दिएका छन् । जो बिना उनी अपूरो भएको महसुस गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु