भर्सटायल बिक्रम र सिर्जनशील सिर्जु अनि फापेको सहकार्य

म्यूजिक खबर
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

काठमाडौं । रामेछाप सांस्कृतिक कलाकार समाजको आयोजनामा ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम’ भइरहेको थियो । विविध सांगीतिक व्यक्तित्वको उपस्थिति थियो । लामो समयदेखि निरन्तर कलाकारिता र समाजसेवामा समेत सक्रिय गायक, निर्माता एवं सर्जक बिक्रमजंग शाह पनि अतिथिका रुपमा उपस्थित थिए । त्यस्तै मिठो स्वर र आकर्षक जीउडालकी धनी गायिका सिर्जु अधिकारी पनि थिइन् । त्यहीं उनीहरुको पहिलो भेट भएको थियो । सामान्य औपचारिक चिनजान र कुराकानी भयो । प्रसंग हो २०७४ साल भदौ महिनाको ।

एक दुई भेटले नै सकारात्मक सोचका यी दुई कलाकारको मित्रता अघि बढ्यो । उनीहरुको सहकार्य अगाडि बढ्दै गर्दा राष्ट्रिय संगीतकर्मी संघको कार्यसमितिमा पनि उनीहरु एकै ठाउँ भए । संगीतकर्मी संघमा बिक्रम महासचिव छन् भने सिर्जु केन्द्रिय सदस्य । व्यक्तिगत, संस्थागत र अन्य सामाजिक कामका हिसाबले पनि उनीहरुको भेट भइ नै रहन्छ । अहिले उनीहरुको दोस्ती गज्जबले जमेको देखिन्छ । उनीहरु यतिबेला सांगीतिक सहयात्रामा जोडिएका छन् । केहि वर्षको चिनजान र दोस्ती पछि उनीहरुले हालै एक गीतमा सहयात्रा गरेका हुन् । उनीहरुको युगल स्वरमा ‘खोला खाल्सी हे माया’ बोलको गीत सार्वजनिक भएको छ । यो सहयात्राले पनि यिनीहरुको मित्रता निकै फराकिलो भएको बुझ्न सकिन्छ । गायक बिक्रमकै शब्द रहेको गीतमा अमृत खातीले संगीत भरेका छन् । झ्याउरे लयमा जनजीब्रोमा झुन्डिने ठेट शब्द र मनछुने स्वरले गीतको प्राण भरेको छ ।
गीतको भिडियोमा बिक्रम जंग शाह, सिर्जु अधिकारीको साथमा चर्चित मोडलहरु सन्जिब ठकुरी, रिना थापा, गोबिन्द गौतम, सलिना कार्की, सुबास बजगाईं, उषा सुबेदी, राज गिरी, मालती घले, बिवश बस्नेत, वर्षा तामाङ्ग, बिनोद तामाङ्ग, ऋतु तामाङ्ग, रामकुमार नेपाली, सन्ध्या सानु, अमृत खाती र आशिका खातीको अभिनय रहेको छ । भिडियोको निर्देशन शिशिर बुढाथोकीले गरेका छन् । गीतको भिडियोमा सिन्धुली दुम्जाका आसपासका प्राकृतिक सुन्दरतालाई समेटिएको छ ।

गीत जनजिब्रोमा सजिलै झुण्डिने मौलिक बनेको छ भने टिकटकमा समेत लोकप्रिय बनेको छ । गीतले नसोचेको चर्चा र सफलता मिलेको बताउँदै भिडियोले लोक पारखीको मन जित्नेमा बिक्रम र सिर्जु दुबै आशावादी रहेका छन् । गायक शाह समाजससेवामा पनि अग्रसर रहँदै आएका छन् । उनी आफ्ना जीवनका हरेक गतिविधिमा समाजसेवामा जोडिन रुचाउँछन् । त्यसैले ‘खोला खाल्सा’ सार्वजनिकको अवसरमा पनि उनी समाजसेवामा जोडिन पुगे । कार्यक्रममा ‘स्नेह आश्रम’का संचालक सुलेमान शंकर ‘इकु’ लाई घर भाडा बापत रु २५ हजारको चेक हस्तान्तरण गरियो । उनीहरुले ‘खोला खोल्सी हे माया’ को भिडियोको युट्युवबाट आउने आम्दानीको २० प्रतिशत समेत आश्रमलाई प्रदान गर्ने घोषणा गरेका छन् ।
गीत सार्वजनिक भएपछि हामीसँगको बसाइमा यी दुईले एक अर्काको खुब तारिफ गरे । उनीहरु एक अर्काका फ्यान समेत हुन् । पहिलो भेटमै सिर्जुको शुसिलता, मिलनसारता र गायकीको फ्यान भएको बिक्रम बताउँछन् । बिक्रमको सकारात्मक सोच, समाजसेवाप्रतिको मोह र कलाकारिताप्रतिको सपमर्पण देखेर सिर्जु पनि उनको फ्यान भएको बताउँछिन् ।
बिक्रम र सिर्जुका अनुसार उनीहरु बिचको दोस्ती स्वतन्त्र, जिम्मेवार, सुरक्षित र सम्मानित रहेको छ । मेल र फिमेल बिचको मित्रतालाई कतिपयले गलत ढंगले पनि बुझ्ने गरेको पाइन्छ नि भन्ने हाम्रो प्रश्नमा सिर्जु भन्छिन् –‘हामी मनोरन्जन फिल्डका मान्छेले धेरैसँग सहकार्य गर्नुपर्ने हुन्छ । सेलिब्रेटी पनि मानिस नै हो उनीहरुको पनि परिवार हुन्छ । यसैले कसैको सहकार्यलाई नै गलत ढंगले नबुझ्न आग्रह गर्छु ।’ उसो त ‘खोला खाल्साँ नै उनीहरुको पहिलो सहकार्य भने होइन । केहि समयअघि अमृत खातीको शब्द रहेको ‘हाम्रो माटो’ गीतमा राजाराजेन्द्र पोखरेल, अनु अधिकारीको साथमा बिक्रम र अनुको स्वर सुन्न सकिन्छ । संगीतको यात्रा र दुईको सहकार्य अनवरत जारी रहने दुबैको प्रतिबद्धता छ ।


भर्सटायल विक्रम
बिक्रमजंग शाह, जसले नेपाली मनोरन्जन क्षेत्रमा २० वर्षे अनुभव संगालिसकेका छन् । काभ्रे स्थायी घरभएका बिक्रमलाई कलाकारिताको मोहले नै काठमाडौंसम्म तान्यो । सानैदेखि गाउँमा हुने पूजा, मेला र विभिन्न सांस्कृतिक कार्यक्रममा मादल बजाउन र गीत गाउन अग्रसर हुन्थे । उनी कलाकार बन्न चाहन्थे । अझ हिरो बन्न चाहन्थे । हिजोको त्यहि अठोट र संकल्पले नै आज उनी कलाकार बनेका हुन् । त्यसो त समाजको वास्तविक हिरो समेत बन्न सफल भएका छन् । उनी आज जहाँ जान्छन् त्यहाँ सम्मान र इज्जत पाउँछन् । त्यसैलाई जीवनको उपलब्धी र सम्पत्ति ठान्छन् । यसै उनी यो मोडमा पुगेका भने होइनन् । धेरै आरोह अवरोह पार गरेका छन् । योगदान दिएका छन् ।

उनले २०५७ सालमा ‘कथा’ नामक टेलिश्रृंखलामा नायक भएर अभिनय गर्दै कलाकारिता यात्रा शुभारम्भ गरेका हुन् । उक्त शृङ्खलाका निर्माता समेत उनी नै थिए । २०५८ सालमा ‘भकुण्डेमा एउटा स्कुल छ’ बोलको गीत गाए । गीतले अत्याधिक चर्चा र लोकप्रियता कमायो । उनलाई अरु कलाकारलाई पनि अवसर दिनुपर्छ भन्ने सोच एकाएक आयो । कलाकारलाई अवसर दिनको लागि उनले महोत्सव नै उचित प्लेटफर्म ठाने । त्यसपछि देशदेखि विदेशसम्म कार्यक्रमको संयोजन गरे, महोत्सवको आयोजना गरे । थुप्रै कलाकारलाई विदेश यात्रा गराउन सफल भएका छन् । मलेसियामा आयोजनामा हुने युनिक धमाकामा नियमित प्रस्तुति दिईसकेका छन् । सांगीतिक कार्यक्रमकै लागि जापान, सिंगापुर, मलेसिया, कोरिया, इजरायल , स्विजरल्याण्ड, बहराइन लगायत ४० देशमा यात्रा गरिसकेका छन् ।

बिक्रमले आफ्नो परिचय गायक र कार्यक्रम आयोजकका रुपमा मात्र सीमित बनाएनन् । चलचित्रमा समते हात हाले । महानायक राजेश हमाल, तृप्ति नाटकरदेखि नाम चलेका दर्जनभन्दा बढी कलाकार अभिनित चलचित्र ‘पल्टन’ निर्माण गरे । विभिन्न टेलिशृङ्खलामा समेत अभिनय गरेर कलकारितालाई फराकिलो बनाउँदै आएएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हाँस्यटेलिशृङ्खला ‘डिठ्ठा साप’ को पाख्रीन काकाको भूमिका समेत उनी देखिए ।
उनले यो समयसम्म आइपुग्दा ४० को हाराहारीमा गीतमा स्वर भरिसकेका छन् । कहिले संस्थागत त कहिले व्यक्तिगत अग्रसरतामा कलाकारिता सँगसँगै समाजसेवामा उल्लेख्य कर्म गरिसकेका छन् ।
Sirju Adhikari

सिर्जनशील सिर्जु

गायिका सिर्जु अधिकारी निकै आकर्षक र सुन्दरी गायिकाको रुपमा परिचित छिन् । दाङको तुलसीपुरमा जन्मिएकी सिर्जु गीत गाउँछिन्, लेख्छिन् र संगीत पनि भर्छिन् । तर यतिले मात्र उनको परिचय पूरा हुँदैन । उनी कुशल मोडल पनि हुन् । उनले थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । शास्त्रीय संगीतकी विद्यार्थी सिर्जुको आधुनिक, लोक र पप जस्तो गीतमा पनि स्वर फिट हुन्छ ।
सिर्जु बुबालाई व्यापारमा सघाउनका लागि दाङबाट काठमाडौं ०६४ सालमा आएकी हुन् । तर, उनलाई पिताको व्यापारभन्दा बालापनदेखि गायन क्षेत्रमा प्रवेश गर्ने रहरले जित्यो । त्यहि रहरसँगैको निरन्तर कर्मले नै आज उनलाई स्थापित र लोकप्रिय बनाएको छ । सयौं गीत गाइसकेकी सिर्जुका ‘हाई मेरी प्यारी’, ‘छेकेन जामाल’े, ‘रेलिमै’ फिगर कोकाकोला’ लगायतका गीतले सांगीतिक बजार तताउन सफल भएका छन् । अन्य थुप्रै गीतहरुमा चर्चित गायकहरुसँग युगल गायनमा स्वर भरेकी सिर्जुलाई गायिका सिर्जु भनेर चिनाउने गीत भने ‘ए बुढा ए बुढी’ हो ।
रामचन्द्र काफ्लेको स्वरमा रहेको ‘ए कान्छी नानी हावा चल्यो सरर’ गीत मार्फत मोडलिङमा प्रवेश गरेकी सिर्जुले मोडलिङ मात्र होइन, चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् । चलचित्र ‘देवदेवकी’मा नायिकाको रूपमा र सोभित बस्नेतको ‘राज’मा नायक विराज भट्टकी बहिनीका रूपमा अभिनय गरिसकेकी छन् । देश तथा विदेशका स्टेज कार्यक्रमहरुमा समेत उतिकै रुचाइएकी गायिका हुन् ।
परिवारको पूर्ण सपोर्ट पाएकी सिर्जु यतिन्जेल कसैको प्रेममा नपरेको बताउँछिन् । विवाहका विषयमा उनी भन्छिन्– ‘चाहेर मात्र हुँदैन, जुर्नु पर्छ । जहिले जुर्छ तब नै होला ।’ तर आफूलाई माया गर्ने र पेशालाई सम्मान गर्ने राजकुमार होस् भन्ने चाहन्छिन् । सिर्जु कलाकारिताका अलावा समाजसेवामा पनि सक्रिय रहेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु