• भजन शिरोमणि भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’ युट्युबमा उपलब्ध

    म्यूजिक खबर
    प्रकाशित: २९ कार्तिक २०८१, बिहीबार

    काठमाडौं। भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित (बायोपिक फिल्म) नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरुले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म यूट्युबमा उपलब्ध भएको छ । ओएसआर डिजिटलको यु ट्युब च्यानल मार्फत फिल्म सार्वजनिक गरिएको हो।

    लोकप्रिय गायक सत्यराज आचार्यद्वारा उनका बुवा भजन शिरोमणिको भूमिका हुबहु निर्वाह गरिएको यो फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् ।

    १३ वर्षअघि नै पहिलो पटक प्रदर्शनमा आएको फिल्म ‘आचार्य’ भजन शिरोमणिप्रति श्रद्धाञ्जली अर्पण गर्ने उदेश्यले गत असार ७ गतेदेखि पुनः सिनेमा हलमा प्रदर्शन गरिएको थियो ।

    २०६८ असोज ६ गते पहिलो पटक सिनेमा हलमा प्रदर्शन गरिएको यो फिल्मलाई पुनः सम्पादन गरी प्रदर्शनमा ल्याइएको सत्यराज आचार्यको भनाइ छ ।

    यो फिल्ममा सत्यराज नै पिताको भूमिकामा छन् । फिल्ममा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको छ । यो फिल्ममा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गरेका छन् । गायक आचार्यको ८२ वर्षको उमेरमा अघिल्लो वर्ष फागुन १४ गते निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु