चित्रकलामा चराहरु, मीना डंगोलका अलौकिक कला

म्यूजिक खबर
प्रकाशित: २१ श्रावण २०७६, मंगलवार

काठमाडौं । पाँच दशकभन्दा लामो समय चराचुरुङ्गीलाई चित्रकलाको विषय बनाउँदै कलाकारिता गरेका प्रसिद्ध कलाकार तथा पंक्षीविद् स्व. हिरालाल डंगोलको सम्झनामा उनकै चित्रकार छोरी मीना डंगोलले शनिवार काठमाडौंमा एक दिने विशेष चित्रकला प्रदर्शनीमा आफ्ना चित्रकलाहरु प्रदर्शन गरिन् । ‘हिरा बाई मीना डंगोल ः अ ट्रिब्यूट टु हिरा लाल डंगोल’ शीर्षकको चित्रकला प्रदर्शनीमा कलाकार डंगोलले तयार पारेका विभिन्न चराचुरुङ्गीका आकर्षक चित्रकलाहरु समावेश गरिएको थियो ।

दरबारमार्गस्थित होटल अन्नपूर्णको ठूलो हलमा आयोजना गरिएको चित्रकला प्रदर्शनीमा करिव तीन दर्जन चित्रकलाहरु प्रदर्शन गरियो । प्रदर्शनीमा राखिएका अधिकांश चित्रकलाहरुमा कलाकार डंगोलले लाटोकोसेरो (उल्लू) का विभिन्न भाव–भंगिमाहरु प्रस्तुत गरेकी थिइन् ।

प्रदर्शनीमा लाटोकोसेरोमै आधारित आधा दर्जनभन्दा बढि चित्रकला प्रदर्शन गरियो । ती मध्ये लाटोकोसेरोका समुहहरुको एउटै तस्बिरको मूल्य ३ लाख ९० हजार तोकिएको छ । प्रदर्शनीमा ६५ हजार रुपैयाँदेखि ३ लाख ९० हजार रुपैयाँसम्मका चित्रकलाहरु राखिएका थिए । प्रदर्शनीमा राखिएका चित्रकलाहरुमा कलाकार डंगोलले काकाकुल, कालिज, सेतो बकुला, ठूलो डुन्डुल, लाटोको सेरो, हिम उल्लू, डाँफे, रानी चरी, मयूर, चरी, हाप्सिलो, सुवर्ण महाचिल, सेतो बकुलो, लाम पुच्छ«े आदि चराचुरुङ्गीलाई चित्रकलामा समावेश गरेकी थिइन् ।

काठमाडौं लेडिज जेसिसले आयोजना गरेको उक्त प्रदर्शनीको उद्घाटन पर्यटन व्यवसायी तथा द्वारिका होटल्स एण्ड रिसोर्टका अध्यक्ष श्रीमती अम्बिका श्रेष्ठले गरेकी हुन् । प्रदर्शनीमा प्रदर्शन गरिएका चित्रकलाहरुको अवलोकनपति पर्यटन व्यवसायी श्रेष्ठले स्व.हिरालाल डंगोलको गुण उनकी चित्रकार छोरी मीना डंगोलमा सरेको बताउँदै प्रदर्शित चित्रकलाले प्रकृतिको नजिक पु¥याएको धारणा व्यक्त गरिन् ।

कलाकार मीना डंगोलले बुवा हिरालाल डंगोलकै प्रेरणाले आफू चित्रकलामा सक्रिय भएको बताउँदै आफ्नो चित्रकारितामा पंक्षीलाई नै मुख्य विषयवस्तु बनाउनुको कारण बुवासंगै सानिध्यता रहेको स्पष्ट पारिन् । चित्रकार डंगोलले प्रायः आक्रामक पंक्षीहरुलाई चित्रकलाका विषय बनाउँदै आएकी छिन् ।

केही वर्षअघि बुवा स्व.हिरालाल डंगोलसंगै आफ्ना चित्रकलाहरुलाई ‘बर्ड्स अफ नेपाल’ शीर्षकको सामुहिक चित्रकला प्रदर्शनीमार्फत प्रस्तुत गरिसकेकी चित्रकार मीना डंगोलले शनिवार पहिलो पटक एकल चित्रकला प्रदर्शनीमा सहभागिता जनाएकी हुन् ।

चित्रकार डंगोलले आजको प्रदर्शनी पंक्षीमय भएको बताउँदै लाटोको सेरोको चित्रकला तयार पार्दा आत्मसन्तुष्ठि मिल्ने बताइन् । आजको प्रदर्शनीमा लाटोको सेरोका विभिन्न प्रजातिहरुलाई चित्रकलामा उतारिएको गियो ।

प्रदर्शनीमा राखिएका करिव तीस भन्दा चित्रकलाकाहरु मध्यम क्यान्भासमा तयार पारिएका छने, जसमा एक्रेलिकको प्रयोग गरिएको छ । यी चित्रकलाहरु विन्टन पेपरमा तयार पारिएका छन् ।

खुकुरी रम तथा पाइलटद्वारा प्रायोजित यो प्रदर्शनीलाई नाफा (नेपाल एकेडेमी अफ फाइन आटर््स), बिसिएन (बर्ड कन्जरभेसन नेपाल), काठमाडौं लेडी जेसिस, डिएफएसके मोटर्स आदिले सहयोग गरेका छन् ।
प्रदर्शनीको एउटा अंश जेसिआई काठमाडौंमार्फत ‘छोरीलाई पनि शिक्षा’ शिर्षकको सामाजिक तथा शैक्षिक कार्यका लागि प्रदान गरिने प्रदर्शनीकी आयोजक तथा कलाकार मीना डंगोलकी छोरी लसना सिंह महर्जनले बताएकी छिन् ।

को हुन् स्व. हिरालाल डंगोल

कलाकार हिरालाल डंगोल सानैदेखि चित्र कोर्न तल्लीन बन्नु भएको थियो । उहाँ चित्रकलामै जीवन देख्नु भएको थियो । जर्मनका कलाकार एलेक्स मानबाट चित्रकलाको प्रशिक्षण लिनु भएका स्व.डंगोलले नेपालका प्रसिद्ध कलाकार लैनसिं वाङ्गडेलबाट पनि दुई वर्षको प्रशिक्षण लिएपछि चराचुरुङ्गी सम्बन्धि चित्रकलामा विशेषज्ञता हासिल गर्नु भएको हो । स्व.डंगोलले चराको चित्र तयार पार्ने क्रममा धेरै स्थानमा चराहरुको अध्ययन गर्नु भएको थियो । पोखरावाट माछापुच्छ«े हिमालको फेदसम्म पुगेर चराचुरुङ्गीको अध्ययन गरेर चित्र कोर्नु भएका कलाकार डंगोल चराचुरुङ्गी सम्बन्धी चित्रकला तयार पार्ने विश्वप्रसिद्ध नेपाली कलाकार हुनुहुन्थ्यो । उहाँका चराका चित्रकलाहरु विश्वका अधिकांश स्थानमा पुगिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु