• रविन र सञ्जुको नयाँ दोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ७ फाल्गुन २०७६, बुधबार
    Chadi Kaha Hola

    काठमाडौं । गायक रविन लामिछाने र गायिका सञ्जु न्यौपानेको नयाँ लोकदोहारी गीत ‘चाँदी कहाँ होला’ सार्वजनिक भएको छ । सामाखुशीमा रहेको एभरेष्ट रेस्टुरेन्टमा हिजो एक कार्यक्रमको आयोजना गरी उक्त गीतको भिडियोलाई सार्वजनिक गरिएको थियो । गायिका सञ्जु न्यौपानेको जन्मदिनको अवसरमा खुशीयाली मनाउँदै ‘चाँदी कहाँ होला’ सार्वजनिक गरिएको थियो ।

    गीत सार्वजनिक पछि बोल्दै गायिका न्यौपानेले गीतकार नवराज पन्त, गायक रविन लामिछानेसँग सहकार्य गर्ने इच्छा भएकोले यो गीतले पूर्णता पाएको बताइन् । उनले मिठो भाका सिर्जना गरिदिने प्रकाश पराजुली र भिडियोका सम्पूर्ण टिमलाई नै धन्यवाद दिएकी थिइन् । त्यस्तै गायक रविन लामिछानेले एउटा राम्रो सिर्जना बनेको हुँदै सबैले माया गरिदिनेमा विश्वस्त भएको बताए । उनले पछिल्लो समय बजारमा आएका बिकाउका गीतहरुमा चाँदि कहाँ होला चाहि टिकाउको गीत भएको दाबी गरे ।

    कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कोषाध्यक्ष गायक राजु ढकाल, प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल, प्रतिष्ठानकै प्रदेश नं. ३ का सल्लाहकार ध्रुव पोखरेलले गायिका सञ्जुलाई जन्मदिनको शुभकामना दिँदै चाँदी कहाँ होला गीत सफलताको उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण एवं संचालन पत्रकार तथा गीतकार सुमन बैरागीले गरेका थिए ।

    ‘चाँदी कहाँ होला’ गीत निर्माणको सुरुवातदेखि निकै चर्चामा थियो । धेरैले कस्तो बन्ला भन्ने प्रतिक्षाको घडी भिडियो सार्वजनिकसँगै सकिएको छ । सबैले चाँदी कहाँ होला गीतलाई मन पराइदिएका छन् । चाँदी कहाँ होलाका गीतकार नवराज पन्त हुन् भने संगीतकार प्रकाश पराजुली हुन् । कृष्ण वि.क भान्जाको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ कुमार रानाले गरेका हुन् । यस गीतको म्यूजिक भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना गुरुङ, निशा न्यौपानेको अभिनय रहेको छ । करन चैंसिरले छायाँकन गरेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोलाई सञ्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु