पाँचवटा प्राध्यापकलाई चेतकी–लक्ष्मी पुरस्कार घोषणा

म्यूजिक खबर
प्रकाशित: २८ मंसिर २०७६, शनिबार

काठमाडौं । नेपाली भाषा–साहित्य र साहित्यिक पत्रकारिता, इतिहास, संस्कृति, दर्शन, ललितकला र विज्ञान प्रविधिको क्षेत्रमा विगत १८ वर्षदेखि योगदान गर्दै आएको चेतकी राज्यलक्ष्मी कार्की स्मृति विज्ञान तथा प्रविधि प्रतिष्ठानले “चेतकी प्रज्ञा पुरस्कार–सम्मान तथा सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार” घोषणा गरेको छ ।

जसअनुसार इतिहासतर्फ चेतकी प्रज्ञा पुरस्कार–सम्मान “संशोधन मण्डल”र संस्कृतितर्फ प्रा.डा. जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । यी दुवै पुरस्कार–सम्मानको राशि रु. ५०÷५० हजार रहेको छ ।

त्यसैगरी दर्शनतर्फ चेतकी प्रज्ञा पुरस्कार–सम्मान प्रा.डा. दीर्घराज घिमिरे तथा प्रा.डा. शङ्कर थापा, ललितकलातर्फ प्राज्ञ के–के कर्माचार्य र नेपाली भाषा तर्फ प्रा.डा. चुडामणि बन्धुलाई प्रदान गर्ने भएको छ । यी पुरस्कार सम्मानको राशि रु ३०÷३० हजार रहेको छ ।

त्यसैगरी सुश्री लक्ष्मी कार्की स्मृति साहित्यिक पत्रकारिता पुरस्कार चेतनाथ धमला (प्रधान सम्पादक–कौशिकी), शब्द संयोजन, नवप्रज्ञापन, सङ्गम अभियान र श्रृङ्खलालाई प्रदान गर्ने भएको छ । उपर्युक्त पुरस्कार–सम्मानको राशि रू ३०÷३० हजार रहेको छ ।
प्रतिष्ठानले स्कुल र विश्वविद्यालयमा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई चेतकी राज्यलक्ष्मी छात्रावृति प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त प्रतिष्ठानका महासचिव तथा लेखक युवराजसिंह कार्कीद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु