• असाधारण प्रतिभाका धनी चेतन कार्की

    म्यूजिक खवर
    प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

    फिल्म लेखक तथा निर्देशक चेतन कार्कीको निधन भएको छ । छाउनीस्थित आर्मी अस्पतालमा उपचारार्थ रहेको बेला उनको निधन भएको हो । कार्की ८४ वर्षका थिए । भारतको देहरादून गएका कार्की नेपाल फर्कंदा कोरोना भाइरसबाट संक्रमित भएको आंशका गरिएको थियो । वलीले चैत ३१ गते कार्की घरव्यवहार मिलाउन देहरादुन गएको र १७ गते भैररहवाको बाटो हुँदै फर्किएको बताए । ‘उनी यता बस्न थाले पनि देहरादुनमा पनि उनको व्यवहार थियो । वर्षको एक चोटि जाने गरेका उनी फर्कंदा भैरहवाको बाटो हुँदै फर्केका थिए ।

    को थिए त चेतन कार्की ?
    २२ कार्तिक १९९५ मा पिता जुद्धवीर कार्की र माता चन्द्रमायाँ कार्कीको कोखबाट स्याङजाको आरुखर्क ९ मा जन्मिएका कार्की बुबाको जागिर पछ्याउँदै देहरादुन पुगेका थिए । चेतन कार्कीका बुवा भारतीय सेनाको कप्तान थिए । छोराछोरीलाई पढाउने हिसाबले परिवारै लिएर उतै गएका थिए । त्यहीँ उनले हिन्दी साहित्यमा एम र बीएस्सी गरेका थिए ।
    देहरादूनमा बिएस्सी पास गरेपछि कार्कीले कुनै महत्वपूर्ण जागिरको निम्ति निवेदन दिए । जागिरको रिजल्टमा उनको नाम पहिलो नम्बरमै निस्कियो । तर, भर्ना लिने बेलामा भने उनलाई नेपाली भएकैले भारतीयले जागिरबाट पन्छ्याइदिएछन् । त्यसैबेला नै उनले ‘अब यो देशमा म एकछिन पनि बस्दिनँ र नेपाल गएर नेपालकै सेवा गर्छु’ भन्दै वि.सं. २०१७ मा फर्किएका थिए ।

    रेडियो नेपालको जागिर असफल
    नेपाल फर्किएपछि उनले रेडियो नेपालमा जागीर खाने प्रयत्न गरेका थिए । जागिरका लागि शिक्षा मन्त्रालय पुगे । तत्कालिन शिक्षा सचिव कुलशेखर शर्माले वचन त दिए । तर, मन्त्रिपरिषदका तत्कालीन अध्यक्षका भतिजा प्रविण गिरिको अगाडि उनको जोड चलेन । तर, उसबेला मन्त्री परिषद्का अध्यक्ष तुलसी गिरीका भतिजा प्रविण गिरी पनि यही दौडमा थिए । लिखित परीक्षामा अब्बल हुँदा हुँदै पनि उनले प्रवीण गिरीसँग जागीर हारेका थिए । हार्नुको पछाडि भने उनले रेडियो नेपाल ‘भ्वाइस अफ अमेरिका’को नक्कल हो भनेकै कारण थियो भनिन्छ ।

    मत्स्य विकासको हाकिम
    त्यसरी फर्केपछि २०१९ सालतिर उनले मत्स्य विकास केन्द्रको हाकिम भएर पोखरामा जागिर खाएका थिए । यसरी पोखरा आइसकेपछि उनीभित्रको गुणले कार्यालयको घेरामा मात्र सीमित रहन दिएन । रसिलो स्वभावले पोखरामा आयोजना हुने अधिकांश साँस्कृतिक, साहित्यिकदेखि नाचगानसम्मका कार्यक्रममा उनको अनिवार्य उपस्थिति देखिन थाल्यो । उनी सक्रिय नभएको वा मञ्चमा नबसेको बिरलै कार्यक्रम हुन्थे ।
    स्कुल तथा कलेज जीवनमा चेतन कार्कीको रुची फुटबलमा थियो । उनले दिएका केही अन्तर्वार्तामा उनले आफू आगरा विश्वविद्यालयको फुटबल क्याप्टेन भएको बताएका छन् । त्यसैगरी उनले सन् १९५८ मा स्टेट अफ युपीको नेसनल च्याम्पियनसमेत खेलेको बताएका थिए ।
    यसपछि भने उनले मत्स्य विकास तथा प्रशासन अधिकृतको जागिर खाएका कार्कीले २ वर्षपछि आफूभन्दा कनिष्ठको बढुवा भएपछि उसबेलाका कृषिमन्त्री राजेश्वर देवकोटालाई राजीनामा बुझाएर जागिरबाट विदा लिएका थिए । ‘ताल विकास’ को हाकिमे रवाफमा घोडा दौडाउन छाडेर उनी २०२५ सालतिर काठमाडौँ हानिए ।

    चलचित्रमा प्रवेश
    लोकगीतप्रतिको मोह छँदै थियो । २०१७ सालदेखि नै रंगमञ्च लेखन, व्यवस्थापन, निर्देशन र कला संयोजनको सीपले खारिएका थिए, उनी । सूचना विभागले ‘चेतना’ नामक फिल्म बनाउन लेखक, पटकथाकार मागेको थियो । उनी छानिए ।
    चलचित्रमा चेतन कार्कीको प्रवेश पटकथा लेखकको रुपमा भएको थियो । हिरासिंह खत्रीको निर्देशनमा बनेको ‘परिवर्तन’ चलचित्रमा पाइला हालेको पहिलो फिल्म थियो । ‘चेतना’ शीर्षकमा बनेको यो फिल्ममा कार्कीले पटकथा लेखेका थिए जुन पछि गएर ‘परिवर्तन’ नाममा रिलिज भएको थियो ।
    २०२८ सालमा शाही चलचित्र संस्थानको स्थापना भएसँगै कार्कीले निर्माण अधिकृतको रुपमा जागिर सुरु गरेका थिए जहाँबाट उनले १० वर्ष काम गरेर राजीनामा दिएका थिए । यो बीचमा उनले शाही चलचित्र संस्थानले निर्माण गरेका ‘मनको बाँध’ ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’ आदि फिल्ममा निर्माण अधिकृतको पनि काम गरेका थिए ।
    वि.सं. २०४३ मा बल्ल उनले निर्देशकको जिम्मेवारी पाएका थिए । ‘विश्वास’ उनले निर्देशन गरेको पहिलो फिल्म थियो । त्यसपछि उनले ‘भूमरी’, ‘पहिलो प्रेम’ आदि फिल्म निर्देशन गरेका थिए । तर, पटकथा र गीत लेखकको रुपमा उनले जति सफलता प्राप्त गरेका थिए त्यति निर्देशनमा भने सफल भएनन् ।
    उनले निर्देशन गरेको ‘भूमरी’ २०४६ सालको आन्दोलनको मारमा परेका थिए । यो फिल्मका हिरो अर्जुनजंग शाही थिए तर २०४६ सालको आन्दोलनमा उनले दमन गरेको कारण देखाउँदै यो फिल्म दर्शकले बहिष्कार गरेका थिए । सानो उमेरदेखि नै कलाकारितामा रुचि राख्ने कार्कीले लोकगीत र नाटकमा पनि उत्तिकै काम गरेका थिए ।

    बुबाको गीतले चर्चित झलकमान
    २०२३ सालमा प्रदर्शन भएको ‘आत्मा बेचेको छैन’ टिकट काटेर प्रदर्शन गरिएको पहिलो नाटक भएको कार्कीले दाबी गरेका थिए । यतिमात्र होइन झलकमान गन्धर्वलाई अमर बनाउने गीत ‘आमाले सोध्लिन् नी’ बोलको गीत सर्वप्रथम यही नाटकमा प्रयोग गरेको कार्कीले प्राय अन्तर्वार्तामा दाबी गरेका छन् ।
    तर, उनले यो गीत झलकमानको नभई उनको बुबा दुर्गबहादुर मिजारको मुखबाट सुनेको उनले बताएका थिए । नाटक मञ्चन हुने दिन दुर्गबहादुर बिसन्चो भएर झलकलाई पठाएपछि सदाका लागि यो गीत झलकमानको भएको थियो । कार्कीले चलचित्रबाट मात्र काम गरेर जीवन धान्न मुस्किल भएपछि सेन्टमेरिजमा विज्ञान बढाउनेसँगै ट्याक्सी पनि चलाएका थिए ।

    चलचित्रको कमाइबाट जिप किने
    गीतकार चेतन कार्कीले ‘परिवर्तन’बाट कमाएको सेकेन्डह्यान्ड जिप किनेको र त्यो पोखरामा चलाएको मिडियासँगको कुराकानीमा उल्लेख गरेका छन् । ‘गुरु हिरासिंह खत्री तेस्रो फिल्म बनाएर भारत नै फर्कने भएपछि फिल्ममा भविष्य छैन भन्ने लागेर ‘परिवर्तन’बाट पाएको पैसाले जिप किनेँ । त्यो जिप २०२५ सालमा काठमाडौं, रक्सौल, मुजफ्फरपुर, गोरखपुर र भैरहवा हुँदै पोखरा पु¥याएर चलाएका थिएँ,’ उनले फिल्म निर्देशक मोहन राईसँगको कुराकानी समेटिएको ‘जक्स्टापोजिसन’ पुस्तकमा भनेका छन् ।

    गीतकारका रुपमा चर्चित
    चेतन कार्कीले निर्देशनमा उति सफल नभए पनि गीतकारको रुपमा भने निकै नै सफल छन् । ‘बहिनीको दया छ भने’ र तीजको सदाबहार लोकप्रिय बनेको गीत ‘तीजको लहर आयो वरिलै’ पनि चेतन कार्कीको गीतकार व्यक्तित्वलाई पुष्टि गर्ने प्रतिनिधी गीत हुन् । ‘वर्षदिनको तीजमा बाबा लिन आएनन्’, कलिलो तामालाई सोध रामालाई’, ‘तिम्ले त मलाई सम्झिने छैनौ तर म आइदिउँला’, ‘कान्छी हे कान्छी’, छोरीको जन्म हारेको कर्म’, ‘हरियो भन्ने त्यो काँचो पात पहेंलो सुरती’, ‘उँभो र हेर्दा त्यो कालीलेक उँधोलाई वन छैन’, ‘बुझ्नै सकिनौं तिमीले आँखाको भाका’ बोलका गीतहरु नै किन नहुन्, चेतनको मौलिकताप्रति प्रेम झल्काउन काफी छन् ।

    गायक चेतन कार्की
    अध्ययनका लागि उनी बुबासँगै देहरादुन गए पनि उनले स्याङ्जाली माटोको मोह भुलेनन् । गाउँमा सुनेका गीतहरु गुन्गुनाउन छाडेनन् । ‘माछीले खा मलाई भन्छ, खान मन लाग्दैन पटक्कै, चनौटे जा मलाई भन्छ, जान मन लाग्दैन पटक्कै !’ यो गीत उनले चार वर्षको हुँदा नै गाएको रे । दिदी र आमाले सुनाए अनुसार उनी सानैदेखि गाउनका सौखिन नै थिए रे ! सानैदेखि गीत गाउँथिस् भन्दै यी टुक्का सुनाउँदा मैले कसरी गाएँ होला भन्ने लाग्थ्यो रे कार्कीलाई ।
    सन् १९७६ र १९८० मा गरी दुई पटक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्वसमेत गरिसकेका छन् ।
    गोर्खा दक्षिणबाहु, शुभराज्याभिषेक पदक, रजत महोत्सव पदकसँगै छिन्नलता पुरस्कार पाएका कार्की पछिल्लो समय भने गीत लेखनमा मात्र सक्रिय थिए । म्युजिक नेपालको लगानीमा नारायण वलीसँगको सहकार्यमा चाँडै नै एल्बम सार्वजनिक गर्नेगरी केही दिन अघि गीत रेकर्डिङ भएको हो ।
    कार्कीले लेखेका कविता तथा गीतका संग्रह र लेख, निवन्ध तथा उपन्यास बजारमा धेरै पाइन्छन् । नेपाली भाषामा मात्र होइन, उनी हिन्दी र उर्दूमा पनि गीत, गजल र कविताहरु लेख्न माहिर थिए । व्यक्तिगत हिसाबले पनि उनी निकै हँसिला र सँधै मुस्कुराइरहने तथा ठट्टा गरिरहनुपर्ने मानिस थिए ।
    कार्कीका ‘आत्मा बेचेको छैन’ ‘हत्केलाले सधैं सूर्य छेकिँदैन’, ‘हो देश मेरो पनि’ ‘बसिबियाँलो’ ‘माया–प्रीतिको चोखो कथा’ गीत संग्रह पनि प्रकाशित गरिसकेका छन् । यसका अतिरिक्त उनका उपन्यास ‘हनिमून’, लघु उपन्यास ‘ढलेको गिलास’ पनि प्रकाशित छन् । उनले हिन्दी कविता संग्रह ‘कल्पना टुट चुकी है’ पनि प्रकाशन गरेका छन् ।

    -सुमन बैरागी

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु