
– सुमन पण्डित
कुनै म्यूजिक क्षेत्रमा ‘ब्याण्ड’ को ठूलै चर्चा हुन्थ्यो । एउटा जमाना थियो ब्याण्डहरुले सांगीतिक क्षेत्रमा ठूलो प्रस्तुति दिइरहेका हुन्थे, गीतहरु पनि उत्तिकै चल्ने गर्थे । तर म्यूजिक ब्याण्डमा लाग्नेहरुलाई ‘ट्यापे मुन्द्रे ग्याङ’ भनेर बाटोमा जम्मा भए गिटार बजाए हल्ला गरे भन्नेहरु पनि हुन्थे । तर देशदेखि विदेशमा म्यूजिक ब्याण्डले बजार लिइरहेको थियो । तत्कालिन समयमा परिवेश, कन्दरा, नेपथ्य, क्रसरोड, इन्फुलेन्स, वकिली, १९७४ एडी जस्ता ब्याण्डहरुको चर्चा थियो ।
त्यही ब्याण्डको भीडमा ‘मेसेन्जर ब्याण्ड’ पनि आफूलाई स्थापित गर्दै थियो । २०५२ सालमा मेन भोकालिस्ट राजेश हमालको नेतृत्वमा ‘मेसेन्जर ब्याण्ड’ खडा भएको थियो । जसमा तुलसी श्रेष्ठ, गीताराम कर्माचार्य, निर्मल रानामगर, समिर हमाल, सञ्जय शाही, दिल लामाको टिम थियो । त्यतिबेला कलेजहरुमा हुने प्रोग्राममा मेसन्जर ब्याण्ड पपुलर थियो । आर आर, पिपुल्स, पब्लिक क्याम्पसहरुमा यो ब्याण्डले धेरै कन्सर्टहरु गरेको थियो ।
कसरी सुरु भयो त मेसेन्जर ब्याण्ड भन्नेमा निकै रोचक छ । जतिबेला टोलका दाइहरुले गीतार बजाउँथे, उनीहरु म पनि सँगसँगै प्रोग्रामहरुमा बजाउने र गाउने गर्थे । टोलकै साथीहरुसँग सल्लाह भयो, एउटा ब्याण्ड खडा गरौं भन्ने भयो । ७ जनाको टिममा ब्याण्ड खडा गरियो । हामीहरुलाई टोलमा हल्ला गर्ने हिसाबले हेर्थे तर हामी भने एउटा सांगीतिक टोली बनेर देशमा कार्यक्रम गर्ने, एउटा ब्याण्डलाई स्थापित गर्ने सोचमा थियौं । त्यतिबेला ब्याण्ड भर्खर राइजमा आएका थिए तर हाम्रो ब्याण्ड भर्खर सुरुवातमा थियो । हामीलाई कार्यक्रमकै लागि बोलाउन त हामी पनि चर्चामा आउनु प¥यो । त्यो अवस्था थिएन त्यसैले हामी मुड अनुसार कन्सर्ट गथ्र्यौ । कहिले चोक चोकमा कन्सर्ट गरिन्थ्यो । त्यो बेला बिना सूचना ड्रमसेट बाटोमै राखेर पनि बजाइन्थ्यो । राति अबेरसम्म पनि चोकमा कन्सर्ट गर्दा घरका वरिपरिका बासिन्दा रिसाउने पनि गेर्थे । तर पछि त्यसलाई व्यवस्थित गर्दैै गयौं । हामी चिनिन पनि थाल्यौं, कार्यक्रम पनि पाउँदै गयौं त्यसपछि ३–४ महिनामा एकचोटी चोकमा रमाइलो भने गर्ने गथ्र्यौं ।
ब्याण्ड स्थापना भएपछि हामीले देशभित्र पनि धेरै ठाउँमा कन्सर्टहरु ग¥यौं । मुलुकभित्रका पोखरा, दोलालघाट, बाह्रबिसे काभ्रे विराटनगर कार्यक्रम लिएर हिडियो । विदेशमा भने दुबई, मलेसिया, हङकङ, जापानसम्म हामीले आफ्नो प्रस्तुति देखायौं । सबैले रुचाउन थाले, हामी पनि सफलताको बाटोमा हिंडेको जस्तो लाग्यो ।
तत्कालिन समयमा हामीले कार्यक्रमहरु गथ्र्यौं तर पारिश्रमिक भने १ हजारदेखि १५ सय मात्र हुने गथ्र्यौ ब्याण्डका लागि । चलेको ब्याण्डले केही रकम माथि पाउँथे तर अवस्था भने त्यति सुध्रिएको थिएन । अहिलेको माहौल सुध्रियो राम्रो पारिश्रमिक पाइन्छ त्यतिबेला गीत रेकर्ड १ रुपैयाँमा हुन्थ्यो । मेसेन्जर ब्याण्ड पनि सैलुङ्गे लेकैमा, मेसेन्जर भोल–२, मेसेन्जर ब्याण्ड–३ ‘माया देउ’, मेसेन्जर ब्याण्ड–४ ‘तिम्रो यादले’ जस्ता एल्बम बजारमा ल्यायो । मेरो स्वरमा ब्याण्डको टोली अगाडि बढ्दै थियो । करिब ९ वर्षजति ब्याण्डको काम अघि बढिरह्यो । ब्याण्डमा मात्र लागेर नहुने रहेछ भन्दै साथीहरु कोही अन्य पेशा अँगाल्न थालें भने कोही विदेशतिर जान थाले । म भने ब्याण्डमा सक्रिय नै रहिरहेको थिएँ । मेरो समकक्षी सञ्जीव प्रधान, मोहन भुसालहरुको गीत चर्चामा थिए ।

त्यतिखेरको माहौल हेर्दा निकै रमाइलो लाग्थ्यो । एउटा ब्याण्डमा रहेर सांगीतिक प्रस्तुति दिँदै हिंड्दा सबैले राम्रो प्रशंसा गर्ने गर्थे । रमाइलो दिन थियो, अहिले फेरि त्यो दिन आए हुन्थ्यो लाग्छ । त्यो रमाइलो क्षण, जवानी अवस्था, सबैको हाइहाइ हुँदा साथीभाइसँग रमाइएको क्षणले सताउँछ । अहिले ब्याण्डका सबै साथीहरु अहिले जुट्न गाह्रो छ । कोही विदेश गए, कोही विजनेशमा लागे आ–आफ्नो करिअरतिर लागे । फेरि त्यो दिनजस्तै जुटेर काम गर्ने इच्छा छ मलाई पनि । अहिले ब्याण्डसहित बस्ने माहौल मिलेको छैन तर एक्लै गाउने काम भने गरिरहेको छु ।
गायक राजेश हमालको स्वरमा रहेका गीतहरु ‘कट्दैन चिसो रात’ नभन मेरो माया, के भयो, जाउ न जाउ, माया देउ, म बाँचुन्जेल, आँखामा, तिमीबिना लगायतका गीतहरु बजारमा छन् । यतिबेला गायक राजेश हमाल पनि अमेरिकामा बस्दै आएका छन् । उनी अमेरिकामा रहेर पनि सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । विभिन्न सांगीतिक इभेन्टहरु आयोजना गर्दै आएका छन् । केही समयअघि मात्र उनले ८८४८ हिमालयन फिल्म एण्ड म्यूजिक अवार्ड अमेरिकामा नै सम्पन्न गरेका छन् । त्यस्तै चर्चित गायक तथा संगीतकार आशिष अबिरलको सांगीतिक टुर, यूएसए टुर, अ नाइट अफ नेपाली स्टार लगायत आयोजना गरिसकेका छन् । अब छिट्टै नयाँ सांगीतिक कार्यक्रमको आयोजनाको तयारीमा रहेको पनि उनले बताएका छन् । रिभेल इभेन्टस् आइएनसीका संस्थापक समेत रहेका उनले अमेरिकामा नै नेपालीहरुको सांगीतिक कार्यक्रमहरुलाई अगाडि बढाउँदै लैजानेमा छन् ।