स्वरको माधुर्यताले चिनिएकी चिजा तामाङ

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७६, बुधबार

काठमाडौं । पछिल्लो समय नेपाली संगीतप्रेमीको ढुकढुकीमा बस्न सफल गायिका हुन् चिजा तामाङ । गोरखा जिल्ला जौबारी गाविस वडा नं. ५ धारापानीमा जन्मिएर लोकदोहोरी क्षेत्रमा आफ्नो वर्चश्व बनाउन सफल लोकदोहोरी गायिका चिजा तामाङ अहिल विशेष चर्चामा छिन् । माध्यमिक स्तरसम्मको शिक्षा स्थानीय श्री जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी सम्म हासिल गरेकी गायिका चिजा स्कुल पढ्दा देखिनै सङ्गीतलाई अत्यन्तै माया गर्ने, नाच्ने, गाउने, स्कुलका विभिन्न कार्यक्रमहरूमा गीत गाएर नै विभिन्न पुरस्कारहरू जित्न सफल भइसकेका थिइन ।
बहुमुखी प्रतिभाकी धनी तामाङ स्कुल पढ्दा पनि जिल्लाका विविध सांस्कृतिक कार्यक्रमहरूमा भाग लिएर पुरस्कार प्राप्त गरिसकेकी थिइन । स्कुले पढाईको समाप्तिसँगै विस २०६५ मा उच्चशिक्षा हासिल गर्न र साङ्गीतिक क्षेत्रमा केही गर्ने सपना बोकेर राजधानी काठमाडौंमा प्रवेश गरेका गायिका चिजा राजधानीमा प्रवेशसँगै सङ्गीत तालिममा लगनशीलरुपमा लागिन ।

साङ्गीतिक विशेष तालिम सक्नासाथ सङ्गीत क्षेत्रमा आफूलाई समर्पित गर्ने उद्देश्यले लोकदोहोरी साँझमा व्यावसायिक रूपमा २०६६ देखि गीत गाउन सुरु गरिन । लोकदोहोरी साँझमा गीत गाउँदै लोकदोहोरी सिक्दै अगाडि बढेका गायिका चिजा लोकदोहोरीमै आफ्नो स्थायित्व राख्न २०७० मा पहिलो ‘पागल’ भन्ने एल्बम निकालिन । एल्बमले राम्रो बजार लियो । त्यसपछि ‘जाली रुमालैमा’ भन्ने तिजको गीत, माइती गाउँ, गोर्खालीको छोरी, लाहुरे मलायाको, मेरै बुडो राम्रो, किचकिचे घरबेटी, किरेमिरे लाँकुरी छाँया, गुराँस फुल्ने पाखैमा सालैजो, कान्छु कौडा गीत, गोर्खाली ठाडो भाका, तामाङ सेलो लगायतका २ दर्जन भन्दा बढी एल्बम बजारमा ल्याईसकेकीे छिन ।

चिजाले निरन्तर एल्बमको वर्षा गर्न थालेपछि उनी अत्यन्तै चर्चामा रहिरइन । अहिले उनलाई देश–विदेशबाट सांगितीक कार्यक्रमका लागि विशेष माग आउँछ । चिजाले दशैभरका विभिन्न महोत्सवहरूमा आफ्नो साङ्गीतिक सहभागिता जनाइसकेकी छन् । महोत्सवमा जानलाई अहिले चिजालाई भ्याईनभ्याई छ । चिजालाई नेपालका विभिन्न जिल्लामा कार्यक्रमहरूमा भ्याईनभ्याई भइरहेता पनि उनको नेपाल बाहिरबाट पनि माग बढिरहेको छ । सोही अनुसार, नेपाल बाहिर जापान, हङकङ, कोरिया, दुबई, लण्डन लगायतका देशहरूमा पटक–पटक गएर कार्यक्रम गरिसकेकी छन् ।
Chija Tamang

सामाजिक सञ्जाल र प्रविधिको मूल्याकंन अनुसार विदेशमा चिजाको प्रस्तुतिलाई अत्यन्तै मन पराइएको छ । अहिले नेपाल बाहिरका विभिन्न देशबाट चिजाको माग दिनप्रतिदिन बढ्दो छ । लोकदोहोरी क्षेत्रमै लागेर नाम र दाम कमाउन सफल चिजाले यही क्षेत्रमै निरन्तर लागिरहने प्रतिज्ञासमेत गरिसकेकी छिन । चिजाले आफूले सबै क्षेत्र छाड्न सके पनि लोक सङ्गीत क्षेत्र छाड्न कसैगरी पनि नसक्ने बताउँछिन । उनी भविष्यमा अझै यस क्षेत्रमा थप सृजनशील एवं लगनशीलरुपमा लागिपर्ने बताउँदै उनी भन्छन्– सङ्गीत भनेको मेरो जीवन हो यसबाट बाहिर जान म कसै गरी सक्दिन । सङ्गीतको क्षेत्रमा अझै धेरै गर्न बाँकी छ । मेरो जीवन भनेकै सङ्गीतको लागि हो । सङ्गीत बिना म बाच्न त के कल्पना समेत गर्न सक्दिन भन्छिन ।

मेरो यत्रो भव्य सफलताको पछाडि आफ्नो मेहनत मात्र नभई सारा सङ्गीतप्रेमी श्रोताहरूको देन पनि हो भन्ने चिजाले आफूलाई माया गरी आफ्नो गीत सुनेर आफूलाई साङ्गीतिक क्षेत्रमा सफल बनाऊन योगदान गरेकोमा विश्वमा रहेका नेपाली सङ्गीतप्रेमी श्रोतालाई विशेष धन्यवाद दिँदै भविष्यमा पनि माया गर्ने आशा र विश्वास रहेको बताइन । आफ्नो भावी दिनको योजना लोकसंगीत क्षेत्रमै रहेर अझै नयाँ–नयाँ एल्बम निकाल्दै दर्शकहरूको मन जित्ने नै रहेको बताउने चिजा अहिले आफूलाई अझ कसरी सङ्गीतमा तिखार्न सकिन्छ भनेर निरन्तर लागिपरेकी छन् । उनी भन्छिन–‘सङ्गीत नै हरेक मानिसहरूको वास्तविक साथी हो । त्यसर्थ, सङ्गीतलाई प्रेम गरौँ, सङ्गीतमा रमाऔँ ।’
म्यूजिक खबर पाक्षिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु