गीतकार संघमा पुनः चुडामणि देवकोटाको नेतृत्व, पुराना र नयाँको समिश्रण

म्यूजिक खबर
प्रकाशित: २१ पुष २०७५, शनिबार

काठमाडौं । गीतकार संघ नेपालमा पुनः चुडामणि देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आठौं साधारणसभा र चौथो अधिवेशनबाट देवकोटाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति आएको हो । नयाँ कार्यसमितिमा केही पुराना कार्यसमितिका सदस्यहरु नै रहे भने केही फेरबदल भएर नयाँ कार्यसमिति चयन भएको हो । अघिल्लो कार्यकालमा महासचिव रहेका शुभ मुकारुङ उपाध्यक्ष पदमा निर्वाचित भए भने सचिव रहेका वसन्त वित्यासी थापा महासचिवमा निर्वाचित भए । त्यस्तै कोषाध्यक्षको कार्यभार सम्हाल्दै आएकी सुशिला पौडेल सचिव पदमा निर्वाचित भइन् भने सदस्यको कार्यभार सम्हाल्दै आएका अमृतलाल देवकोटा सुनार कोषाध्यक्षमा निर्वाचित भए ।

त्यसैगरी सदस्यहरुमा अघिल्लो कार्यसमितिबाट चन्द्रा चामलिङ, बालक गुरुङ निर्वाचित भए भने रमेश कोइराला, वसन्त थाम्सुहाङ, सुवास संगम राई र जेबी घले नयाँ अनुहारसहित कार्यसमितिमा प्रवेश छन् ।

१२ औं साधारणसभाको सम्पूर्ण फोटो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

संघले पछिल्लो समय आर्थिक उन्नतितर्फ अगाडि बढेको बताउँदै आगामी दिनमा पनि गीतकारहरुका नैतिक, बौद्धिक र आर्थिक अधिकारका लागि निरन्तरता दिने अध्यक्ष देवकोटाले बताए ।

कार्यक्रममा गीतकार यादव खरेलले मुलुकमा कुनै पनि विधामा लागेका वर्गहरुमा पीडित कोहि छ भने गीतकार छ भन्दै यो पीडाको समयलाई खुशीमा बदल्ने दिन आउनु पर्ने बताए । त्यस्तै गीतकार राजेन्द्र थापाले संघलाई चुस्त, दुरुस्त र पारदर्शितासहित समावेशिता पनि अपनाउँदै गतिशील बनाउनु पर्ने बताए । त्यसैगरी गीतकार एवं पूर्व अर्थमन्त्री एसपी कोइरालाले संघले गरेको कार्यप्रति खुशी व्यक्त गर्दै चुडामणि देवकोटाको नेतृत्वले संघले आर्थिक उन्नतितर्फ अगाडि बढेको बताए । उनले आगामी दिनमा रोयल्टीका विषयहरुलाई पनि संघले नेतृत्व गर्दै अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा संघसंस्थाहरुको तर्फबाट संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बजारको हल्लाको पछि नलाग्न अनुरोध गर्दै एकजुट भएर अधिकारका लागि लाग्नका लागि स्रष्टाहरुलाई अनुरोध गरे । बजारमा हल्ला जस्तो छ त्यो भन्दा उल्टो प्रगति पथमा रोयल्टी संकलनको काम अघि बढेको बताउँदै गीतकार संघको साथ र सहयोग सदैव रहने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल प्रज्ञा भवनको सभाहलमा वरिष्ठ गीतकार किरण खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

१२ औं साधारणसभाको सम्पूर्ण फोटो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु