कोरोना उपचार कोषमा कलाकारको सहयोग, अक्षकुमारले दिए २५ करोड

म्यूजिक खबर
प्रकाशित: १८ चैत्र २०७६, मंगलवार
Bolleywood

एजेन्सी । विश्वमा महामारीका रूपमा तीव्र रूपले फैलिइरहेको कोरोना भाइरसविरुद्ध स्थापना गरिएको कोरोना उपचार कोषमा कलाकारहरुले सहयोग गर्ने क्रम तीब्र रुपमा बढेको छ । विश्वमा जस्तै भारतमा पनि अहिले दिनहुँजसो कोरोना भाइरसबाट संक्रमित हुने क्रम बढ्दो छ। भारत सरकारले यसविरुद्ध लड्न देशभर १५ अप्रिलसम्म लकडाउन घोषणा गरेको छ । सरकारले नागरिकलाई घर बाहिर ननिस्कन अनुरोध गरेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरेका छन्।

कोरोना भाइरसविरुद्ध लड्न भारतमा प्रधानमन्त्री केन्द्रीय राहत कोष स्थापना गरिएको छ। त्यहाँ स्वतन्त्र रूपमा जोसुकैले राहत रकम जम्मा गर्न सक्छन्।

कोभिड १९ विरुद्ध लड्न यतिखेर भारतीय फिल्मकर्मीले पनि सहयोग घोषणा गर्न थालेका छन्। बलिउड अभिनेता अक्षयकुमारले ठुलो रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्। उनले मानिसको ज्यानभन्दा ठुलो अरू केही नरहेको भन्दै उक्त राहत कोषमा २५ करोड भारु सहयोग गरेका छन।
त्यस्तै बाहुबलीका स्टार प्रभासले प्रधानमन्त्री राहत कोषमा तीन करोड भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् भने आन्ध्र प्रदेश र तेलंगना राज्यको मुख्यमन्त्री राहत कोषमा ५०÷५० लाख रुपैयाँ दिने घोषणा पनि गरेका छन्।

अभिनेता महेश बाबु र पवन कल्याणले पनि एक–एक करोड रुपैयाँ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। त्यसो त कल्याणले आन्ध्रप्रेदश र तेलंगना राज्यको कोषमा पनि सहयोग गर्ने भनेका छन्। उनबाट प्रभावित हुँदै राम चरणले पनि आन्ध्र प्रदेश र तेलंगना राज्यका लागि ७० लाख रूपैयाँ दिने घोषणा गरे।

भारतीय चर्चित रियालिटी सोका प्रस्तोता कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । मेगास्टार चिरञ्जीवीले दैनिक ज्यालादारी मजदुर तथा तल्लो तेलगु फिल्म उद्योगमा कम आय भएका समूहका लागि भनेर एक करोड रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

नीतिनले तेलगु मुख्यमन्त्री राहत कोषमा १० लाख रुपैयाँ प्रदान गरेका छन्। साउथ सुपर स्टार रजनीकान्तले दैनिक ज्यालादारी मजदुरका लागि भनेर ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै बलिउड अभिनेता ऋतिक रोशनले एन ९५ र एफएफपी तीन मास्क खरिद गरेका छन्। उनले हाम्रो सहर र समाजका आधारभूत हेरचाहकर्ता र बीएमसी कामदारका लागि आफूले मास्क खरिद गरेको बताएका छन्।

यस्तै फिल्मकर्मीहरू एकता कपुर, कियारा आडवाणी, भूमि पेडनेकर, सिद्धार्थ मल्होत्रा, करण जौहर, नितेश तिवारी, आनन्द एल राई, आयुष्मान खुराना, तापसी पन्नु, सोनम कपुर, दिया मिर्जालगायतले दैनिक ज्यालामा जीविकोपार्जन गर्नेहरूलाई सहयोग गर्ने बताइसकेका छन्। उनीहरुले सम्पूर्ण जनताहरुलाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु