सांस्कृतिक संस्थानलाई थप व्यावसायिक बनाउँछुः महाप्रबन्धक राई

म्यूजिक खबर
प्रकाशित: २२ पुष २०७६, मंगलवार ०९:४८
Ashok Pyasi Rai

काठमाडौं । सांस्कृतिक संस्थानका नवनियुक्त महाप्रबन्धक अशोक प्यासी राईले संस्थानलाई थप व्यावसायिक र गतिशील बनाउने सङ्कल्प गरेका छन् ।नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको सो संस्थानको जमलस्थित कार्यालयमा कार्यभार सम्हाल्दै उनहरुले नेपाली कला र संस्कृति झल्कने केन्द्रका रुपमा यसलाई विकसित गर्ने बताएका हुन् । त्यसैगरी नवनियुक्त अध्यक्ष प्रेमनाथ अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनै विदेशी आइपुग्नेबित्तिकै नेपाली संस्कृति कहाँ छ ? भनेर खोजेमा सांस्कृतिक संस्थानमा आएर हेर्नसक्ने स्थिति निर्माण गर्ने बताए ।

उनले संस्थानको ठूलो हलमा साउण्ड सिस्टम व्यवस्थित गर्ने, सानो हललाई थप व्यवस्थित बनाई व्यावसायिक प्रयोगमा ल्याउने, नाटकका लागि रिहर्सल गर्ने कोठा निर्माण गर्ने, पार्किङस्थललाई व्यवस्थित गर्ने र परिसरमा पानी जम्ने समस्याको समाधान गर्नेलगायतका काममा तत्काल ध्यान दिने जनाए ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १४ गतेको बैठकले राई र अधिकारीलाई चार वर्षका लागि नियुक्त गरेको थियो । अध्यक्षमा अधिकारी र महाप्रबन्धकमा राईलाई संस्थानका निमित्त महाप्रबन्धक प्रभाकर शर्मा र कर्मचारीले स्वागत गरेका थिए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका कार्यालय प्रमुख रहनुभएका तेह्रथुम निवासी अधिकारी यसअघि संस्थानको सञ्चालक समिति सदस्य थिए भने ताप्लेजुङका राई अन्नपूर्ण पोस्टमा कार्यरत पत्रकार हुन् ।

यसअघिका अध्यक्ष उद्योग राईको कार्यकाल गत वैशाख २२ र महाप्रबन्धक राजेश थापाको कार्यकाल गत साउन १४ मा सकिएको थियो । अध्यक्ष रिक्तपछि सञ्चालक समितिको बैठक बस्न नसकेकामा पुष २१ गते नयाँ अध्यक्षको पद बहालीलगत्तै पहिलो बैठक सम्पन्न भई विभिन्न निर्णय गरेको छ । सञ्चालक समितिमा एक सदस्य अझै रिक्त छ ।

संस्थानमा नेपाली नाटक, गीत, सङ्गीत र नृत्यको संस्थागत विकास गर्ने उद्देश्यले विसं २०१६ मा राष्ट्रिय नाचघरको निर्माण भएको थियो भने यसको औपचारिक स्थापना २०१८ साल कात्तिक २८ गते भएको थियो ।

नाचघरलाई २०२९ सालसम्म कहिले संस्कृति विभाग, कहिले पुरातत्व विभाग, कहिले सूचना विभाग र कहिले प्रसार विभागअन्तर्गत रही २०२९ साल असार ५ गते सञ्चार संस्थान ऐन २०२८ अन्तर्गत सांस्कृतिक संस्थान स्थापना भई यसमा विभिन्न सांस्कृतिक कार्यक्रम सञ्चालन एवं प्रदर्शन गर्न थालेको हो । संस्थानले धार्मिक, सामाजिक तथा हास्यनाटकका अतिरिक्त गीति नाटक, नृत्य, नाटक, प्रहसन, लोक गीत, आधुनिक गीत, कविता वाचन एवं परम्परागत शास्त्रीय–नृत्य तथा लोक नृत्यले भरिपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु