• १५ औं प्रिज्मा डि सिने अवार्ड सम्पन्न, डेबिड र सहिमा उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: ६ जेष्ठ २०८१, आईतवार

    चलचित्र ‘झिंगेदाउ’ उत्कृष्ट चलचित्र, प्रदीप र आँचल उत्कृष्ट नायक नायिका

    काठमाडौं । प्रिज्मा १५ औं डि सिने अवार्डमा चलचित्र ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीतबाट गायक डेविड शंकर र गायिका सहिमा श्रेष्ठ उत्कृष्ट पाश्र्व गायक पाश्र्व गायिका ठहरिए । त्यसैगरी चलचित्र ‘हिजोआजका कुरा’को ‘माया जदौ’ गीतबाट दीपक शर्मा उत्कृष्ट संगीतकार बन्न सफल भए भने चलचित्र ‘झिंगेदाउ’को ‘आगोबिना बिंडी जल्दैन’ गीतबाट मुक्त उदास उत्कृष्ट गीतकार बन्न सफल भए ।
    त्यस्तै प्रिज्मा १५ औं डि सिने अवार्डमा अभिनेता प्रदीप खड्का र अभिनेत्री आँचल शर्मा उत्कृष्ट नायक नायिका हुन सफल भएका छन् । चलचित्र प्रकाशाट प्रदीप खड्का उत्कृष्ट अभिनेता भएका हुन् भने चलचित्र झिंगेदाउबाट आँचल शर्मा उत्कृष्ट अभिनेत्री बन्न सफल भएकी हुन् । डिसिने अवार्डमा उत्कृष्ट चलचित्रको अवार्ड ‘झिंगेदाउ’ले पाउन सफल भयो ।

    छायाँछवि क्रियशनको आयोजनामा राजधानीको बीजी बैंकटमा भएको डि सिने अवार्डको १५ औं संस्करणमा अभिनेता जितु नेपाल र गायिका माण्डवी त्रिपाठीलाई छायाँछवि रजत सम्मान प्रदान गरिएको थियो ।
    सर्वाेत्कृष्ट निर्देशकमा भने प्रकाश चलचित्रबाट दिनेश राउत अव्वल ठहरिए । चलचित्र ‘लाखे’बाट सम्राट बस्नेतले जुरी अवार्ड पाउन सफल भए । पपुलर फिल्मको अवार्ड ‘छक्का पञ्जा ४’ ले पाउन सफल भयो भने सर्वाेत्कृष्ट नेशनल फिल्म रिमेश अधिकारीको ‘नालापानी’ले चुम्न सफल भयो । नवनिर्देशकको रुपमा चलचित्र ‘डेसान’बाट कमल एक्चै मगरले अवार्ड पाउन सफल भए । ‘डेसान’बाटै नम्रता सापकोटाले सहअभिनेत्रीको अवार्ड चुम्न सफल भइन् । सहअभिनेता भने चलचित्र ‘लाखे’बाट रोहित रुम्बाले प्राप्त गरे भने ‘लाखे’बाटै प्रशान्त ताम्राकार सर्वाेत्कृष्ट खलपात्र भए ।

    त्यस्तै प्रिज्मा १५ औं डि सिने अवार्डमा ‘झिंगेदाउ’बाट हिउँवाला गौतम र प्रकाशबाट प्रकाश घिमिरे क्रमशः चरित्र अभिनेत्री र चरित्र अभिनेतामा अव्वल सावित भए । चलचित्र ‘प्रकाश’बाट विकास सुवेदी सर्वाेत्कृष्ट कथाकार ठहरिए । सर्वाेत्कृष्ट पटकथा एवं संवादका लागि ‘झिंगेदाउ’ चलचित्रबाट प्रदिपभारद्वाज सर्वाेत्कृष्ट ठहरिए । नरेन्द्र मैनाली ‘छक्का पञ्जा ४’ बाट सर्वाेत्कृष्ट छायाँकार भए । सर्वाेत्कृष्ट सम्पादकमा भने चलचित्र प्रकाशबाट जिवन थापा अव्वल ठहरिए ।
    ‘छक्का पञ्जा ४’ को ‘दर्शन सलाम’ गीतकै लागि कविराज गहतराज सर्वाेत्कृष्ट नृत्य निर्देशक हुन सफल भए । सम्राट बस्नेतले द्वन्द्व निर्देशकका लागि चलचित्र लाखेबाट ट्रफी उचाले । झिंगेदाउको पाश्र्व संगीतका लागि सास्वत श्रेष्ठ सर्वाेत्कृष्ट ठहरिए । प्रिज्मा १५ औं डि सिने अवार्डमा विभिन्न २४ विधा गरी अवार्ड प्रदान गरिएको थियो ।

    कार्यक्रमको अवसरमा विभिन्न सम्मानहरु पनि गरिएको थियो । रंगपत्रकारितामा दुई दशकभन्दा लामो समयदेखि कार्य गरिरहेका रंग पत्रकार मणिराज गौतमलाई १५,५५५।– राशीको छायाँछवि रंग पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । सोहीअवसरमा छायाँछवि विशेष सम्मानद्वारा अभिनेता सविन श्रेष्ठ सम्मानित भएका थिए । कार्यक्रममा छायाँछवि कलाकार सम्मानबाट वरिष्ठ कलाकार शिवहरी नेपाल बैरागी, छायाँछवि संगीत सम्मानबाट रुद्रशेखर शर्मा, छायाँछवि प्रदर्शक सम्मानबाट दिप्रश शाक्य, छायाँछवि कलाकारिता योगदान सम्मानबाट रोशन श्रेष्ठ, छायाँछवि कला सम्मानबाट विराज विष्ट, छायाँछवि संगीत सम्मानबाट अर्जुन खरेल र छायाँछवि फोटोग्राफी सम्मानबाट च्याङ्बालामा सम्मानित रहेकाथिए ।
    १५ औं प्रिज्मा डि सिने अवार्डमा सांस्कृतिक प्रस्तुतीहरु पनि समेटिएको थियो । वरिष्ठ गायिका देवका वन्दना, गायिका माण्डवी त्रिपाठी, गायिका सहिमा श्रेष्ठले कार्यक्रममागायन प्रस्तुति दिएका थिए भने अभिनेत्री पवित्रा आचार्य एवं मोडल प्रमिता राजघतानीले नृत्य मार्फत् मनोरञ्जन गराएका थिए । हाँस्यकलाकार जीतु नेपालले आफ्नो हाँस्य प्रस्तुती मार्फत् मनोरञ्जन दिलाएका थिए ।

    कार्यक्रममा प्रथम अभिनेत्री भुवन चन्द, हाँस्य साम्राज्ञी बसुन्धरा भुषाल, मेलोडि किङ संगीतरत्न शम्भुजित बासकोटा जस्ता मुर्धन्य व्यक्तिहरुको उपस्थित थियो । सोही अवसरमा वरिष्ठ निर्माता छविराज ओझा, आवाजको दुनियाँको साथी दिनेश डिसी, वरिष्ठ साहित्यकार दामोदर पुडासैनी (किशोर), चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र पत्रकार संघका अध्यक्ष समिर बलामी, निर्देशकमा धवराज खरेल, रंगपत्रकार एवं गीतकार सुमन वैरागीसहित विभिन्न विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको सेट डिजाइन रमेश श्रेष्ठ, साउण्ड एरेन्जर छिरिङ भुटिया, व्यवस्थापन दिपकथापा, स्टेज संयोजन कमला जोशी तथा सोविता सुर्खेतीको रहेको थियो ।
    प्रिज्मा डि सिने अवार्डको निर्णायकमा वरिष्ठ लेखक, निर्देशक मोहन निरौला, वरिष्ठ रंग पत्रकार विजयरत्न तुलाधार, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं अभिनेत्री तथा लेखक शोभिता सिंखडा रहेका थिए । सोही अवसरमा अवार्डका अध्यक्षशान्तिप्रियले अवार्डको औचित्यमाथि स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन निराजन भण्डारीले गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु